अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्नू : स्वास्थ्य मन्त्रालय

अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्नू : स्वास्थ्य मन्त्रालय

काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ। कोभिड-१९ को ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा संक्रमण फैलिन नदिन अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरिएको बताए। उनका अनुसार हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परेको छैन। उनले ओमिक्रोन भेरियन्टको आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको बताए।

“नयाँ देखिएको यो भेरियन्टलाई समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न मन्त्रालय तथा सबै निकाय तीव्र रूपमा एक भएर काम गरिरहेको अवस्था छ”, विज्ञप्तिमा भनिएको छ।

उक्त भेरियन्टले बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएकाले ओमिक्रोन संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न/गराउनसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

केही दिनअघि मात्र अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट साउथ अफ्रिका तथा एसियाका केही मुलुकमा अहिले तीव्र विस्तार भइरहेको अवस्था छ। विश्व स्वास्थ्य संगठनले यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरेको छ।

मन्त्रालयले कोभिड-१९ विरुद्धको खोपले कोभिड-१९ बाट बचाउन मद्दत गर्ने भएकाले आफूलाई पायक पर्ने ठाउँमा गई खोप लगाउन पनि अनुरोध गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved