राजनीतिबाट अलग्गिएका हुन् वामदेव ?

नवौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित गौतमको नाम केन्द्रीय सदस्यममा समेत परेन। उनले गत १८ भदौमै उपाध्यक्षसहित सबै पदबाट राजीनामा दिएका थिए। पार्टीको नयाँ नेतृत्वमा नै नपरेपछि एमालेबाट उनको यात्रा टुंगिएको छ। ओली रहेसम्म एमालेमा नफर्किने उनले बताएका थिए।

नेपालभ्युज

राजनीतिबाट अलग्गिएका हुन् वामदेव ?

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौँ महाधिवेशनका दौरान आफू स्वयंले आफूसहित १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको नाम घोषणा गरे। शनिबारको बन्दसत्रले उनलाई केन्द्रीय सदस्य र पदाधिकारीको नाम छनोट गर्ने जिम्मेवारी दिएको थियो। भीम रावल, घनश्याम भूसाललगायतका नेताहरूको असमर्थनकै बीच ओली पक्षले पेलेरै जाने योजना अनुसार हो-हल्लाबीच केन्द्रीय कमिटीको नामावली अनुमोदन भइसकेको छ।

ओलीको उक्त घोषणामा एमालेको अग्रपंक्तिमा आउने एउटा नाम भने देखिएन, वामदेव गौतम। नवौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित गौतमको नाम केन्द्रीय सदस्यममा समेत परेन। उनले गत १८ भदौमै उपाध्यक्षसहित सबै पदबाट राजीनामा दिएका थिए। पार्टीको नयाँ नेतृत्वमा नै नपरेपछि एमालेबाट उनको यात्रा टुंगिएको छ। ओली रहेसम्म एमालेमा नफर्किने उनले बताएका थिए।

पञ्चायतकालदेखि नै नेपाली राजनीतिमा लोकप्रिय गौतम ७४ सालको प्रतिनिधिसभा चुनावमा पराजित भएयता उपनिर्वाचनबाट प्रतिनिधिसभामा छिर्न अनेक तिकडम गरे पनि उनी सफल भने हुन सकेनन्। तथापि, तत्कालीन नेकपाभित्र उनको राम्रो प्रभूत्व थियो। नेकपा विभाजित भएयता मौन उनले माधव नेपालले एमालेबाट अलग्गिएर नेकपा (एकीकृत समाजवादी) गठन गरेलगत्तै आफ्नो समर्थन रहेको जनाएका थिए।

गौतमनिकट स्रोतका अनुसार उनी नेपालसँग छलफल गरेरै एमाले छाड्न तयार भएका थिए। तर हालसम्म उनले नेकपा (एस)को सदस्यता भने लिएका छैनन्। एमालेको दशौँ महाधिवेशनका दौरान बहाना बनाएर चुपचाप गृहजिल्ला पुगेका उनी मौन नै छन्।

एमालेको दशौँ महाधिवेशनको उद्घाटन सत्रमासम्म उनी पुगेनन्। एमाले महाधिवेशनमा व्यस्त हुँदा यसअघि महाधिवेशनमा महत्वपूर्ण भूमिका खेल्ने वामदेव एकाएक गृहजिल्ला बर्दिया गएको खबर बाहिरियो, कान्छी छोरी जिताको विवाहको लागि। यस विषयमा बुझ्न वामदेवलाई सम्पर्क गर्न खोजे पनि सम्पर्क हुन सकेन। नेपालभ्यूजले यसबारे वामदेव पत्नीसमेत रहेकी एमाले नेता तुलसा थापासँग सम्पर्क गर्दा उनी काठमाडौंस्थित घरमै आराम गरिरहेको जानकारी दिइन्।

तत्कालीन माले, एमाले हुँदै नेकपाबाट पुन: एमालेसम्मकै यात्रामा गौतमको वरीयता पुरानै हो। मनमोहन अधिकारी र माधव नेपालको नेतृत्वमा उपमहासचिवको जिम्मेवारी सम्हालेका गौतमसँग पार्टी सञ्चालनको राम्रो अनुभव पनि छ भने धेरैपटक उपप्रधानमन्त्री र गृहमन्त्री भएका उनीसँग सरकार सञ्चालनको पनि अनुभव छ।

२०४८ र ५१ मा बर्दियाबाट प्रतिनिधिसभामा निर्वाचित गौतम ५६ र ६४ सालमा पराजित भए। त्यसपछि २०७० सालको चुनाव प्यूठानबाट लडेर निर्वाचित उनी ७४ मा पुन: बर्दियाबाट पराजित भएका थिए। २०५३ मा ८ महीना उपप्रधानमन्त्री र गृहमन्त्री भएका उनी २०६५ र २०७० को निर्वाचनपछि पनि त्यही भूमिकामा देखिएका थिए।

वि.सं. २०२१ देखि सक्रिय कम्युनिष्ट नेता गौतम के अब राजनीतिबाटै अलग्गिएका हुन् त ? उनीनिकट एक नेता बताउँछन्, ‘‘एमालेबाट उनी बाहिरिसके। अब उनले अन्य पार्टीमा खोज्ने सम्मानजनक स्थान हो।’’

गौतम पदबिना अन्य पार्टीमा नजाने भएकाले सम्भवतः चाँडै नेपाल नेतृत्वको (एस)मा जान सक्ने उनले बताए। अथवा वामदेव आफ्नै नेतृत्वमा नयाँ दल दर्ता गराएर अघि बढ्ने उनको विश्लेषण छ।

तर वामदेव तत्काल कुनै पनि पार्टीमा नजाने उनकी पत्नी थापाले बताएकी छन्। ‘‘तत्कालै कुनै राजनीतिक दलसँग आवद्ध हुने योजनामा उहाँ हुनुहुन्न।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved