एमाले महाधिवेशन

एमाले महाधिवेशनमा शीतल निवासको चासो

नेपालभ्युज

एमाले महाधिवेशनमा शीतल निवासको चासो

चितवन। राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पृष्ठभुमि नेकपा एमालेसँग जोडिएको छ। नेकपा एमालेको दशौं महाधिवेशन चलिरहँदा त्यही पृष्ठभूमि जोडिएकैले यो पार्टीप्रति उनको चासो भएको बुझ्न सकिन्छ। तर, उनको चासो यतिमा सीमित छैन।

स्रोतका अनुसार पदाधिकारी कसलाई बनाउने भन्नेमा पनि उनको चासो छ। जस्तोःशंकर पोखरेललाई महासचिवमा बनाउने विषयामा उनको चासो रहेको छ। तर ओलीले त्यो चासो कसरी सम्बोधन गर्लान् ? त्यो हेर्न बाकी छ।

पोखरेल यसअघिको महाधिवेशनमा उपमहासचिवमा पराजित व्यक्ति भएकाले पनि महासचिवमा उनको दाबी नपुग्ने पार्टीका एकथरी नेताको विश्लेषण छ। अर्काथरी शितल निवासको मनसायलाई ओलीले टार्न नसक्ने हुँदा उनको सम्भावना बढी रहेको बताउँछन्।

ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उनको सचिवालयमा रहेर काम गरेका एक व्यक्ति भन्छन्, “पार्टीको नेतृत्वदायी भूमिकामा रहिसक्नुभएकी राष्ट्रपति भण्डारीको पार्टीको महाधिवेशनमा भूमिका रहन्छ नै,” ती व्यक्ति भन्छन्, “कतिपय अवस्थामा उहाँको सुझावले पनि नेतृत्व चयनमा काम गर्ने देखिन्छ।” महाधिवेशनकै सिलसिलामा केही नेताले चितवन झर्नुपूर्व राष्ट्रपतिलाई भेटेका थिए।

यस विषयमा महासचिवका अर्का आकांक्षी सुरेन्द्र पाण्डेसँग नेपालभ्यूजले राखेको प्रश्नमा भनेका थिए, ‘राष्ट्रपतिसँगको सबै भेटघाट महाधिवेशनलाई लक्षित नहुन सक्छन्। राष्ट्रप्रमुखसँग भेट गर्ने सन्दर्भ धेरै हुनसक्छ, भेटघाटलाई महाधिवेशनसँग जोड्नु उपयुक्त हुँदैन।’

बालकोटले आफूलाई १० औँ महाधिवशेनपछि बन्ने पदाधिकारी र केन्द्रीय सदस्यको सूचीमा राख्ने सम्भावना नदेखेका अथवा आफ्नो स्थान पक्का गर्ने उद्देश्यले पार्टीका मानिस शितल निवास धाएको बुझिएको छ।

शनिबारको बन्दसत्र शुरु हुनुअघि नै गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृश्वी सुब्बा गुरुङलगायत टोलीले पार्टी अध्यक्ष ओलीसँग भेटवार्ता गरेको थियो। भेटघाटमा उनीहरूले पार्टीको लाभको पद ईश्वरले पाउने र उनको गल्तीको अपजस पार्टीले बोक्नुपरेको आरोप लगाएका थिए। गुरुङलगायत टोलीले पार्टीभित्रको समानुपातिक प्रतिनिधित्वको सुनिश्चिता गर्न पनि वरिष्ठ उपाध्यक्ष पद नेम्वाङलाई दिनुपर्ने सुझाव अध्यक्ष ओलीलाई दिएका थिए।

“पार्टीको जिम्मेवार पदमा यसअघि नेम्वाङ नरहेकाले उहाँ नेतृत्वमा आउँदा नयाँ अनुहार आउँछ,” ओलीसमक्ष नेम्वाङ निकटस्तले भनेको कुरा उद्धृत गर्दै भेटघाटमा सहभागी एक नेताले बताए।

यसैबीच बिहीबार बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकमा ओलीले नेम्वाङ वरिष्ठ उपाध्यक्ष पदको दाबी छोड्न आग्रह गर्दै पार्टीले अवसर प्राप्त गरेको अवस्थामा राष्ट्रपति बनाउने आश्वासन दिएका थिए। ओलीको आश्वासनलाई नकारेका नेम्वाङले वरिष्ठ उपाध्यक्षमा नै आफ्नो दाबी रहेको बताएका थिए। यद्यपि, सहमति बन्ने अवस्थामा आफू त्यसको बाधक नबन्ने समेत उनले बताएका थिए।

नेम्वाङको आशय सहमतिमा चयन हुने पदाधिकारी र केन्द्रीय सदस्यलाई अप्ठेरो नपार्ने रहेको ओली पक्षको बुझाइ देखिन्छ। यस्तो अवस्थामा ओलीले आइतबार जुन जुन नाम सहमतिका लागि प्रस्ताव गर्छन् त्यसमा नेम्वाङलाई आपत्ति नहुने ओली पक्षको बुझाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved