म पनि राप्रपा जस्तै राष्ट्रवादी हुँ : प्रचण्ड

माओवादी र राप्रपाको मत फरक भए पनि संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा सघाएर राप्रपाले देशभक्ति देखाएको उनको भनाइ थियो।

नेपालभ्युज

म पनि राप्रपा जस्तै राष्ट्रवादी हुँ : प्रचण्ड
फाइल तस्वीर

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्तै राष्ट्रवादी भएको बताएका छन्।

आज (१५ मंसीर) देखि काठमाडौंमा शुरु राप्रपाको एकता महाधिवेशनमा बोल्दै अध्यक्ष दाहालले आफ्नो राष्ट्रवाद र राप्रपाको राष्ट्रवाद उस्तै भएको टिप्पणी गरेका हुन्। माओवादी र राप्रपाको मत फरक भए पनि संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा सघाएर राप्रपाले देशभक्ति देखाएको उनको भनाइ थियो।

विचार र मत त्यति नमिले पनि राष्ट्रियता र राष्ट्रिय भावना उस्तै भएकाले यो विषयमा आफूहरूको एउटै गोत्र भएको उनले बताए।

“हाम्रा विचार र मत त्यति मिल्दैन। तर राष्ट्रिय भावना, स्वाधिनता, देशप्रतिको निष्ठा र देशभक्ति उस्तै छ। त्यसैले हाम्रो गोत्र उस्तै-उस्तै हो”, प्रचण्डले भने।

उनले थपे, ‘‘हाम्रो मत त मिल्दैन। म गणतन्त्रवादी, धर्म निरपेक्षतावादी। तर म पनि तपाईहरुजस्तै राष्ट्रवादी। राष्ट्रवादको व्याख्या गर्दा दुईओटा आधारभूत कुरा छन्। एउटा हिजोको इतिहासमा भएका सकारात्मक र गौरवपूर्ण कुरालाई आधार बनाएर अहिले पनि इतिहासतिरै फर्कने राष्ट्रवाद। अर्को, नेपालको सम्पूर्ण जनतालाई राष्ट्रवादको आधार मान्दै जनतातिरै फर्कन खोज्ने राष्ट्रवाद।”

आफूले मजदुर, किसान, उत्पीडित, आदिवासी, जनजाति, दलित, महिला, थारुलगायत सबैको पहिचान र अधिकारको लागि लडेको उनको भनाइ थियो। राप्रपासँग विचार र मतमा भिन्नता भए पनि राजनीतिक अस्थिरता र अराजकता हुन नदिई संविधान बनाउन राप्रपाले गरेको योगदान देशभक्तिको भएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved