एमालेमा ‘डेमागग’ को उदय

गर्नैपर्ने प्रश्न नगरी ओलीलाई पुनर्निवाचित गरेर एमालेपंक्तिले आफू चेतविहिन भएको स्थापित त गरेको छ नै, नेपाली राजनीतिमा डेमागगलाई निरन्तरता पनि दिएको छ।

एमालेमा ‘डेमागग’ को उदय

परीक्षा अगावै नतिजा थाह भइसके जस्तै नेकपा (एमाले)को दशौं ‘महापरीक्षा’ बाट केपी ओली अध्यक्षमा दोहोरिने निश्चित नै थियो। तल्लो तहबाटै सर्वसम्मतिका नाममा एकलौटी ढंगले ओलीपक्षीय महाधिवेशन प्रतिनिधि आउनुले उनको जीत सुनिश्चित गरेको थियो। यसै पनि माधव नेपाल चोइटिएर गएपछि पार्टीमा उनलाई ‘टक्कर’ दिनसक्ने अर्को नेता थिएन। भीम रावलले सांकेतिक सन्देश दिन त्यो बिँडो उठाए। ओलीले सर्वसम्मतिका लागि लाख कोशिस गर्दा पनि उनी पछि हटेनन्।

फलतः ओलीको सर्वसम्मत चुनिने आकांक्षामा ठेस लाग्यो। तर, लडेनन्। ओली दोस्रो पटक एमालेको अध्यक्षमा निर्वाचित भएका छन्। नवौं महाधिवेशनमा माधव नेपाललाई पराजित गरेर नेतृत्वमा पुगेका ओली यसपटक रावललाई पराजित गरेर दोहोरिए।

चार दशक लामो राजनीति नै दाउमा परेपछि बाध्य भएर ‘मर्ता क्या नही कर्ता’को नियतिमा निर्वाचनमा होमिएका रावललाई हराउन ओलीले जे जस्ता हतकण्डा अपनाए त्यसले उनी आफै कमजोर देखिए।

रावल पराजित हुनै चुनाव चाहिरहेका थिए। कम्तीमा उनी ‘ओली एमालेमा अहिले पनि सर्वसम्मत नेता होइनन है’ भन्ने सन्देश दिन चाहन्थे। ठूलो मतान्तरले हारेरै भए पनि उनी त्यसमा सफल भए। एउटा कोणबाट भन्न पनि सकिएला, चुनावले रावलको हैसियत देखाइदियो। यद्यपि अर्को कोणबाट हेरौं, रावलले ओलीको प्रतिद्वन्द्वीको रूपमा आफूलाई प्रस्तुत गरेर पार्टीभित्र हुर्कंदो अधिनायकवादविरुद्ध विद्रोहको बिगुल बजाए। ओलीप्रति नतमस्तक नेता कार्यकर्ताको भीडमा त्यो साहसिक पाइला साबित भयो।

चार दशक लामो राजनीति नै दाउमा परेपछि बाध्य भएर ‘मर्ता क्या नही कर्ता’को नियतिमा निर्वाचनमा होमिएका रावललाई हराउन ओलीले जे जस्ता हतकण्डा अपनाए त्यसले उनी आफै कमजोर देखिए। कतिपय अवस्थामा मानिसले जितेर पनि हार्छ, अनि कतिपय बेला हारेर पनि जित्छ। ओली–रावल विजय–पराजयको सन्दर्भ यसको एउटा नजीर हो।

रावललाई पछ्याउँदै घनश्याम भूसाल, भीम आचार्य र टंक कार्कीले पनि नेतृत्व चयनमा विधि अपनाउन अडान राखेपछि एमालेको दशौं महाविधेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केही सदस्य पदका लागि निर्वाचन भएको हो। बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरूको घोषणा ओलीले आफ्नै तजबिजमा गरे। आफू निकटका नेता विष्णु पौडेलको प्रस्ताव उपर कुनै छलफल नै नगरी बन्द सत्रमार्फत ‘पदाधिकारी र सदस्य छान्ने अधिकार’ हासिल गरेका ओलीले भन्न भ्याए, ‘सहमति गर्न सक्नु पनि लोकतन्त्रको उच्चतम अभ्यास हो।’

व्यक्तिपूजक, विचारशून्य

ओली भन्छन् एउटा, गर्छन् अर्कै। उनको व्यवहार र बोलीमा एक सय असी डिग्रीको अन्तर हुने गर्छ। उद्घाटन सत्रदेखि बन्द सत्रसम्म बोल्दा उनले लोकतान्त्रिक प्रणाली संवर्द्धनका कुरा नजाने कति पटक दोहोर्‍याए। तर, व्यवहारको कसीमा एमालेको यो महाधिवेशन इतिहासकै अलोकतान्त्रिक सावित भयो। रावलको जिद्दीले चुनावबाट अनुमोदित हुन पाए पनि ओली यसपाली ‘लाजको पसारो’ नै देखिए। सुदृढ आन्तरिक लोकतन्त्रको अभ्यास गरेको पार्टी भनेर कहलिएको एमालेमा अधिनायकवादी अभ्यास लाद्न उनले कुनै कसर बाँकी राखेनन्। विडम्बना त के भने, आलोचनात्मक चेत राख्ने जमात भन्ठानिएको एमाले पंक्तिले उनको यो अलोकतान्त्रिक चरित्रलाई सहजै अनुमोदन गरिदियो।

कम्युनिष्टहरूका विषयमा एउटा भनाई बडो चर्चित छ, ‘मानिसहरू अल्लारे उमेरमा मात्रै कम्युनिष्ट हुन्छन्। जब–जब उमेर ढल्दै जान्छ, तिनमा साम्यवादको नशा उत्रन थाल्छ।’

एमालेजनमा साम्यवादको नशा कहीँ कतै छैन। नेतृत्व पंक्तिमा पूजा र प्रशंसाको भोक छ। अनि कार्यकर्ता पंक्ति विचारशुन्य ‘दास’हरूको झुण्डमा परिणत हुँदै गएको छ।

रावल र भूसालहरूले पार्टीमा विधि र पद्दतिका लागि संघर्ष गर्दैगर्दा ठूलो पंक्ति ओली विजयको दुन्दुभी बजाइरहेछ। ओलीको निगाह र बक्सिसका लागि उनीहरूको स्तुतीगानको जुन भद्दा रूप यसपटक देखियो, यो तहको वैचारिक शुन्यता र स्खलन यसअघि एमालेमा देखिएको थिएन।

यो कुनै आग्रहबाट गरिएको आलोचना होइन, महाधिवेशन दौरान देखिएको यथार्थ हो। रावल र भूसालहरूले पार्टीमा विधि र पद्दतिका लागि संघर्ष गर्दैगर्दा ठूलो पंक्ति ओली विजयको दुन्दुभी बजाइरहेछ। ओलीको निगाह र बक्सिसका लागि उनीहरूको स्तुतीगानको जुन भद्दा रूप यसपटक देखियो, यो तहको वैचारिक शुन्यता र स्खलन यसअघि एमालेमा देखिएको थिएन।

ओलीबाटै ‘बैगुनी केटो’को उपमा पाएका योगेश भट्टराई समेत उनलाई गुन लगाउन कम्मर कसेर लागे। सर्वसम्मत बनाउने उनको अभियानले मुर्त रूप नलिए पनि ओलीले उनलाई सचिव बक्सिस दिए। चुनावमै जानुपर्ने बाध्यता भएपछि ओली अनुयायीले उनलाई अनुमोदन गरिदिए

शेरबहादुर तामाङले ‘ओलीको विरोध गर्ने नेपाली नै होइन’ भन्दै आलोचकहरूको प्रतिवाद गरेका थिए। उनी स–परिवार पुरस्कृत भए। ओली प्रवृत्तिका विरुद्ध आगो ओकले पनि पार्टी विभाजन हुँदा ओलीकै साथ रहेकी अष्टलक्ष्मी शाक्यले ओली सदासयता पाएकै छिन्। केही अघि छोटो समय मुख्यमन्त्री बन्न सकेकी उनले कम्तीमा उपाध्यक्ष पद सुरक्षित राख्न सकेकी छन्।

युवा पुस्ताका विष्णु रिजालले त ओलीको विकल्पबारे बहस गर्नु नै व्यर्थ ठाने। ओलीले उनलाई केन्द्रीय सदस्यमा ‘तथास्तु’ भनिदिए। आफ्नै बलबुतामा अघि बढ्नसक्ने उनीजस्ता थुप्रै नवोदित नेता पदका लागि नेतृत्व पुज्ने प्रतिस्पर्धामा लागेको दृश्य उदेकलाग्दो थियो। यो प्रतिस्पर्धामा पूर्व माओवादी वृत्तबाट आएका नवोदित एमालेहरू पनि लागेकै थिए। प्रभु साह भन्दै थिए, ओली विश्वकै उत्कृष्ट नेता हुन्।

ओली निगाहमा नपर्नेहरू एकाध असन्तुष्ट होलान् तर अब तिनको घुर्क्याइँले कुनै अर्थ राख्ने छैन। ओली पार्टीभित्र कसैले टक्कर दिन नसक्ने ‘शक्तिशाली’ अध्यक्षका रूपमा अनुमोदित भइसकेका छन्। आफुलाई बाहिर-भित्र घेराबन्दी गरेको भन्दै एकताबद्ध पार्टीको नारा दिएर अध्यक्षमा फर्केका ओलीले फेरि एकपटक मनमौजी अभ्यास गर्ने वैधानिक लाइसेन्स प्राप्त गरेका छन्।

ओली अहंकारको अनुमोदन

यो महाधिवेशनले ओलीको नेतृत्व अनुमोदन मात्रै गरेन, उनका ती तमाम नकामहरूको पनि अनुमोदन गरिदिएको छ जसको वस्तुगत समीक्षा आवश्यक थियो।

महाधिवेशनले नजरअन्दाज गरेका ती विषयबारे चर्चा गरौं जो सिधै एमाले अध्यक्ष ओलीसित सरोकार राख्छन्।

१. एकता किन, विभाजन किन ?

२ जेठ २०७५ मा ओली र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को अगुवाईमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो। पार्टी एकिकरणअघि यी दुई ठूला कम्युनिष्ट पार्टी मोर्चाबन्दी गरेर चुनावमा गएका थिए। परिणाम राम्रो ल्याए। मोर्चाबन्दी एकतामा बदलिएपछि नेकपा शक्तिशाली कम्युनिष्ट पार्टीमा बदलिएको थियो। त्यो शक्तिशाली पार्टी अहिले छिन्नभिन्न भएको छ। ती पार्टी हिजो किन मिले र अहिले किन विभाजित भए ? नेकपा मात्रै होइन, अदालतले एमाले ब्युँताइदिएपछि त्यहाँभित्र अन्तरविरोध चुलिएर फेरि विभाजित भयो।

एकपछि अर्को विभाजन खेपेको पार्टीले ‘एकता महाधिवशेन’ गरेको दावी गर्‍यो। तर, कसैले पनि हिजो एमाले र माओवादी किन मिलेका थिए ? र किन विभाजित भयो ? शृङ्खलाबद्ध विभाजनको दोषी को ? प्रश्न त के समीक्षाको विषय पनि बनेन।

फेरि राजनीतिक अस्थिरता र अन्योलमा मुलुक फस्यो। यो सन्दर्भलाई नजरअन्दाज गर्दै उनलाई फेरि सिंहासनमा विराजमान गर्नुले एमाले पंक्तिको चेतमाथि प्रश्न उठाएको छ।

पार्टी एकीकरणको न्यूनतम प्रक्रिया पनि पुरा नगरी शीर्ष नेतृत्वले आफ्नो तजबिजीमा सिङ्गो पार्टी एकता गराएका थिए। आलोचकहरूले नेपाली राजनीतिलाई प्रभावित गर्न खोज्ने विदेशी शक्तिहरूको यसमा भूमिका भएको बताउँदै आएका छन्। त्यो एकता किन थियो ? एकतापछि त्यसलाई संस्थागत किन गर्न सकिएन ?  किन आफ्नो राजनीतिक निर्णय गर्ने अधिकार अदालतसम्म पुर्‍याउनुपर्ने अवस्था आयो ? यी तमाम विषयमाथि बहसको माग यो महाधिवेशनले गर्थ्यो। पक्कै पनि एकता र विभाजनका कर्ता ओली एक्ला थिएनन्। दोषीको ग्रेडिङ गर्दा अरू पनि यसका भागीदार छन्। तथापी मुख्य दोषी ओली नै थिए। बलियो पार्टीलाई छिन्नभिन्न पार्ने एकजना ‘अभियुक्त’ माथि कुनै प्रश्न नै नगरी उनको नेतृत्व अनुमोदन गरिनु यो महाधिवेशनले गरेको ‘ब्लन्डर’ हो।

२. किन ढल्यो बहुमतको सरकार ?

पार्टी विभाजित भएपछि स्वतः त्यसले सरकारलाई प्रभावित पार्ने नै भयो। पार्टीको विवाद र सरकार पतनको विषय अन्तरसम्बन्धित छन्। तथापि महाधिवेशनमा उठ्नुपर्ने मुद्दा यो पनि थियो।

मुलुकले लामो समयदेखि राजनीतिक अस्थिरता बेहोर्दै आएको थियो। सत्ता राजनीति हावी हुँदा गठबन्धन दल बन्ने अनि भत्कने प्रवृत्तिले मुलुकको आर्थिक समृद्धि र विकासमा बाधक नै राजनीतिक अस्थिरता भएको ‘न्यारेटिभ’ नै बनेको थियो। यो आमबुझाईका पृष्ठभूमिमा मुलुकले बलियो सरकार पाएको थियो। त्यो सरकार सञ्चालनको दायित्व ओलीमाथि थियो। उनीमाथि आम अपेक्षा र भरोसा थियो। धेरै पछि ‘डेलिभर’ गर्न सक्ने नेता पाएको विश्वासमा थिए जनता। तर, उनले त्यो विश्वास र भरोसा कायम राख्न सकेनन्। अहंकार र दम्भको रथमा निरन्तर सवार भइरहे। परिणाम, फेरि राजनीतिक अस्थिरता र अन्योलमा मुलुक फस्यो। यो सन्दर्भलाई नजरअन्दाज गर्दै उनलाई फेरि सिंहासनमा विराजमान गर्नुले एमाले पंक्तिको चेतमाथि प्रश्न उठाएको छ।

३. विधिको उपहास

संविधानलाई मरणासन्न अवस्थामा पुर्‍याउनु ओलीको अक्षम्य त्रुटी थियो। उनले असंवैधानिक हिसाबले दुई–दुई पटक संविधान मिचेर संसद् विघटन गरे। दुवै पटक अदालतले संसद् पुनस्र्थापना गर्नुपर्‍यो। लोकतान्त्रिक पद्धति र विधिको ओलीले जति उपहास सायदै जनस्तरबाट उदाएको अरू नेताले गरेको होला। संविधानमाथि ओलीले गरेको आक्रमणको दुष्परिणाम अहिले पनि नेपाली राजनीतिले भोगिरहेको छ। राजनीति न्यायालयको शरणमा पुराउने मुख्य कर्ता उनै थिए। तर, यो विषय पनि एमाले पंक्ति र महाधिवेशनका लागि रुचिको विषय भएन।

४. कठपुतली राष्ट्रपति

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै नेपालले राष्ट्रपतीय प्रणालीको अभ्यास थाल्यो। यो संस्थाको मर्यादा र गरिमा राजनीतिभन्दा माथिको हुनुपर्थ्यो। त्यो गरिमा जोगाउने दायित्व स्वयं राष्ट्रपतिको पनि थियो तर यसबिचका घटनाक्रमलाई स्मरण गर्ने हो भने, यो संस्थालाई विवादमा ल्याउन सबैभन्दा बढि भूमिका ओलीको देखियो। एउटा मर्यादित संस्थालाई कठपुतली बनाउन उनले गरेका अभ्यास निन्दनीय थिए। महाधिवेशनका सार्वभौम प्रतिनिधिले उनीमाथि गुर्नपर्ने अर्को प्रश्न यो थियो। तर यसमा पनि मौनता साँधियो।

वर्ग संघर्षको नारा बोकेर समाज विद्यमान वर्गीय खाडल पुर्ने ठूल्ठूला कुरा गर्ने एमालेहरू आफै वर्गीय विभेदको चपेटामा छन्। त्यसैले तिनले मालिक विरुद्ध कुनै आवाज उठाएनन् र ओलीलाई वैधानिक रूपमै पार्टी कब्जा गर्न दिए।

५.भ्रष्टहरूको संरक्षण

ओलीमाथि लागेको अर्को आरोप ‘डनवाद’को हो। उनले भ्रष्ट छवि र चरित्रका व्यक्ति र नेतालाई संरक्षण दिन्छन् भन्ने आरोप छ। सरकारमा रहँदै पनि उनका मन्त्रीहरूले कमिसनका लागि मोलतोल गरेका घटना सार्वजनिक भएकै हुन्। ओम्नी लगायतका अनेक भ्रष्टाचारका काण्ड उनको कार्यकालमा भए। विवादास्पद व्यक्ति र विचौलियालाई उनीसँग जोडेर हेरिन्छ। उनले गरेका संवैधानिक, राजनीतिक नियुक्ति विवाद र प्रश्नको घेरामा छन्। तर महाधिवेशन प्रतिनिधिले यी विषय देख्दै नदेख्नु अर्को विडम्बना हो।

वर्ग विभेदको गहिरो खाडल

आखिर यी मुद्दा किन उठेनन् ? किनभने, त्यो उठाउने ल्याकत अब एमाले पंक्तिमा रहेन। एकाधले उठाउन खोजे तर तिनको आवाज सुनिएन, दबाइयो। चितवन महाधिवेशनले एमालेभित्रको वर्गीय विभेदको गहिरो खाल्डो देखाइदियो। ओलीले आफूलाई ‘मालिक’ घोषित गरिरहँदा कुनै बखतको विद्रोही र प्रगतिशील भनिएको पंक्ति खुसी खुसी आफूलाई ‘दास’ स्वीकारिरहेको थियो। वर्ग संघर्षको नारा बोकेर समाज विद्यमान वर्गीय खाडल पुर्ने ठूल्ठूला कुरा गर्ने एमालेहरू आफै वर्गीय विभेदको चपेटामा छन्। त्यसैले तिनले मालिक विरुद्ध कुनै आवाज उठाएनन् र ओलीलाई वैधानिक रूपमै पार्टी कब्जा गर्न दिए। र, यसरी एमालेमा ‘डेमागग’ प्रवृत्तिको उदय भयो।

लोकरिझ्याँईको अस्त्र प्रयोग गरेर सत्ताको नेतृत्वमा पुग्ने अनि अलोकतान्त्रिक ढंगले बढ्ने खोज्ने दुर्जन स्वभावका नेतालाई ‘डेमागग’ भनिन्छ। राजनीतिशास्त्रका विद्धानहरूले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘डेमागग’ को संज्ञा दिएका थिए। अमेरिकी राजनीतिमा डोनाल्ड ट्रम्पको उदयले लोकतान्त्रिक प्रणालीमै पनि तानाशाही प्रवृत्तिले टाउको उठाउन सक्दो रहेछ भन्ने सन्देश दिएपछि विद्धानहरूले निष्कर्ष निकाले, ‘जब विधि/पद्दतिकै आडमा अधिनायकवाद अनुमोदित हुन्छ, त्यो लोकतन्त्रका लागि सैनिक तानाशाही वा फासीवाद भन्दा कम घातक नहुने रहेछ।’

अमेरिकी परिवेश र नेपाली सन्दर्भमा सबै समानता नभेटिएला तर नेतृत्वमा हुर्केको ‘डेमागग’ प्रवृत्ति यहाँ पनि छ। ओलीले हिजो सरकारमा रहँदा लोकतन्त्रको आडमा जुन तमासा गरे र अहिले पार्टी सत्ता कब्जा गर्न आन्तरिक लोकतन्त्रको जसरी हुर्मत लिए, त्यो त्यही ‘डेमागग’ प्रवृत्तिको उपज हो। कुनैबेला ओली भियतनामी क्रान्तिकारी हो चि मिन्हलाई आफ्नो आदर्श ठान्थे। अहिले उनी कम्बोडियाका हुन सेनसंग ‘वेभलेन्थ’ मिलेको देख्छन्। अर्थात्, अचेल ‘डेमागग’ हरू उनका आदर्श हुन्। संघर्ष, जेलनेल र सामान्य पारिवारिक पृष्ठभूमिबाट उठेका एकजना नेतामा राजनीतिको शीर्षस्थान पुगेर यो तहको विचलन आउनु चिन्ताको विषय हो।

प्रभावकारी वाक्कलायुक्त, बँठ्याईपूर्वक झुठ बोल्नसक्ने क्षमताका धनी नै डेमागग हुने गर्छन्। र, हरेक डेमागगजस्तै ओली पनि निस्कनै नस्कने गरी अहंकारको आहालमा डुबेका छन्।

केपी ओली ७/८ वर्षयता निरन्तर राजनीतिको केन्द्रमा छन्। राजनीतिको मियो यिनकै वरीपरी छ। सत्तामा हुँदा र त्यसबाट बाहिरिँदा पनि। भूमिगत राजनीतिदेखि दोस्रोपटक एमाले अध्यक्ष हुँदासम्मको उनको राजनीतिक यात्राका भिन्न चरण छन्। अरू नेता जस्तै उनी पनि पञ्चायती समयमा निरंकुशताको विरुद्ध कम्युनिष्ट राजनीतिमा होमिए। झापा विद्रोहको राजनीतिक पृष्ठभूमि भएका उनी १४ वर्ष जेल बसे।

२०४४ सालमा मुक्त भएपछि तत्कालीन नेकपा (माले) हुँदै एमालेको राजनीतिमा होमिएका ओली २०४६ पछिको कालखण्डमा पटक–पटक सत्ताभोग गर्ने नेतामा पर्छन्। सामुहिक नेतृत्वमा बढेको एमालेका शीर्ष तहका यी एकजना प्रभावशाली नेता सधैँ रहे। नवौं महाधिवेशन पछि भने मूल नेतृत्वमा आए। उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रालय सम्हालेका उनी अध्यक्ष भइसकेपछि प्रधानमन्त्री भएका हुन्। उनको पहिलो प्रधानमन्त्री कार्यकाल औधी सफल भयो। संकटका बेला पनि अडान लिनसक्ने नेताका रूपमा दरिए, उनी। माओवादी विद्रोहको विरोधको जगमा राजनीतिक उचाईं प्राप्त गर्दै आएका ओलीले भारतले नेपालविरुद्ध गरेको अमानवीय नाकावन्दी विरुद्ध जसरी डटे, त्यसले उनको बेग्लै राजनीतिक उचाईं बनायो। उनी राष्ट्रवादी नेता कहलिए। यसरी लोकप्रियताको चुलीमा छिटै पुगेको यी नेता त्यही रफ्तारमा अलोकप्रिय हुँदै गएका छन्।

पहिलो प्रधानमन्त्री कालमा उनले चीनसँगको पारवाहन सन्धि लगायत केही दुरगामी महत्त्वका काम गरे। दोस्रो कार्यकालमा पनि लिम्पियाधुरा–कालापानी–लिपुलेक क्षेत्र समेटिएको नक्सा संसद्बाटै जारी गरेर थप महत्त्वको काम गर्न खोजे। तर, बालुवाटारमा भारतीय जासुसी संस्था ‘र’का सामन्त गोयललाई रातो कार्पेट बिछ्याएर उनी आफैले राष्ट्रवादको भ्रमको त्यो पर्दा च्यातिदिए।

ओलीलाई सुन्दा मजा आउँछ। उनी ‘सेन्स अफ ह्यूमर’ भएका नेता हुन्। डेमागग नेताको विशेषता हो त्यो। प्रभावकारी वाक्कलायुक्त, बँठ्याईपूर्वक झुठ बोल्नसक्ने क्षमताका धनी नै डेमागग हुने गर्छन्। र, हरेक डेमागगजस्तै ओली पनि निस्कनै नस्कने गरी अहंकारको आहालमा डुबेका छन्। ‘दक्षिणपन्थी अवसरवादलाई परास्त गरौं’ भन्ने नारा दिएर चितवन महाधिवेशनबाट फेरि नेतृत्वमा अनुमोदित भएका ओली व्यवहारमा दक्षिणपन्थी बाटोमै अग्रसर छन्।


Comment

2 thoughts on “एमालेमा ‘डेमागग’ को उदय

  1. यति भनौं:–ओलीको विकल्प छैन।आफ्ना विविध कमजोरीहरु माथि उनले यथोचित सुधार गर्नुको समेत विकल्प छैन!

  2. यहाँ उठाइएका ५/६ वटा बुंदाहरुको यथोचित उत्तर वर्तमान गांडुबन्धन सरकारले दिइसकेको अवस्था जो रह्यो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved