योगेश भट्टराईलाई प्रश्न – अबका पाँच वर्ष के गर्नुहुन्छ ? (अन्तर्वार्ता)

एमालेको आन्तरिक लोकतन्त्र जहिल्यै बलियो छ। चुनाव लडेर मात्रै लोकतन्त्र हुँदैन। प्रतिस्पर्धा योग्यता, क्षमता र कार्यकर्ताको अनुमोदन पनि हो। केपी ओलीलाई ठूलो संख्यामा कार्यकर्ताले अनुमोदन गरे।

नेपालभ्युज

योगेश भट्टराईलाई प्रश्न – अबका पाँच वर्ष के गर्नुहुन्छ ? (अन्तर्वार्ता)
फाइल तस्वीर

नेकपा एमालेका नेता योगेश भट्टराई आगामी ५ वर्षको पार्टी नेतृत्वका लागि दोहोरिएका छन्। सचिवमा पुन:निर्वाचित भएपछि नेपालभ्यूजकर्मी पुरुषोत्तम पौडेलले गरेको छोटो कुराकानी:

एउटै चौतारीमा दोहोरिने घोषणासहित सचिवमा पुन:निर्वाचित हुनुभएको छ। अबको पाँच वर्ष के गर्नुहुन्छ?

देशभरी साथीहरूकहाँ जान्छु, पार्टी निर्माणमा लाग्छु, छलफल गर्छु, पार्टीलाई वैचारिक ढंगले अझैं कसरी सुदृढ बनाउने भनेर अध्ययन गर्छु।

छुटेर गएका साथीहरूलाई ल्याउने प्रयत्न हुन्छ कि हुँदैन ?

एकदमै हुन्छ, फर्किनुबाहेक उहाँहरूसँग अर्को विकल्प छैन। अब हामी त्यो प्रयत्न गर्छौं।

भीम रावल र तपाईंसँगै उपाध्यक्ष पदमा पराजित नेताहरूलाई समेटेर अघि बढ्ने के कस्ता योजना छन् ?

लोकतान्त्रिक अभ्यासमा भाग लिइसकेपछि जित मात्रै होइन पराजय पनि हुन्छ। पार्टीभित्र त्यसलाई पराजय भनिँदैन। प्रतिस्पर्धा भयो त्यसमा कहिले सफल हुन सक्छौं कहिले असफल हुन्छौं। प्रक्रियामा भाग लिइसकेपछि परिणामलाई पनि सहज ढंगले लिनुपर्छ। भीम रावल कमरेड जसरी प्रतिस्पर्धामा उत्रिनुभयो म उहाँको सम्मान गर्छुं। उहाँले नेकपा एमालेको एकताका लागि अझैं गम्भीर र सशक्त ढंगले भूमिका खेल्नेमा विश्वस्त छु।

भीम रावलको उम्मेदवारीले एमालेको आन्तरिक लोकतन्त्र बलियो बनायो भन्ने टिप्पणी भइरहेका छन्। के एमालेको आन्तरिक लोकतन्त्र कमजोर भइसकेको थियो?

एमालेको आन्तरिक लोकतन्त्र जहिल्यै बलियो छ। चुनाव लडेर मात्रै लोकतन्त्र हुँदैन। प्रतिस्पर्धा योग्यता, क्षमता र कार्यकर्ताको अनुमोदन पनि हो। केपी ओलीलाई ठूलो संख्यामा कार्यकर्ताले अनुमोदन गरे। यो पनि लोकतन्त्र हो। अरु कतिपय साथीहरू चुनावी प्रतिस्पर्धाबाट आउनुभयो त्यो पनि एउटा लोकतन्त्र हो। भीम रावलले शीष्ट ढंगले आफूलाई प्रतिस्पर्धामा उतार्नुभयो यसले एमालेको लोकतन्त्रलाई कमजोर बनाएको छैन, बलियो नै बनाएको छ। हो, उहाँ अध्यक्षसँग सहमतिमै आउन सकेको भए राम्रो हुन्थ्यो। प्रयत्न अन्तिम समयसम्म भएकै हो। पार्टीभित्र हार र जित हुँदैन, सहकार्य हुने हो। अध्यक्षले पनि सबैलाई समेट्ने प्रयास गर्नुहुनेछ, भीम रावललगायतका कमरेडहरू पनि सहकार्य गर्ने बाटोबाटै जानुहुन्छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved