भारतमा कोभिड संक्रमण फैलिन नदिन उच्च सतर्कता

दक्षिण अफ्रिकाबाट मुम्बई आउनेलाई क्वारेन्टाइनमा राखिँदै

नेपालभ्युज

भारतमा कोभिड संक्रमण फैलिन नदिन उच्च सतर्कता

भारतले दक्षिण अफ्रिकाबाट फर्केका प्रत्येक व्यक्तिलाई मुम्बई आइपुगेपछि क्वारेन्टाइनमा राख्ने भएको छ। साथै उनीहरुको स्वाब परीक्षण पनि गरिने त्यहाँको सरकारले तयारी गरेको छ।

दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्टका कारण यो निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मुम्बईका मेयर किशोरी पेडनेकरले शनिबार यी सावधानीका उपायहरूबारे जानकारी दिएका दिएका हुन्। मुम्बईको बृहनमुम्बई महानगरपालिकाले आज साँझ यसै विषयलाई लिएर राज्यका वरिष्ठ अधिकारीहरू संलग्न हुनेगरी बैठक पनि बोलाएको जनाएको छ।

यही समयमा गुजरात सरकारले पनि दक्षिण अफ्रिकालगायत धेरै देशहरूबाट राज्यमा आउनेहरूका लागि आरटी पीसीआर परीक्षण अनिवार्य गरेको छ। ती देशहरूमा यूरोप, बेलायत, ब्राजिल, बंगलादेश, बोत्सवाना, चीन, मौरिसस, न्यूजिल्याण्ड, जिम्बाब्वे र हङकङ छन्।

विश्वभर पुनः नयाँखाले कोरोना भाइरस फैलिएको भन्दै कतिपय देशहरूले यात्रामाथि प्रतिबन्ध लगाइसकेका छन्। यही हप्ताको शुरुमा दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेपछि यूरोपेली र पूर्वी एशियाली देशहरूले यात्रा प्रतिबन्ध लगाएका छन्।

विश्व स्वास्थ्य संगठनले ‘जोखिमका आधारमा र वैज्ञानिक तरिकाले’ अनुसन्धान गर्ने भन्दै यात्रा प्रतिबन्ध नलगाउन कडा चेतावनी दिँदादिँदै पनि बेलायत, जापान र नेदरल्याण्डले दक्षिण अफ्रिका, बोत्सवाना, नामिबिया, जिम्बावे, इस्वतीनी (पुरानो स्वाजिल्याण्ड) र लेसोथोबाट आउने विमानमा प्रतिबन्ध लगाएका हुन्।

सिंगापुर, इटाली र इजरायलले त ती देशलगायत मोजाम्बिकलाई खतराको सूचीमा पनि राखिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved