एमाले दशौँ महाधिवेशन

जितेका ओलीले चुनौती पाउँदा हारेका पोखरेल सर्वसम्मत

अध्यक्ष ओलीले नै चुनौती पाएको महाधिवेशनमा केही व्यक्ति भने नवौँ महाधिवेशनमा पराजित भएको भन्दा माथिल्लो पदमा पनि सर्वसम्मत भएका छन्। ती भाग्यमानी व्यक्ति हुन्, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल।

नेपालभ्युज

जितेका ओलीले चुनौती पाउँदा हारेका पोखरेल सर्वसम्मत

काठमाडौं। चितवनमा गत १० मंसिरदेखि नेकपा एमालेको दशौँ महाधिवेशन जारी छ। नारायणी नदी किनारमा भव्य उद्घाटन गरेर सेभेन स्टार होटलमा बन्दसत्र शुरु गरेको एमाललाई नेतृत्व छनोट भने फलामको चिउरासरह बनेको छ।

नेकपा विभाजनपछि केपी शर्मा ओली समूहमा लागेका पूर्वमाओवादी नेताहरु तथा १० बुँदे सहमति गरेर माधव नेपाल छाडेर एमालेमा बसेका नेताहरुसहित एकता महाधिवेशनको रुपमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास पनि भयो। तर, ओलीले सर्वसहमतिका लागि प्रस्ताव गरेको नाम सूचीमा सहमति भएन।

आइतबार मध्यरातमा ओलीले सर्वसहमतिका लागि अध्यक्षमा आफूलाई राखेर वरिष्ठ उपाध्यक्षमा लगातार महासचिव जितेका ईश्वर पोखरेललाई प्रस्ताव गरे।

६ जना उपाध्यक्षका लागि ओलीले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, राम बहादुर थापा ‘बादल’, विष्णु पौडेल र सुरेन्द्र पाण्डेको नाम प्रस्ताव गरे। यीमध्ये ज्ञवाली, शाक्य र पाण्डे दश बुँदे सहमति गरेर बसेका र बादल पूर्वमाओवादी हुन्।

ओलीले महासचिवमा शंकर पोखरेल तथा तीन उपमहासचिवमा विष्णु रिमाल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई प्रस्ताव गरे। यी तीनै जना एमालेमा ओली समूहमै रहेका नेता हुन्।

ओलीले सचिवका लागि रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र पद्मा अर्याललाई प्रस्ताव गरेका छन्। जसमा भट्ट र रायमाझी पूर्वमाओवादी हुन् भने भट्टराई र विष्ट दश बुँदे सहमति पक्षधर हुन्।

अध्यक्षमा ओली स्वयंलाई नवौँ महाधिवेशनमा लोकप्रिय मतसहित उपाध्यक्ष जितेका भीम रावलले चुनौती दिए। उपाध्यक्षमा पनि ओलीले प्रस्ताव गरेका ६ जनालाई नवौँ महाधिवेशनबाट उपमहासचिव बनेका घनश्याम भुसालले चुनौती दिएका छन्।

सचिवमा पनि थप दुई जनाको दाबी परेपछि ओलीले प्रस्ताव गरेका ७ जनाले चुनावी प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। ओलीले छानेका व्यक्तिलाई नवौँ महाधिवेशनमा सचिवमै जितेका भीम आचार्य र चीनका लागि पूर्वराजदूत तथा अखिलका पूर्वअध्यक्ष टंक कार्कीले चुनौती दिएका छन्।

जसअनुसार अब एमालेको अध्यक्ष, उपाध्यक्ष र सचिवमा चुनावी प्रतिस्पर्धा हुने भएको छ। नवौँ महाधिवेशनमा बनेको गुट सकिएको र सहमति र एकताको भनिएको महाधिवेशनमा ओली आफैं सर्वसम्मत अध्यक्ष बन्न सकेनन्।

अध्यक्ष ओलीले नै चुनौती पाएको महाधिवेशनमा केही व्यक्ति भने नवौँ महाधिवेशनमा पराजित भएको भन्दा माथिल्लो पदमा पनि सर्वसम्मत भएका छन्। ती भाग्यमानी व्यक्ति हुन्, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल।

पोखरेलले नवौँ महाधिवेशनमा उपमहासचिव पदमा हार ब्यहोरेका थिए। त्यस समयमा ओली पक्षबाट पोखरेल र विष्णु पौडेल उम्मेदवार थिए भने माधव नेपाल पक्षबाट घनश्याम भुसाल र रघुजी पन्त प्रतिस्पर्धी थिए। जसमा पौडेल र भुसाल विजयी भएका थिए।

समग्रमा पार्टीमा आफू सर्वोच्च नेता भएको र आफ्नो नेतृत्वमा एमालेमा सर्वसम्मत कमिटी बनेको शाख बनाउने ओलीको चाहना चितवनमा मुर्छित भएको छ। आफूले राखेको प्रस्ताव बन्दसत्रले सर्वसम्मत पारित गर्ने अपेक्षा ओलीको थियो। तर रावलले अध्यक्षको दाबी नछाड्ने बताएसँगै ओलीले चुनाव लड्नुपर्ने भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved