दुर्घटनाका कारण कैलालीमै दुई ठाउँमा अवरुद्ध भयो पूर्वपश्चिम राजमार्ग

ट्रकको ठक्करबाट युवकको मृत्यु भएपछि स्थानीयले प्रदर्शन गर्दा पूर्वपश्चिम राजमार्ग दुई ठाउँमा अवरुद्ध भएको छ।

नेपालभ्युज

दुर्घटनाका कारण कैलालीमै दुई ठाउँमा अवरुद्ध भयो पूर्वपश्चिम राजमार्ग
फाइल तस्वीर ।

धनगढी। सोमबार बिहान कैलालीमा ट्रकको ठक्करबाट युवकको मृत्यु भएपछि स्थानीयले प्रदर्शन गर्दा पूर्वपश्चिम राजमार्ग दुई ठाउँमा अवरुद्ध भएको छ।

गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउले चोकस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट सोही ठाउँका पैदल यात्रु अन्दाजी १९ वर्षीय नरेश देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ।

भैरहवाबाट अत्तरिया आउँदै गरेको ना ६ ख ५३६६ नम्बरको मालवाहक ट्रकले उनलाई बिहान साढे ३ बजे ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ट्रक चालक कपिलवस्तु ९ भर्तापुरका २५ वर्षीय सैलेश नेपालीलाई ट्रकसहित इलाका प्रहरी मालाखेतीले नियन्त्रणमा लिएको छ।

यसैबीच स्थानीयले पूर्वपश्चिम राजमार्ग अन्तर्गत स्याउलेमा प्रदर्शन गरिरहेका छन्। उनीहरुले ट्रक चालकलाई कारबाही र मृतकको परिवारलाई क्षतिपूर्तिको माग गर्दै टायर बालेर राजमार्ग अवरुद्ध पारेको प्रहरीले जनाएको छ।

उता जिल्लाको घोडाघोडी नगरपालिका ५ डोकेबजारमा शनिबार ट्रकको ठक्करबाट मोटरसाइकल चालक बसन्तराज शर्माको मृत्यु भएपछि सुख्खडमा पनि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

ट्रक चालकको पहिचान नभएको र उनी फरार रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनको खोजी कार्य भइरहेको बताइएको छ।

शनिबार पश्चिमबाट पूर्वतर्फ गइरहेको सु.प.प्र.०१ ००८ प ५४७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको लु १ ख ४६६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved