अनि महासचिव जिते तान्त्रिक पुर्खाका सन्तति शंकरले

पुर्खाले छिलिकोटे राजालाई प्रभाव पारेर ‘मजगाउँ मौजा’ हात पारेजस्तै शंकरले बालकोट र शितलनिवास प्रभावित पारेर एमालेको ‘महासचिव मौजा’ हात पारे।

अनि महासचिव जिते तान्त्रिक पुर्खाका सन्तति शंकरले

काठमाडौं। नेकपा (एमाले) को १०औं महाधिवेशनबाट महासचिव पदमा बाजी मारेका शंकर पोखरेल दाङ हाडिमेका हुन्। कुनै बेला उनका पुर्खा छिलिकोट र भित्रीकोटे राजाका सल्लाहकार थिए। तिनले  छिलिकोटे राजालाई प्रभावित पारेर मजगाउँ मौजा बिर्ता पाएका थिए। आलोचकहरूले भनेजस्तो शंकर ठूला ‘जिम्दार कमरेड’ भने होइनन्। दाङमा ‘मुक्खे’, ‘पटवारी’ बनेका ‘ए क्लास’का शंकर जिम्दार खलकीय होइनन्। शंकर मध्यम वर्गका जिम्दार हुन्। बरु शंकर तान्त्रिक सन्ततीचाहिँ हुन्। आफ्ना पुर्खाले मजगाउँ मौजा बिर्ता पाएजसरी अहिले उनले एमाले मौजा महासचिव हात पारेका छन्।

राजनीतिक उदय

शंकर पोखरेल बनारसमा पढ्थे। बनारस जानुलाई रापतीतिर दुई आँखाले हेर्छन्।

एक, नेपालमा एसएलसी आएपछि सजिलरी पास गर्न जाने ठाउँको रूपमा हेर्छन्। धेरैपटकको कोशिसबाट पनि कटाउन नसकेपछि बनारस जाने चलन हो। दुई, बाहुन समुदायमा बूढाबूढी भएपछि बनारस लाग्थे। तिनलाई स्याहार्न बनारस जाने चलन थियो। आमाबाको स्याहार पनि हुने र पढाइ पनि हुने। त्यसैले रापतीतिरका धेरै बाहुनले बनारसमा पढे।

पछि बनारस नेपालको वैकल्पिक राजनीतिक केन्द्र बन्यो। कारण थियो, पञ्चायतका कारण पुष्पलाल र बीपी कोइराला बनारसमै बस्नु। शंकरका दाजु देवीले बनारसमा पुस्तक पसल खोले। राजनीति पनि गरे।

शंकर पनि त्यहीँ अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनमा आबद्ध भए। उनलाई मदन भण्डारीले नेपाल ल्याए। अनेरास्ववियुको जिम्मा पाए। त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति भए। अनेरास्ववियुको अध्यक्ष भए।

विद्यार्थी राजनीतिमा सक्रिय भएका पोखरेल ३२ वर्षकै उमेरमा दाङबाट संसदमा पुगे। खुमबहादुर खड्काको हालीमुहाली रहेको दाङमा बाम खडेरीको बेला संसद्मा पुगेपछि शंकर नेपालको राष्ट्रिय राजनीतिको केन्द्रमा पसे।

२०५४ मा एमाले फुट्यो। २०५६ को चुनाव शंकरले हारे। २०६४ को चुनावमा समानुपातिक तर्फबाट संविधान सभा सदस्य भए। पोखरेल २०६५ मा सरकारमा सहभागी भए। माधवकुमार नेपाल नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री।

२०७० को चुनाव पनि हारे। २०७४ को चुनावमा कृष्णबहादुर महरासँग एउटै चुनाव क्षेत्रमा हानथाप भयो। अन्त्यमा ओलीले मुख्यमन्त्री हुनेगरी शंकरलाई प्रदेश सभामा लगे। लुम्बिनी प्रदेश मुख्यमन्त्री भए। एमाले र माओवादीले बहुमत ल्याएपछि शंकर लुम्बिनी मुख्यमन्त्री भए। प्रदेशको नामांकन र राजधानी तोक्ने काम गरे। विष्णु पौडेलको बुटवललाई लुम्बिनी प्रदेशको राजधानी बनाउने चाहनाविपरीत शंकरले राजधानी दाङमा सारे।

पोखरेल एमालेको बुटवल आठौं महाधिवेशनबाट ओली समूहबाटै सचिव चुनिएका थिए। जुन महाधिवेशनमा अध्यक्ष पदमा ओलीले हारे। काठमाडौं नवौं महाधिवेशनबाट ओली अध्यक्षले जित्दा भने शंकर उपमहासचिवमा पछारिए।

शंकर पोखरेल, महासचिव, नेकपा (एमाले)

महासचिवमा शंकर उदय

शंकर साठी पुग्न थाले। विद्यार्थी राजनीति राजनीतिमा सक्रिय शंकरको राजनीतिमै चालीस बर्ष बित्यो। चालीस बर्ष छोटो समय होइन। त्यसैले कतिले शंकरको उदयलाई चाँडो भने पनि त्यसो होइन। एमालेको जटिल आन्तरिक राजनीति चरम गुटबन्दीबीच शंकरले बाजी मारेका भने हुन्।

यसलाई बुँदागतरूपमा यसरी भन्न सकिएला।

एक, शंकरले आफ्नो लामो राजनीतिक जीवनमा वैचारिक नेताको छवि बनाए। यसका लागि उनले शुरु देखि नै सैद्धान्तिक र वैचारिक ढंगले कार्यकर्ता प्रभावित पारे।

भर्खरै एमाले छाडेका शंकरकै जिल्ला दाङबासी डा. अमर गिरी भन्छन्, “मदन भण्डारीले जबज ल्याए। विद्यार्थी नेता शंकरलाई आफू जीवितहुँदै भण्डारीले शंकरलाई उहाँ पनि जबजको राम्रो व्याख्याता हो है भनेर प्रशंसा गरे। अन्ततः शंकरले एमालेमा लगातार वैचारिक नेताको रूपमा छवि बनाए।”

ओली शिविरबाट घनश्याम भूसाललाई टक्कर दिने उनै शंकरमात्र थिए।

दुई, एमाले नेताहरूमाझ शंकरको छवि स्वच्छ रह्यो। पार्टीप्रति निष्ठावान, इमान्दार र नबिटुलिएको नेताको रूपमा छवि बन्यो। छविमा दाग लागेको केही महिनाअघिमात्र हो। लुम्बिनी प्रदेशमा अल्पमतमा पर्दा पनि लामो समय सत्तासीन रहे। संसद् बहिष्कार भयो। मुख्यमन्त्री बन्न प्रदेश प्रमुखलाई समेत आफ्नै कार्यालयमा डाकेर सपथ लिए। उनकै गृह जिल्लाकी सांसद विमला ओली खत्रीलाई अपहरण गरेको आरोप लाग्यो।

तीन, एमालेभित्रको आन्तरिक राजनीतिमा सुखदुःख जहिल्यै उनी ओलीसँगै रहे। शंकरले कहिल्यै दायाँबायाँ गरेनन्। फलस्वरूप ओलीको विश्वास आर्जन गरे। महासचिवका आकांक्षी विष्णु पौडेल जस्तो होइन। प्रदीप ज्ञवाली, विष्णु रिमालजस्तै शुरुदेखि शंकर पनि ओलीसँग रहे।

ओलीले पोखरेललाई उत्तराधिकारी छान्छन् कि भन्ने चर्चा पनि उत्तिकै छ। त्यसका केही आधार पनि छन्। ओलीले गोदावरी विधान अधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पढ्न लगाए। काठमाडौंबाहिर विभिन्न ठाउँका सार्वजनिक समारोहमा शंकरलाई साथ लगे। मुख्यमन्त्री हुँदा पनि ओलीको लरकघरकमा शंकरले काठमाडौं–बुटवल गरिरहे। नेकपा(नेकपा)भित्रको किचलोमा ओलीको पक्षमा शंकर नै अग्रसर भए। संसद् बिघटनमा पनि ओली बचाउमा शंकर नै लागिपरे।

चार, अध्यक्ष ओलीको साथै शंकर त राष्ट्रपति विद्या भण्डारीको पनि विश्वासपात्र हुन्। शंकरलाई बालकोट र शितलनिवासको संयुक्त कृपा परेपछि विष्णुको के लाग्नु? माधव नेपाल समूहले पार्टी छाडेको अवस्थामा शंकरलाई स्थापित गरेर जानुपर्छ भन्ने कुरामा ओली र भण्डारी एक ठाउँमा रहेपछि महासचिव हात लाग्यो।

पाँच, प्राविधिक कुरा पनि छ। त्यो हो, चुनाव। ओलीले चुनाव हुन दिएनन्। चुनाव भए विष्णु पौडेलले जित्थे भन्ने आंकलन पनि छ। यो तर्कलाई बल पुर्‍याउने दुई कारण छन्– एक, पूर्व माओवादी र १० बुँदेवालाको सहानुभूति पौडेलतिर जान्थ्यो। दुई, कार्यकर्तामाझ शंकरभन्दा विष्णु लोकप्रिय छन्। नवौं महाधिवेशनले त्यही पुष्टि गर्छ। नवौं महाधिबेशनमा विष्णुले उपमहासचिव जित्दा शंकर पराजित भएका थिए।

तान्त्रिक सन्तती शंकर

प्राध्यापक श्रीधर शर्मा मजगैंयाले मजगैंया वंशावली तयार पारेका छन्। मजगैंया दाङको टाकुरामा रहेको छिलिकोट राज्यसँग सम्बन्धित छ। १८४७ सालमा छिलीकोटका राजा वीरभद्र शाहले लालमोहर गरी शुभेरामलाई मजगाउँ मौजा बिर्ता दिएका थिए। बिर्ता दिँदै उनलाई भनेका थिए, “आजदेखि तिमीहरू मजगैंया।”

मजगंैया पदवी दिए। बिर्ता दिने भनेको त्यसबेला राजालाई खुसी पारेर, प्रभाव पारेर पाउने बक्सिस हो। राजा खुसी भएपछि दिने हो, बिर्ता।

शुभेराम तान्त्रिक थिए। उनले राजाका धेरै साइत सुधारे। शत्रुलाई मार्न होस् या जिताउन पनि सघाए। कथाअनुसार त तिनले आफ्नो तान्त्रिक विधि प्रयोग गरी लखनउका नवाबले कब्जा गरेको सुनारको जग्गासमेत फिर्ता ल्याए। यसरी राजालाई खुशी तुल्याएपछि शुभेरामले मजगाउँ बिर्ता पाए। मजगाउँ दाङका दुई शहर घोराही र तुलसीपुरको बीच भागतिर पर्ने बिजौरीभन्दा तल्लो भागमा छ।

महासचिव पोखेरलका पुर्खा उनै तान्त्रिक शुभेराम हुन्। कतिले पोखरेल लेख्छन् भने कतिले मजगैंया। दुध पोखरेल शंकर भने पोखरेल नै लेख्छन्। शंकरका खलक कतिले भने मजगैंया लेख्छन्।

“सबै मजगैयाँ हुन्। मजगैया पदवी हो भने थर पोखरेल। पूर्वमन्त्री बलदेव मजगैंया र शंकरका पाँच पुस्ता एउटै हो,” प्राध्यापक मजगंैया भन्छन्, “व्यवहारमा हाम्रो पुख्र्यौली मजगैया भन्थे। तर, बाको पालासम्म पनि शर्मा उपाध्याय लेख्ने चलन थियो। मेरो सात भाइ छौँ। मेरो श्रीधर शर्मा मजगैंया छ। अरूको पोखरेल।”

मजगैंयाका अनुसार उनका बाका पालासम्म पनि शर्मा उपाध्याय लेख्थे।

“हाम्रो पालामा आएर बाबाले मजगैंया लेखिदिनुभयो। हामी मजगैंया लेख्छौं,” प्राध्यापक मजगैंयाले भने। मजगैंयाहरूले मजगाउँका दुध पोखरेलहरूले समाजिक सञ्जालमार्फत पोखरेल मजगैंया लेख्ने अभियान नै चलाए। उनीहरूको तर्क थियो– दुध पोखरेल त नेपालभर छन्।, मजगैंया पोखरेल लेखेपछि मजगाउँ थलोका चिनिन्छ।

तान्त्रिकको मौजा हात

पुर्खाले छिलिकोटे राजालाई प्रभाव पारेर ‘मजगाउँ मौजा’ हात पारेजस्तै शंकरले बालकोट र शितलनिवास प्रभावित पारेर एमालेको ‘महासचिव मौजा’ हात पारे।

ओली उत्तराधिकारीको रूपमा हेरिएका शंकरका लागि फेरि पनि टक्कर विष्णुसँगै पर्नेछ। यसको कारण हो, अर्को कार्यकारी पद अध्यक्ष हो। र, त्यहाँ उक्लन साइत गरेका विष्णुमात्र बच्नेछन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षहरू सबैले ७० बर्षे उमेर हदले अवकास लिनेछन्। त्यसैले अध्यक्ष पदमा शंकरको हानथाप पौडेलसँगै पर्ने देखिन्छ।

ओली छायामा सर्पजसरी गुडुल्किँदा चुनावबाट बचेका शंकर  अर्कोपालि बच्छन् के हुन्छ? चुनाव नै भए पनि विष्णुलाई पछार्छन् कि के गर्छन्? हेर्न बाँकी छ। फेरि विष्णुको सामना नगर्नेगरी काम गर्छन् कि कसरी अहिले भन्न गाह्रो छ। पार्टी कमिटीमा तीन पुस्तालाई नै लिएर जान सकेमात्र पार्टी भविष्य सुरक्षित हुने तर्क गर्दै उनले भनेका छन्, “टीमवर्क हो, सबैका विशेषतालाई बोकेर हिँड्छौँ।”

आफ्ना गुरु ओली जसरी हिँड्छन् कि उनले भने जसरी? हेर्न धेरै पर्खन पर्दैन।


Comment

One thought on “अनि महासचिव जिते तान्त्रिक पुर्खाका सन्तति शंकरले

  1. “सुभेराम” होईन “सुदयराम “ हो सच्याउनु होला। हाम्रा पुर्खा तान्त्रीक थिएनन् दैबिय शक्ती भएका थिए मजगाँउ बिर्ता पाएको त लेख्नु भयो तर संस्कृत बिश्व बिद्यालयलाई १२०० बिगाहा जमिन दिएको लेख्नु भएन । बढाई चडाई भन्दा तत्यगत लेख्ननु होला। मन गणन्ते नलेख्नु होला !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved