अझै शुरु भएन एमालेको बन्दसत्र, फर्किन लागे हेर्न आएकाहरू

अझै शुरु भएन एमालेको बन्दसत्र, फर्किन लागे हेर्न आएकाहरू

चितवन ।  आज साँझ ७ बजे शुरु हुने भनिए पनि नेकपा (एमाले) को बन्दसत्र अझै शुरु हुन सकेको छैन। ईश्वर पोखरेल, शंखर पोखरेल, विष्णु पौडेल, सुबास नेम्बाङ, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ छलफलकै चरणमा रहेकाले बन्दसत्र शुरु हुन नसकेको हो।

आज अध्यक्ष ओलीले संगठन विभाग प्रमुख पौडेलका साथै यी नेताहरूलाई केन्द्रीय सदस्यहरूको सूची बनाउन दिएका थिए। यिनै चार नेताले पदाधिकारी व्यवस्थापनबारे पनि विकल्प अघि सारेका हुन्।

तर उनीहरूबीच अहिलेसम्म सहमति जुट्न सकेको छैन। छ जनाको यो टिमले बुझाएको ३०१ सदस्यीय केन्द्रीय कमिटीमाथि अध्यक्ष ओलीले रुजु गर्ने र असहति हुने पदमा निर्वाचन गरिने बताइएको छ। यद्यपि पदाधिकारी तथा केन्द्रीय सदस्य सर्वसम्मत तरिकाले छनोट गर्ने भन्दै नेताहरू छलफलमै जुटेका छन्।

बिहानैदेखि सहमतिको प्रयास गरिएको भनिए पनि अध्यक्ष केपी ओलीले आफू बसेकै होटलमा पार्टीका विभिन्न नेताहरूसँग छलफल गरेका कारण बन्दसत्र शुरु हुन नसकेको हो। अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयन गर्ने पहल गरिरहेका छन्।

खासगरी अध्यक्ष पदका लागि भीम रावलले आफ्नो अडान छाडेका छैनन्। यसैबीच एमाले नेता शेरबहादुर तामाङले बन्द सत्र अझै एक घण्टापछि मात्र शुरु हुने बताएका छन्। केन्द्रीय सदस्यहरूको क्लस्टर मिलाउनुपर्ने भएकाले समय लम्बिएको उनले जानकारी दिए।

नेताहरूबीच सहमित जुट्न नसक्दा लम्बिएको बन्द सत्रका कारण महाधिवेशनमा आएका प्रतिनिधहरू हैरान हुन थालेका छन्। दिनभर घाममा बसेर बदाम खाइरहेका थिए भने कोही हाइ काढ्दै एक्लै टोलाइरहेका पनि थिए। कतिपय भने एकापसमा चिनजानमा व्यस्त थिए। घरायसी गफ झिकेर बसिरहेका उनीरहरूको एउटै चाहना थियो-बन्दसत्र चाँडै सकियोस् र पार्टीले नयाँ नेतृत्व पाओस्।

बन्दसत्र हेर्न आएकाहरू फर्किए

बन्दसत्रमा सहभागी हुन आएका भक्तपुर र आसपास जिल्लाका प्रतिनिधिलगायत बन्दसत्र हेर्न आएकाहरू स्थलबाट फर्किन थालेका छन्। यतिबेला बन्दसत्र स्थलमा पनि निकै कम मात्रामा मानिसहरू देखिएका छन्। दिउँसो भेटिउका एक प्रतिनिधिले अर्का प्रतिनिधिको घरमा दुहुनु गाई तथा बाख्रापाठाको मूल्यबारे सोधिरहेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved