कमल थापाले गरे उम्मेदवारीको घोषणा

नेपालभ्युज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशनमा पुनः अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंसिर १५ गतेदेखि हुने महाधिवेशनको लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्। सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले पार्टीमा रहेर नगरी नहुने काम धेरै रहेको र त्यो काम अपूरो छोडेर आफू बाहिरिन नसक्ने बताए।

एकपटक एकत्रित पार्टीको नेतृत्व गरेर राप्रपालाई एकपटक माथि उठाएपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने उनले बताए। अध्यक्ष थापाले भने ‘‘यो पृष्ठभूमिमा म तपाईँहरू समक्ष आगामी दिनमा पार्टीलाई कहिल्यै फुट्न नदिने र नफुटाउने संकल्पका साथ पार्टीको अध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषणा गर्दछु। केही कामहरू अधुरा छन्, केही नगरी नहुने कामहरू बाँकी छन्, ती अधुरा कामहरूलाई अधुरै छोडेर पलायन हुने अनुमति मलाई छैन। साथीहरू आगामी मंसिर १५ गतेदेखि हाम्रो महाधिवेशन हुँदै छ, यो महाधिवेशन एकताको महाधिवेशन हो, यो महाधिवेशन केवल नाम मात्रैको होइन, मन, वचन र कर्मले एकताको महाधिवेशन हुनुपर्दछ। म सम्पूर्ण महाधिवेशनका प्रतिनिधिहरूलाई यो महाधिवेशनबाट फर्केर घर जाँदा पार्टीलाई कहिल्यै फुट्न नदिने संकल्प गर्नुपर्दछ भन्ने मलाई लाग्छ।’’

प्रचण्डलाई चेतावनी

अध्यक्ष थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजसंस्थासहितको प्रजातन्त्रलाई निषेध गर्ने गरी केही विषयहरूलाई अपरिवर्तनीय नदेख्न चेतावनी दिए। आफू बन्दुकसँगै खेलेर हुर्किएको भन्दै उनले प्रचण्डलाई बन्दुक बोकेर जङ्गल पसेको धाक नलगाउन पनि चेतावनी दिए।

उनले राजसंस्थासहितको प्रजातन्त्रलाई निषेध गर्ने गरी केही विषयहरूलाई अपरिवर्तनीय देखेमा संविधानसभा बहिष्कार गरेर विद्रोहको बाटोमा जानुपर्ने आवश्यकता हुनसक्ने बताए। अध्यक्ष थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले केही समयअघि मात्रै पूर्वराजा ज्ञानेन्द्र शाहलाई इंगित गर्दै आक्रोश पोखेको भन्दै गणतन्त्रमा विश्वास भए जनतासँग गएर जनमत गर्न चेतावनी दिए।

अध्यक्ष थापाले भने ‘‘प्रचण्डजी तपाईँले २०४७ सालको संविधानमा केही व्यवस्था अपरिवर्तनीय लेखेको कारणले हामी विद्रोहमा जान बाध्य भयौँ, बन्दुक बोकेर जङ्गल जान बाध्य भयौँ भनेर पटक पटक भन्नु भएको छ, यदि तपाईँले अहिले हाम्रा मान्यता, हिन्दु राज्य र राजसंस्थासहितको प्रजातन्त्रलाई निषेध गर्ने गरी केही विषयहरूलाई अपरिवर्तनीय देख्नुहुन्छ भने अहिले यही ठाउँबाट मैले संविधानसभा बहिष्कार गरेर विद्रोहको बाटोमा जानुपर्ने आवश्यकता हुनसक्छ। तपाईँले बन्दुक चलाउन सक्नुहुन्छ भने म त सिपाहीको छोरा। बन्दुकसँगै खेल्दै हुर्केको मान्छे। मलाई बन्दुक चलाउन कसैले सिकाउनु पर्दैन। प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई इंगित गर्दै केही आक्रोशहरू व्यक्त गर्नुभयो, मैले तत्काल त्यसको जवाफ दिएँ, सम्माननीय प्रधानमन्त्री ज्यू, अहिले राजाप्रति आक्रोश व्यक्त गर्नुपर्ने जरुरी छैन, आक्रोश होइन, जनतालाई सुशासन दिनुहोस्, विकास दिनुहोस्, यदि तपाईँलाई आफ्नो गणतन्त्रमा विश्वास छ भने जनतामा गएर फैसला गरौँ, सक्नुहुन्छ ? म आज पनि भन्न चाहन्छु, नेपालमा हिन्दु राज्यसहितको राजसंस्था जनताको प्रत्यक्ष अभिमतबाट स्थापित भएको होइन, अभिलेखले देखाउँछ। यदि यी कुरामा सहमत हुनुहुन्न भने जनमत सङ्ग्रह गरौँ।’

अध्यक्ष थापाले आगामी निर्वाचनबाट काँग्रेस र एमालेपछि तेस्रो ठूलो शक्तिको रुपमा राप्रपा उदाउने दाबी गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आगामी निर्वाचनमा देशको अग्रणी शक्ति रुपमा स्थापित गर्दै पार्टीको वैचारिक धार बलियो बनाएपछि र चाँडो भन्दा चाँडो हिन्दु राष्ट्रसहितको राजसंस्था स्थापना घोषणा गर्ने आधार तय भएपछि स्वाभाविक रूपले आफूले पार्टीबाट विश्राम लिने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved