कांग्रेस १४ औँ महाधिवेशन

संघीयता कार्यान्वयनको चार वर्षः प्रादेशिक संरचनामा जाँदै कांग्रेस

प्रादेशिक अधिवेशनको प्रकिया १६ गतेदेखि नै शुुरु हुँदैछ, जसको तयारीमा कांग्रेस लागेको छ। कांग्रेसले सातै प्रदेशका केन्द्रीय नेताहरुलाई विशेष प्रतिनिधि बनाएर प्रादेशिक अधिवेशन तयारीको जिम्मा दिएको छ।

संघीयता कार्यान्वयनको चार वर्षः प्रादेशिक संरचनामा जाँदै कांग्रेस

काठमाडौं। संघीयता कार्यान्वयनको चार वर्षपछि नेपाली कांग्रेस प्रादेशिक अभ्यासमा जाँदैछ। ०७२ को नेपालको संविधानले मुलुकमा सातवटा प्रादेशिक संरचनाहरु कायम गर्ने व्यवस्था गरेपछि ०७४ को निर्वाचनपश्चात् उक्त व्यवस्था कार्यन्वयनमा आयो। देश प्रादेशिक संरचना गए पनि दलहरु भने प्रादेशिक अभ्यासमा नगएको भन्दै आलोचना हुँदै आएको थियो। तत्कालीन नेकपादेखि अन्य साना दलहरुले प्रदेशिक संरचना बनाए पनि त्यो तजबिजको आधारमा मात्रै बनाइएको थियो।

कांग्रेसले १४ औँ महाधिवेशनको कार्यतालिका अनुसार १८-१९ मंसिरका सातै प्रदेशको प्रादेशिक अधिवेशन गर्दैछ। यद्यपि प्रादेशिक अधिवेशनको प्रकिया १६ गतेदेखि नै शुुरु हुँदैछ, जसको तयारीमा कांग्रेस लागेको छ। कांग्रेसले सातै प्रदेशका केन्द्रीय नेताहरुलाई विशेष प्रतिनिधि बनाएर प्रादेशिक अधिवेशन तयारीको जिम्मा दिएको छ।

केन्द्रीय महाधिवेशनका लागि देखिएको गुटबन्दी प्रादेशिक अधिवेशनमा पनि पर्ने लगभग निश्चित जस्तै छ। सभापति देउवा निकट अर्जुन जोशीले मंगलबार गण्डकी प्रदेशको अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्। बागमती प्रदेशका ईन्द्र बानियाँले पनि मंगलबार नै प्रदेश अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्।

अघिल्लो साता प्रदेश दुुईमा निधि नजिकका नेता तथा प्रदेशमन्त्री राामसरोज यादवले अध्यक्षको उम्मेदवारी घोषणा गरेका थिए। सभापति इतर पक्षले अहिलेसम्म कुनै पनि प्रदेशमा आफनो उम्मेदवारी घोषणा गर्न सकेको छैन। इतर पक्षका नेता प्रकाशमान सिंहको निवासमा मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइरालासहितका नेताहरुको बैठक यही विषयमा बसेको बताइएको छ।

संस्थापन इतर पक्षबाट अर्जुनरसिंह केसीका भाइ जगदिश्वर नरसिंह केसी, राजुराज जोशी लगायतका नेताहरु बागमती प्रदेशका अध्यक्षका दाबेदार हुन्। नेता कृष्णप्रसाद सिटौला पक्षका नेता भिमसेनदास प्रधानले पनि बागमती अध्यक्षमा दाबी गरेका छन्।

केन्द्र झै सातै प्रदेशमा सभापति देउवा र इतर पक्षको बीचमा प्रतिस्पर्धा हुने देखिएको छ। सातै प्रदेशमा सहमति नभएर चुनावी प्रतिस्पर्धा हुने सम्भावना छ। सभापति देउवाले आफ्नो समूहबाट प्रदेश अधिवेशन संयोजन गर्न ९ नेतालाई जिम्मेवारी दिएका छन्।

प्रदेश नम्बर १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला प्रदेश अधिवेशन आयोजक समितिका संयोजक तोकिएका छन्। प्रदेश नम्बर २ मा रमेश रिजाल संयोजक छन् भने बागमतीमा पूर्वमहामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ।

गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठको नेतृत्वमा आयोजक समिति बनेको छ। लुम्बिनीमा बालकृष्ण खाँणले प्रदेश अधिवेशन गराउने जिम्मेवारी पाएका छन्। कर्णालीमा जीवनबहादुर शाहीको नेतृत्वमा आयोजक समिति बनेको छ भने सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडू प्रदेश अधिवेशन आयोजक समिति संयोजक छन्।

प्रत्येक जिल्लामा रहेका प्रदेशसभा क्षेत्रबाट आएका क्षेत्रीय प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू र सांसद पनि प्रदेश अधिवेशनका मतदाता हुन्छन्। कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले निर्वाचन समितिको कार्यतालिका अनुसार प्रभावकारी ढंगले कांग्रेस प्रादेशिक अधिवेशन गर्न लागेको बताए।

“प्रदेश अधिवेशनका लागि प्रतिनिधिहरुको छनोट भइसकेको छ”, महतले नेपालभ्यूजसँग भने, “पार्टीले खटाएका केन्द्रीय प्रतिनिधिहरु सातै प्रदेशमा तयारी पनि गरिराख्नु भएको छ।”

कुन प्रदेशमा कसको दाबी?

प्रदेश नम्बर १
यो प्रदेशको विराटनगरमा कांग्रेसले प्रदेश अधिवेशन गर्दैछ। सभापति देउवा पक्षबाट मोरङका अमृत अर्याल र ओखलढुंगाका रामहरि खतिवडा सभापतिको दाबेदार छन् भने इतर समूहबाट प्रदेश नम्बर १ को सभापतिमा केन्द्रीय सदस्य गुरूराज घिमिरेको दाबेदारी छ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको पनि प्रदेश १ मा राम्रो प्रभाव छ। उनीनिकट रहेका सुधीरकुमार शिवाकोटी र उद्धव थापा पनि प्रदेश सभापति पदका आकांक्षी रहेका स्रोतको दाबी छ। यो प्रदेशमा देउवा, पौडेल(कोइराला र सिटौला गरी तीन समूहबीच प्रतिस्पर्धा हुने सम्भावना छ।

प्रदेश नम्बर २
प्रदेश नम्बर २ को अधिवेशन जनकपुरधाममा हुँदैछ। प्रदेश दुुईका भौतिक पूर्वाधारमन्त्री तथा कांग्रेसको प्रदेश दुईको संसदीय दलको नेता रामसरोज यादवले प्रदेश सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन्।
यादव केन्द्रमा वर्तमान उपसभापति तथा १४ औँ महाधिवशनमा सभापतिका दाबेदार विमलेन्द्र निधि नजिकका नेता मानिन्छन्। यहाँ सभापति देउवा पक्षबाट अजय चौरासिया, कृष्ण यादव र महेन्द्र राय यादवको नाम चर्चा छ।

बागमती प्रदेश
बागमती प्रदेशको अधिवेशन हेटौंडामा हुँदैछ। यो प्रदेशका लागि देउवा पक्षबाट बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले उम्मेदवारी घोषणा गरेका छन्।

इतर पक्षबाट जगदीश्वरनरसिंह केसी, मधु आचार्य, रमेश धमला र राजुराज जोशी दाबेदार छन्। पूर्वमहामन्त्री सिटौला पक्षबाट भीमसेनदास प्रधानले पनि उमेदवारी घोषणा गरिसकेका छन्।

गण्डकी प्रदेश
गण्डकी प्रदेशको अधिवेशन पोखरामा हुनेछ। देउवानिकट नेता अर्जुन जोशीले मंगलबार यो प्रदेशमा दाबी घोषणा गरिसकेका छन्। इतर पक्षबाट शुक्रराज शर्मा, रघु पौडेल लगायतको नाम चर्चामा रहे पनि यो पक्ष अन्तिम निष्कर्षमा पुगिसकेको छैन।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशको अधिवेशन बुटवलमा हुनेछ। देउवा पक्षबाट केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल प्रदेश सभापतिका आकांक्षी छन्। यस्तै, प्रतिनिधिसभा सांसद भरत शाह पनि प्रदेश सभापतिको तयारी गर्दैछन् भने केन्द्रीय सदस्य किशोरसिंह राठौर पनि प्रदेश सभापति पदका आकांक्षी छन्। इतर पक्षबाट अमरसिंह पुनले प्रदेश सभापतिका लागि तयारी गरिरहेका छन्।

कर्णाली प्रदेश
कर्णाली प्रदेशको अधिवेशन सुर्खेतमा हुनेछ। देउवा पक्षबाट कर्णाली प्रदेश सभापति पदका लागि राजिवविक्रम शाह, कालिबहादुर सहकारी, ललितजंग शाहलगायतको नाम चर्चामा छ। मुख्यमन्त्री जीवनबहादुर शाहीको नाम पनि प्रदेश सभापतिका लागि आएको छ। इतर पक्षबाट हृदयराम थानी र तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीको नाम प्रदेश सभापतिका लागि चर्चामा छ।

सुदूरपश्चिम प्रदेश
यो प्रदेशको अधिवेशन धनगढीमा हुनेछ। देउवाको गृह प्रदेश सुदूरपश्चिममा देउवा पक्षबाट वीरबहादुर बलायर, नरनारायण शाह, गोविन्द शाह, बहादुर थापा, पृथ्वी सिंहलगायत नेताको नाम चर्चामा छ।

इतर पक्षबाट कर्ण मल्ल सभापतिका आकांक्षी छन्। डडेल्धुरा कांग्रेसका पूर्वसभापति समेत रहेका मल्ल सभापति देउवा पक्षले एकलौटी अधिवेशन गरेको विरोधमा सानेपामा अनसन बसिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved