मेयरको राजीनामा माग्दै जनप्रतिनिधिहरू काठमाडौंमा, फोहोर नउठ्दा जनकपुर दुर्गन्धित

मेयरको राजीनामा माग्दै जनप्रतिनिधिहरू काठमाडौंमा, फोहोर नउठ्दा जनकपुर दुर्गन्धित

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको राजीनामा माग गर्दै उपमहानगरपालिकाकै जनप्रतिनिधिहरू यतिबेला काठमाडौं पुगेका छन्।

जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्न कुनै चासो नदेखाएको भन्दै वडाका जनप्रतिनिधिहरू आरोप लगाउँदै काठमाडौं गएका हुन्।

मेयरको राजीनामा माग गर्दै काठमाडौं जाने जनप्रतिनिधिहरूमा उपमहानगरपालिका वडा नम्बर ३ वडा अध्यक्ष दीपेन्द्र साह, ४ का सुदर्शन सिंह, ७ का जानकीराम साहलगायत २९ जना छन्।

उनीहरूले आज सामान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको वडा नम्बर ३ का वडाध्यक्ष साहले जानकारी दिए।

नगर सरसफाइका लागि मेयरलाई भनेर थाकिसके पनि कुनै सुनवाइ नभएपछि काठमाडौं जान बाध्य भएको वडाध्यक्ष साहले बताए। फोहोर व्यवस्थापनका लागि अहिलेसम्म कुनै पहल नभएको साहको भनाइ छ। भने, “हामी नगरमा दबाब दिएर थाकिसक्यौँ। सफा गर्छाैँ भनेर आश्वासन मात्रै पाइयो, काम हुनै नसकेपछि मेयरको राजीनामा मागेर काठमाडौं आएका हौँ।”

केही दिनअघि मात्र पनि वडा ३, ४ र ७ का अध्यक्षहरूले संयुक्त रूपमा मेयरलाई भेटेर सफाइका लागि दबाब दिएका थिए। उनीहरूले माग सुनुवाइ नभएपछि मेयर साहको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए।

जनकपुरधामको ठूलो तथा ऐतिहासिक विवाहपञ्चमी महोत्सव मुखमै आइसक्दा पनि जनकपुरधाममा फोहोर व्यवस्थापनमा कुनै काम भएको छैन। लामो समयदेखि फोहोर उठ्न नसक्दा धार्मिक नगरी जनकपुरधाम कुरूप र दुर्गन्धित बनेको छ।

सफाइ कर्मचारी कुटिएपछि जताततै फोहोर र दुर्गन्ध

उपमहानगरपालिकाका कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि जनकपुरधाम अहिले फोहोरमय बनेको छ। अहिले फोहोरले गर्दा बजार क्षेत्र सुँगुरहरू खेल्ने र रमाउने स्थल बनेको छ।

सरसफाइ कर्मचारीलाई जनकपुरधाम-४ का वडाध्यक्ष सुदर्शन सिंह र वडासदस्य पंकज मण्डलले केही दिनअघि कुटपिट गरेपछि उनीहरू पाँच दिनदेखि कार्यालयका सम्पूर्ण कामकाज ठप्प पारी आन्दोलनमा उत्रेका हुन्।

उप-महानगरका सरसफाइदेखि लिएर कार्यालयका सम्पूर्ण कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि कार्यालयको पनि सम्पूर्ण कामकाज प्रवाभित बनेको छ।

गत मंगलबार वडा ३, ४ र ७ का वडाध्यक्ष तथा वडासदस्यहरूले नगरको सरसफाइलाई लिएर कार्यालयमा नाराबाजी गर्नुका साथै मेयर साहको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए।

आइतबार सरसफाइ कर्मचारीलाई दुर्व्यवहार गरेका वडाध्यक्ष सिंह र वडासदस्य मण्डलको बचाउमा उनीहरूले नाराबाजी र तालाबन्दी गरेका कर्मचारीहरूको आरोप छ।

गत आइतबार वडाध्यक्ष सिंह र सदस्य मण्डलले दुर्व्यवहार गरेपछि सोमबारदेखि नै कर्मचारीहरूले आन्दोलन गर्ने योजना बनाइरहेको थाहा पाएपछि मंगलबार वडाध्यक्ष दीपेन्द्र साह, सुदर्शन सिंह, जानकीराम साह लगायत वडासदस्यहरूले चोखो बन्न नाराबाजी र तालाबन्दी गरिरहेका सरसफाइ कर्मचारीहरू बताउने गर्छन्।

सरसफाइ कर्मचारी भन्छन्, “गत वर्षको कोरोना कालदेखि यस वर्षसम्म अहोरात्र सरसफाइमा जुट्यौं, जतिबेला राजनीतिकर्मीहरू आफ्ना बालबालिकाहरूसँग चाडपर्वमा रमाइरहेका थिए, त्यतिबेला मेयरले हामीलाई काममा लगाए। मेयर साहबले निर्धारित समयभन्दा बढी काम गर्दा भत्ता दिन्छु भनेका थिए तर आजसम्म एक सुक्को पनि दिएनन्।”

कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापन पत्रसमेत बुझाएका छन्। उनीहरूले बुझाएको ज्ञापनपत्रमा वडाध्यक्ष सुदर्शन सिंह, सदस्य पंकज ठाकुरलाई कारबाही माग गरेका छन्। माग पूरा नभएसम्म काममा नफर्कने उनीहरू अडानमा छन्।

नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति जनकपुरधाम उप-महानगरपालिकाका अध्यक्ष शरद लाभले शुक्रबार विज्ञप्ति जारी गर्दै आइतबारसम्म वडाध्यक्षहरूले आफ्नो गल्ती स्वीकार नगरे सशक्त आन्दोलनको स्वरूपमा परिवर्तन गर्न बाध्य हुने चेतावनी दिएका छन् साथै सेवाग्राहीमा पर्ने असुविधाको जिम्मेवारी समेत वडाध्यक्षहरूलाई लिनुपर्ने बताएका छन्।

उनीहरूको अडानका कारण जनकपुरधामको चोक चोकमा फोहोर यत्रतत्र थुप्रिएको छ। कर्मचारीहरूको अडानले जनकपुरधाम दुर्गन्धित बन्दै गएको छ।

यस्तो स्थितिमा पनि मेयर साह उदासीन बसेकोमा नगरबासीहरू प्रश्नहरू तेर्स्याइरहेका छन्। उनीहरूले नगरप्रमुख कहाँ छन् ? नगरबासीको पीडा कसले बुझ्ने ? जनप्रतिनिधि उहाँकै मातहतको हो ? जस्ता प्रश्न गरेका छन्।

जनकपुरधाम उप-महानगर क्षेत्रको वर्तमान दुर्दशाबाट निकास दिन मेयर साहलाई अग्रसर भई लाग्नुपर्नेमा मौन बस्नु दुःखद् दायित्वविहीनताको संकेत रहेको स्थानीयबासीको समेत आरोप छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved