फरक मतलाई पनि उम्मेदवार हुन नदिने दाउमा ओली

“हलमा ओलीले नाम वाचन गर्ने र अरूले बलजफ्ति पारित गर्नेतिर लागिएको छ। नभए त निर्वाचन आयोगसँग छलफल, परामर्श गर्नुपर्थ्यो।”

नेपालभ्युज

फरक मतलाई पनि उम्मेदवार हुन नदिने दाउमा ओली

काठमाडौं। नयाँ नेतृत्वका लागि भइरहेको नेकपा (एमाले)को १०औं महाधिवेशनमा केपी ओली विधि र परम्परा नै मिचेर जान लागेको महाधिवेशन प्रतिनिधिहरूले टिप्पणी गरेका छन्।

११ मंसीर (हिजो) साँझ बन्द सत्रमा विष्णु पौडेलले पदाधिकारी र केन्द्रीय समिति सदस्य सबैको नाम प्रस्ताव गर्ने र हलले त्यसलाई पारित गर्ने विधि प्रस्तुत गरेका थिए। भीम रावल र घनश्याम भूसालले त्यो पौडेलको उक्त प्रस्तावप्रति विरोध जनाएका थिए। रावलले बोल्ने मौका पाए पनि ओलीपक्षधर बहुमत प्रतिनिधिहरूले होहल्ला गर्दै विरोध जनाएका थिए। ओलीको प्रस्तावमा फरक मत राख्नेले उम्मेदवारी दिन पाउने भन्दै पौडेलको प्रस्ताव पारित गरिएको थियो।

“तर त्यो सम्भावना पनि कमजोर देखिन्छ”, एक प्रतिनिधिले भने, “हलमा ओलीले नाम वाचन गर्ने र अरूले बलजफ्ती पारित गर्नेतिर लागिएको छ। नभए त निर्वाचन आयोगसँग छलफल, परामर्श गर्नुपर्थ्यो।”

आफूसँग बहुमत प्रतिनिधि भएकै आधारमा ओली पक्षले विधि, प्रक्रिया मिचेर जान खोजेको उनले आरोप लगाए। कूल दुई हजार प्रतिनिधिमध्ये रावल-भूसालपक्षको पाँच सय मात्रै भएको अनुमान छ।

कास्कीका एक प्रतिनिधिले पनि त्यस्तै अवस्था आउन सक्ने संकेत गरे। “निर्वाचनको थोरै पनि सम्भावना हुन्थ्यो भने त उम्मेदवारी दर्ताको प्रक्रिया शुरू हुन्थ्यो”, उनले भने।

निर्वाचन आयोगका संयोजक विजय सुब्बाले कसैले पनि निर्वाचन प्रक्रिया बढाउने सम्बन्धमा छलफल नगरेको नेपालभ्यूजलाई जानकारी दिए।

“अध्यक्ष मण्डलले सुझाएअनुसार प्रक्रिया अगाडि बढ्ने हो। अहिलेसम्म हामीलाई कुनै पनि जानकारी दिइएको छैन”, उनले भने, “सहमतिबाटै टुंग्याउने हो वा निर्वाचनमा जाने हो भनिएको छैन। जुनसुकै तरिकाले गए पनि प्रक्रियाबाटै टुंगो लगाउने हो।”

त्यसो त एमालेका प्रमुख सचेतक विशाल भट्टराईले हिजो भनेकै थिए, “ओलीले बन्द सत्रमा नाम पढ्नुहुन्छ, हामीले ताली बजाएर पारित गर्नेछौं।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved