एमालेमा भएन सहमति, शुरु भयो बन्दसत्र

नेम्वाङनिकट एक नेताका अनुसार भीम रावलले अध्यक्षमा छाडेमा उनी पछि हट्न तयार हुनसक्छन्। तर पोखरेलका लागि वरिष्ठ उपाध्यक्ष छाड्ने पक्षमा उनी छैनन्।

नेपालभ्युज

एमालेमा भएन सहमति,  शुरु भयो बन्दसत्र

चितवन। नेकपा एमालेको १० औँ महाधिवेशनअन्तर्गत आज तय भएको बन्दसत्र साढे तीन घण्टा ढिलो गरी शुरु भएको छ। शनिबार विहान १० बजे बन्दसत्र शुरु गर्ने तयारी गरिएकोमा नयाँ नेतृत्वका आकांक्षीबीच सहमति जुट्न नसक्दा ढिलाइ भएको हो।

नेकपा अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि आफूनिकट नेताहरूसँग विहानैदेखि छलफल गरेका थिए। नयाँ नेतृत्वका लागि आज हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा सुबास नेम्वाङ र ईश्वर पोखरेलले उम्मेदवारी दिने तयारी गरेकोमा विष्णु पौडेल र शंकर पोखरेल महासचिवमा उठ्ने तयारीमा छन्।

ओलीले नेम्वाङलाई उपराष्ट्रपति बनाउने आश्वासन दिएकोमा नेम्वाङले उक्त प्रस्ताव अस्वीकार गरे। नेम्वाङनिकट एक नेताका अनुसार भीम रावलले अध्यक्षमा छाडेमा उनी पछि हट्न तयार हुनसक्छन्। तर पोखरेलका लागि वरिष्ठ उपाध्यक्ष छाड्ने पक्षमा उनी छैनन्।

प्रतिनिधिसभा विघटनताका नेम्वाङ खुलेर नबोलेका कारण ओली स्वयं पनि नेम्वाङप्रति सकारात्मक छैनन् भने ओलीका विश्वासपात्र मानिएका पोखरेललाई उपाध्यक्ष बनाउने उनको तयारी छ। यस्तै महासचिवका लागि विष्णु पौडेल र शंकर पोखरेललाई सहमति गर्न आग्रह गरिएकोमा दुवै सहमतिका लागि तयार भएनन्।

अहिलेसम्मको अवस्था हेर्दा सहमतिको सम्भावना कम रहेको तर सहमति हुन सक्ने सम्भावना भने कायम रहेको एक नेताले बताए।

अहिलेसम्म ओलीको प्रयास पदाधिकारीमा सहमति गर्दै केन्द्रीय सदस्यमा निर्वाचन गर्ने थियो तर पदाधिकारीमै सहमति जुट्न नसक्दा ‌ओली पक्ष अप्ठ्यारोमा पर्ने देखिएको छ। सहमतिका लागि भएको सिंगो कसरत ‌ओलीको प्रतिद्वन्द्वी छैनन् भन्ने देखाउनका लागि भएको देखिन्छ। यो स्वयं ओली चाहना भएता पनि यसले तलैसम्म व्यवस्थापन गर्नुपर्ने अवस्था आउँछ।

सहमति नजुटेपछि ओली पक्षका कार्यकर्ताले बन्दसत्र परिषदबाहिर ओलीको पक्षमा नारा लगाएका थिए।

यता अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका एमाले उपाध्यक्ष भीम रावल पनि आफूनिकट नेताहरूबीच छलफलमा जुटेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved