काठमाडौं। भारत सरकारको सहयोगमा बनेका दुई विद्यालय भवनको उद्घाटन गरिएको छ। दार्चुलाको खलंगा, तिंकरमा रहेको मोती महिला संघ प्राथमिक विद्यालयको भवन उद्घाटन गरिएको छ। साथै महाकाली–७ धापस्थित मालिकार्जुन नमुना माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको पनि उद्घाटन गरिएको हो। दार्चुलाको जिल्ला समन्वय समितिका प्रतिनिधि र भारतीय दूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले आइतबार विद्यालयको नयाँ भवनको उद्घाटन गरेका हुन्।
सन् १९६० मा स्थापना भएको मोती महिला संघ प्राथमिक विद्यालयको नयाँ भवन भारत सरकारको १ करोड २७ लाख रुपैयाँ आर्थिक सहयोगमा तयार भएको हो। यस विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू दार्चुला जिल्लाका सीमान्तकृत तिंकरी र भुटिया समुदायका छन्। हाल विद्यालयमा अध्ययनरत ३९१ विद्यार्थी मध्ये ५० प्रतिशत छात्रा छन्।
साथै सन् १९६६ मा स्थापना भएको श्री मालिकार्जुन नमुना माध्यमिक विद्यालय सन् १९८४ मा माध्यमिक तहमा स्तरोन्नति भएको हो। भारत–नेपाल विकास सहकार्य अन्तर्गत निर्माण भएको यस दुई तल्ले नवनिर्मित विद्यालय भवनले दुर्गम क्षेत्रमा अध्ययनका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै जिल्लाको शैक्षिक विकासमा समेत योगदान पुर्याउने दूतावासको दाबी छ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुरूप यी परियोजनाहरूलाई उच्च प्रभाव सामुदायिक विकास परियोजना’का रुपमा अघि बढाइएको हो। यी परियोजनाहरूको कार्यान्वयन क्रमशः जिल्ला समन्वय समिति, दार्चुला र महाकाली नगरपालिका, दार्चुलाले गरेका हुन्।
सन् २००३ पछि भारतले नेपालमा ५ सय २३ भन्दा बढी सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ भने हालसम्म ४ सय ५९ वटा परियोजनाको निर्माण सम्पन्न भइसकेको छ जसमध्ये दार्चुला जिल्लाका ६ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा रहेका छन्।

Facebook Comment
Comment