काठमाडौं। काष्ठमण्डप (मरू सतः) मा रहेको गोरखनाथको प्राचीन मूर्ति गैरकानुनी रूपमा परिवर्तन गरी नक्कली प्रतिमा राखिएको भन्दै अभियन्ताहरूले सरोकारवालाको ध्यानाकर्षण गराएका छन्। साथै काष्ठमण्डप परिसरको चार गणेशलाई बेवारिसे अवस्थामा राखेको भन्दै तत्काल पुरानै मूर्ति स्थापना गर्न माग राखी स्वतन्त्र सम्पदा बचाउ अभियन्ताहरूले राष्ट्रपति, प्रधानमन्त्री, संस्कृति मन्त्री, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति र पुरातत्त्व विभागका महानिर्देशकलाई ज्ञापनपत्र बुझाएका हुन्।
अधिवक्ताहरू सञ्जय अधिकारी, श्रदासुमन गरुवाचार्य, अनुपम विष्ट र कानूनका विद्यार्थीहरू नितिज्ञा ओली, विन्दाकुमारी थापा, सुदिपराज घिमिरे, रिया भट्टराई, रेजीना पौड्याल, ईशा श्रेष्ठ, शुल्भा जोशी, गीता दाहाल, स्मृति मोक्तान, सावित्री पाठक, सविन सिन्ताकल, अर्चना अधिकारी, सफलता श्रेष्ठ, सबिज्ञ सेढाँइ, सन्जु ढकाल, रोहिणी शर्मा, नमिता सुवेदी र कुम्भराज जैशीको टोलीले ज्ञापन पत्र बुझाएका हुन्।
काठमाडौं उपत्यका विश्व सम्पदा अन्तरगत हनुमान ढोकामा रहेको ७ औँ शताब्दीको काष्ठमण्डपलाई २०७२ को विनाशकारी भूकम्पले पूर्ण रूपमा क्षति गरेको थियो। ६ वर्ष पछि यही ४ मंसीरमा पुनर्निर्माण सम्पन्न भई उद्घाटनको तयारी थालिएको छ। यसै क्रममा मूर्ति फेरिएको विषय पत्ता लागेकोले ज्ञापन पत्र बुझाएको अधिवक्ता सञ्जय अधिकारीले बताए।
काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक तथा बागमती प्रदेश सांसद राजेश शाक्यले भने गोरखनाथ मठका महन्तसँग सल्लाह गरी नयाँ मूर्ति बनाइएको’स्पष्टीकरण दिएका थिए। उनले सामाजिक सञ्जालमा ‘नेपाली धार्मिक समाजमा खण्डित मूर्तिको पूजा गर्नुहुँदैन भन्ने प्रचलन रहेकोले नयाँ मूर्ति बनाई प्रतिस्थापना गरेको र पशुपतिनाथको गोरखनाथ मठका महन्तसँग सल्लाह गरी उहाँकै निरीक्षणमा नयाँ मूर्ति बनाइएको’ भनेका थिए।
मूर्ति फेरिएको थाहा पाएपछि सूचनाको हक प्रयोग गरेर पुरातत्त्व विभाग र हनुमानढोका दरबार हेरचाह अड्डासँग सूचना मागेपछि अनुमति नदिएको जवाफ आएको अभियन्ताहरूले बताए। अधिवक्ता सञ्जय अधिकारीले भने “पुरातत्त्व विभाग र हनुमान ढोका दरबार हेरचाह अड्डा दुवैले मूर्ति फेर्न कुनै पनि अनुमति वा स्वीकृति नदिएको जवाफ दिए। यस कारण विश्व सम्पदा सूचीमा रहेका सम्पदा स्वेच्छाचारी ढंगबाट परिवर्तन गर्ने काम रोकी पुरानै मूर्ति स्थापना गराउन पत्र बुझाएका हौँ।”
प्राचीन स्मारक संरक्षण ऐन २०१३को दफा ३(ख)ले सार्वजनिक प्राचीन स्मारकको स्वामित्व पुरातत्त्व विभागमा रहने व्यवस्था गरेको छ। त्यस्ता सार्वजनिक प्राचीन स्मारकहरूको संरक्षण, मर्मत तथा जीर्णोद्धार पुरातत्त्व विभागले गर्ने व्यवस्था छ।
साथै दफा ३(घ)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिले महत्त्वपूर्ण मानिएका प्राचीन स्मारक स्थल तथा पुरातात्त्विक स्थलहरूको संरक्षण पुरातत्त्व विभागले गर्ने प्रावधान छ। साथै यसरी अनाधिकृतरूपमा मूर्ति परिवर्तन गर्दा नेपालको संविधानले सुनिश्चित गरेको धारा २६ र धारा ३२ समेत प्रतिकुल हुने भनिएकाे छ। साथै प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा १२ (ग)ले कुनै पुरातात्त्विक वस्तुलाई नष्ट गरेमा भत्काएमा, विरूप पारेमा, चोरी गरेमा वा अनधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानी नोक्सानी गरेमा त्यस्तो पुरातात्त्विक वस्तुको बिगो बमोजिमको रकम असुल उपर गरी पाँच हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ।
विश्व सांस्कृतिक तथा प्राकृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि, १९७२ जस्तो सम्पदा संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिलाई नेपालले स्वीकार गरिसकेको स्थितिमा अनाधिकृतरूपमा मूर्ति परिवर्तन गरे नेपालले विश्व सम्पदाबाट काठमाडौं उपत्यकालाई गुमाउनुपर्ने अवस्था सृजना हुने ज्ञापन पत्रमा उल्लेख छ।
काष्ठमण्डपमा फेरिएको पुरानै मूर्ति स्थापना नगरेमा विधिको शासन तथा विश्व सम्पदाको संरक्षार्थ अन्य कानुनी उपचार खोज्न बाध्य हुने चेतावनी समेत पत्रमार्फत दिएका छन्।
पत्रमा लेखिएको छ, “अन्तरपुस्ता समन्याय साथै संरक्षणको सर्वमान्य सिद्धान्त प्रतिकुल हुने गरी गोरखनाथको मूर्ति परिवर्तन गरिएको र चार गणेशलाई बेवारिसे अवस्थामा राखिएको गैर कानुनी कार्यलाई मौन रही कुनै कार्य नगरेमा विधिको शासन तथा विश्व सम्पदाको संरक्षार्थ अन्य कानुनी उपचार खोज्न हामी बाध्य हुने करा समेत यहाँहरूलाई जानकारी गराउँदछौँ।”
Facebook Comment
Comment