एमाले महाधिवेशन – राति २ बजेदेखि मतदान शुरु हुने

नेपालभ्युज

एमाले महाधिवेशन – राति २ बजेदेखि मतदान शुरु हुने

चितवन। नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुन संशोधन भएको छ। नयाँ तालिकाअनुसार सोमबार राति २ बजेबाट मात्रै मतदान शुरु हुने भएको छ। यसअघि निर्वाचन कार्यतालिका २ पटक फेरिएको थियो।  निर्वाचन समितिले राति ११ बजे अन्तिम नामावली प्रकाशन गर्ने र २ बजेबाट निर्वाचन सुरु गर्ने कार्यतालिका प्रकाशन गरेको छ।

सोमबार दिउँसो नै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी ९ बजेदेखि मतदान शुरु गर्ने भनिए पनि सहमतिका नाममा निर्वाचन कार्यक्रम सारिएको हो।

अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको सूचिमा अन्य नेताले असन्तुष्टि जनाएसँगै निर्वाचन हुन लागेको हो। वरिष्ठ उपाध्यक्ष, महासचिवलगायतमा सर्वसम्मति भए पनि अध्यक्ष, उपाध्यक्षलगायत पदमा निर्वाचन हुने भएको हो।

एमाले नेताहरु भोट माग्न व्यस्त छन्। पूर्वमाओवादी नेताहरु भने भोट माग्न हिँडेका छैनन्। एमाले नेताहरु भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, पद्मा अर्याललगायतले भोट मागिरहेका छन्।

एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार अब १० वटा पदमा मात्रै निर्वाचन हुने भएको छ। केन्द्रीय सदस्यका लागि खुला, भौगोलिक र समावेशी समूह गरी ७ पदका लागि र पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा ३ गरी १० पदका लागि निर्वाचन हुन लागेका हो।

अब अध्यक्ष, उपाध्यक्ष, सचिव, प्रदेश १ खुला, प्रदेश १ महिला, सुदूरपश्चिम प्रदेश महिला, दलित खुला, थारु खुला, पिछडिएको क्षेत्र खुला, खुला समूहअन्तर्गत मात्रै निर्वाचन हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved