कांग्रेस प्रदेश २ को अधिवेशन बिहीबार शुरू हुने

कांग्रेस प्रदेश २ को अधिवेशन बिहीबार शुरू हुने

जनकपुरधाम। नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनको भोलि बिहीबार उद्घाटन हुँदै छ। जिल्लामा वडा, पालिका र क्षेत्रीय अधिवेशनमा केही ठाउँमा अझै विवाद भए पनि नेपाली कांग्रेस प्रदेश २ ले अधिवेशन बिहीबारलाई तय गरेको छ।  प्रदेश २ को सभापतिमा अहिलेसम्मको अवस्थामा रामसरोज यादव, महेन्द्र राय यादव र कृष्ण यादव गरी अहिलेसम्म तीन जनाले उम्मेदवारीको घोषणा गरेका छन्। तीनजना उम्मेदवार मध्ये रामसरोज यादव विमलेन्द्र निधि निकट, कृष्ण यादव रामचन्द्र पौडेल निकट मानिन्छन् भने महेन्द्र राय यादव भने शेरबहादुर देउवा निकट हुन्।

प्रदेश २ मा विमलेन्द्र निधि प्यानल कै बढी वर्चस्व भएको हुँदा निधि प्यानलले नै जीत हासिल गर्न सक्ने कतिपय नेताहरूको आंकलन रहे पनि सम्बन्धित जिल्ला र स्थानीय तहबाट प्रत्येक उम्मेदवारलाई सहानुभूति भोट जाने हुँदा प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ।

यता आकांक्षीको संख्या बढी र गुट, उपगुटका कारण पार्टीको वडास्तरमा समेत कतिपय जिल्लामा अधिवेशन हुन सकेको छैन। जिल्ला नेतृत्वले भने अत्यन्त विवाद भएका ठाउँमा अहिले त्यतिकै छोड्ने र केन्द्रीय महाअधिवेशनपछि मात्र टुङ्ग्याउने निर्णयमा पुगेको अवस्था रहेको छ।

महोत्तरीको मनरासिस्वा नगरपालिका–८ मा चरम विवादका कारण अझै अधिवेशन हुन सकेको छैन। आकांक्षीमा व्यापक मतभेदका कारण अधिवेशनको बन्द सत्रमा हात हालाहाल नै भएको नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले बताए।

यही वडाको विवादका कारण महोत्तरीको क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन पनि अन्योलमा परेको छ। सकेसम्म विवाद मिलाउने नत्र वडा अधिवेशनलाई थाती राखेर अगाडि बढ्ने नेपाली कांग्रेस महोत्तरीले तयारी गरेको छ।

अब वडाका साथीहरूका कारण क्षेत्रीय र केन्द्रीय प्रतिनिधि चयन हुनबाट वञ्चित बनेका छन् त्यसको जिम्मेवार वडाले लिनुपर्छ,’ नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्र राय यादवले भने।

क्षेत्र नम्बर ३ मा विवादका कारण वडा र क्षेत्रीय पदाधिकारी चयन गर्न सकस बनिरहेको बेला महाअधिवेशन प्रदेश प्रतिनिधि भने चयन भैसकेका छन्।

त्यसैगरी महोत्तरीको बल्वा नगरपालिकामा पनि विवादका कारण अझै पालिका अधिवेशन सम्पन्न हुन सकेको छैन। बल्वा र मनरासिस्वा नगरपालिका गरी २ वटा पालिका र एउटा वडामा अधिवेशन हुन नसकेको हो।

यता महोत्तरीको क्षेत्र नम्बर २ र ४ मा सर्वसम्मत अधिवेशन सम्पन्न भएको छ भने क्षेत्र नम्बर १ मा निर्वाचन नै भएको थियो। क्षेत्र नम्बर ३ मा अधिवेशन भएको नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले जानकारी दिए। यदि क्षेत्रीय अधिवेशन सम्पन्न भए मनरासिस्वा–८ को वडा कमिटी भने क्षेत्रीय अधिवेशनमा भाग लिन पाउने छैनन्।

त्यसैगरी सर्लाहीमा प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन शुक्रवार एकै दिन गर्ने निर्णय भएको छ।

बुधबार दिनभर लालबन्दीस्थित होटल यूनाईटेड ईन् डुमडुमेमा बसेको कांग्रेस सर्लाहीको संस्थापन र संस्थापन इतर पक्षको वार्ताले सो निर्णय गरेको हो। बुधबार बिहानैदेखि साँझसम्म भएको वार्ताबाट क्षेत्र नं. १ को ईश्वरपुर नगरपालिकास्थित बयलवास, क्षेत्र नं. २ को मलंगवास्थित कृष्णामति मा.वि., क्षेत्र नं. ३ को बरहथवा स्थित पार्टी कार्यालय र क्षेत्र नं. ४ को गोडैता नगरपालिका स्थित सरस्वती माध्यमिक विद्यालय रामवनमा प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन गर्ने निर्णय गरेको निर्वाचन अधिकृत भरत राउतले जानकारी दिए।

यस्तै, विवाद भएर स्थगित भएका र उजुरी परेका वडाहरूमा अधिवेशन गराउन निर्वाचन अधिकृत राउत कै संयोजकत्वमा संस्थापन पक्ष अर्थात् जिल्ला सभापति नागेन्द्र कुमार रायको तर्फबाट सुरेन्द्र कुमार न्यौपाने र संस्थापन इतर अर्थात् पूर्व जिल्ला सभापति लक्ष्मण रायको तर्फबाट कौशल किशोर राय सदस्य रहने गरी ३ सदस्यीय समन्वय समिति गठन गरिएको छ।

सर्लाहीमा कांग्रेसको अधिवेशन गराउने क्रममा असाध्य विवाद देखापरिरहेको छ। वडा अधिवेशनकै क्रममा बलरा नगरपालिकामा २ पटक गोली नै चलिसकेको छ। त्यहाँका ४ वटा वडासहित मलंगवा, कविलासीसहित केही पालिकाका एक÷दुई वटा वडाहरूमा अझै अधिवेशन नै हुन सकेको छैन।

जिल्लामा अब गाउँपालिका तथा नगरपालिका र जिल्ला अधिवेशन भने समय अभावले गर्दा नहुने भएको छ। यस्तै, प्रदेश र क्षेत्रीय अधिवेशन शुक्रबार हुँदा पनि शुक्रबारकै दिन प्रदेश २ को अधिवेशन तय भएकाले प्रदेशको पदाधिकारीहरूका लागि सर्लाहीका नेताहरूले प्रतिस्पर्धा गर्न पाउने सम्भावना कम छ।

क्षेत्रीय निर्वाचनबाट चुनिने महाधिवेशन प्रतिनिधीहरुले भने पर्सी यदि क्षेत्रीय अधिवेशन सम्पन्न भएको खण्डमा राष्ट्रिय महाधिवेशनमा भाग लिन पाउने छन्।

बुधबारको वार्तामा जिल्ला सभापति नागेन्द्र कुमार रायको तर्फबाट नेताहरु जंगिलाल राय, शम्भुलाल श्रेष्ठ, उपेन्द्र कुशवाहा, सुरेन्द्र सिंह, सुरेन्द्र न्यौपाने र पुण्यप्रसाद घिमिरे सहभागी थिए।

यसैगरी, पूर्व जिल्ला सभापति लक्ष्मण रायको तर्फबाट नेताहरु नवीन अधिकारी, कौशलकिशोर राय, बलिराम झा, विनोद खनाल, विनोद सिंह र रामवली राय वार्तामा सहभागी थिए। नेताहरुबीच मंगलबार पनि लालबन्दी मै राती अबेरसम्म नै वार्ता चले पनि सहमति जुट्न सकेको थिएन।

काँग्रेस नेताहरूको वार्तालाई मध्यनजर गर्दै वार्ता भएको होटल यूनाईटेड ईन्मा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमान्डमा बुधबार दिनभर नै ठूलो सङ्ख्यामा प्रहरी टोली तैनाथ गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved