तपाईं, म, हामी सबै सुम्निमा हौँ

आत्मा कहिल्यै मर्दैन, शरीर मरेर जान्छ। त्यसैले हामीले आत्मालाई जोगाइराख्नुपर्दैन । आत्माको संरक्षण जरुरी छैन। शरीर क्षणभंगुर छ। मरेर जान्छ। त्यसकारण माया गर्नुपर्छ। शरीरको जतन गर्नुपर्छ र उमेर अनुसार भोग्दै जानुपर्छ।

तपाईं, म, हामी सबै सुम्निमा हौँ

मलाई बीपी कोइरालाको सुम्निमा सर्वाधिक मन परेको पात्र हो। यसको कारण के हो भने सुम्निमा शरीरवादी हुनु। सुम्निमा शरीरवादी हुन्छे, सोमदत्त आत्मावादी। यिनीहरु बाल्यकालदेखि नै एकअर्कालाई प्रेम गर्छन्। ठूलो हुँदै जान्छन्। सोमदत्त ब्राम्हणको छोरा, हामी शरीरको पछि लाग्नुहुँदैन, शरीर भनेको पाप हो, क्षणभंगुरता हो, हामी त आत्माको पछि लाग्नुपर्छ भन्छ। आत्मा अमर छ, पवित्र छ, सँधैं रहिरहन्छ त्यसैले आत्माको पछि लाग्नुपर्छ भन्ने उसको मान्यता छ।

सोमदत्तलाई सुम्निमाले भन्छे- तिमीले भनेको कुरा एकदमै ठीक हो, आत्मा कहिल्यै मर्दैन, शरीर मरेर जान्छ। त्यसैले हामीले आत्मालाई जोगाइराख्नुपर्दैन । आत्माको संरक्षण जरुरी छैन। शरीर चाहिँ क्षणभंगुर छ । मरेर जान्छ। त्यसकारण माया गर्नुपर्छ। शरीरको जतन गर्नुपर्छ र उमेर अनुसार भोग्दै जानुपर्छ।

शरीरलाई माया गर्ने सुम्निमाको जुन तरीका छ त्यो मलाई मन परेको हो।

सुम्निमाको आत्मा हामी थाहा पाउँदैनौँ, नजोगाउँदा पनि जोगिने आत्माको संरक्षण के जरुरी ? त्यसैले आत्माको पछि लाग्नुहुँदैन, जीवनलाई बाँच्नुपर्छ भन्ने मान्यता छ।

सुम्निमा शरीरवादी छ। ऊ प्रेमवादी छ । भोगवादी छ । भोगेर मात्रै जीवनलाई रित्याउन सकिन्छ, नभोगी जीवन रित्तिदैन भन्छे। किनभने हाम्रो शरीर एकतर्फी छ। हामी बच्चा हुन्छौँ, जवान हुन्छौँ, बूढो हुन्छौँ। फेरि एउटा बूढो मान्छे जवान हुँदैन। त्यही कारण बाल्यकालमा बच्चा नै हुने हो, जवान हुँदा जवानी भोग्ने हो। बच्चाले चकचक गरेन भने त्यो बाल्यकालै भएन।

तर सोमदत्त उसको प्रिय दर्शन र ज्ञानका कारण ऊ थिच्चिएको छ। उसको आत्मा दर्शनका कारण ऊ कुण्ठित छ। भेगेर मात्रै जीवन सन्तुष्ट हुन्छ भन्ने सुम्निमाको दर्शनबिमूख छ। विवाहित सोमदत्त पत्नी पुलोमासँग सम्बन्ध राख्दा पनि गाईको गोबरले लिपेर सुशासनमा बसेर शास्त्रसम्मत अनुष्ठानअनुसार यौनसम्पर्क राख्छन्।

तर प्रेमबिना यौनमिलन मात्रैले कुण्ठा र विकृतिको विकास हुने तथा पूजापाठ एवं आध्यात्मिक आचरणको आडम्बरले भौतिकता बिर्सिन खोजेमा सुख शान्ति मिल्दैन भन्ने यसमा देखिन्छ। सोमदत्त कहिल्यै खुशी हुन सकेको छैन, न पत्नी पुलोमा। उता सुम्निमा सँधै आनन्दित छ। शरीर भोगिरहेकी छ।

र अन्ततः सोमदत्त पनि सुम्निमाकै कुरा स्वीकार्न बाध्य हुन्छ। सन्तानप्राप्तिका लागि कयौँ मिहिनत गर्दा पनि शरीरलाई भोग्ने विषयबाट टाढा रहँदा न सन्तान प्राप्त हुन सकेको छ न उनीहरुले आनन्द नै लिन सकेका छन्। एकदिन ऊ कुनै अनुष्ठानबिना सुम्निमालाई सम्झिएर कामुक भएर पुलोमासँग सम्बन्ध राख्छ, सुम्निमालाई सम्झिएर ऊ कामुक हुन्छ। उता पुलोमा भिल्ल पुरुष सम्झिएर भोग गर्छे र अन्ततः उनीहरुको बच्चा जन्मिन्छ।

यसको मुख्य सार जीवन आफ्नै तरीकाले चल्छ, शास्त्रले चल्दैन भन्ने हो। जीवन उमेर अनुसार चल्न दिनुपर्छ। आफूभित्रको जैविक इच्छाले चलाउनुपर्छ। सोमदत्त ज्ञान अनुसार चल्छ, सुम्निमा प्रकृति। ज्ञान अनुसार होइन प्रकृति अनुसार चल्नुपर्छ भन्ने जुन उसको मान्यता छ त्यो मलाई मन पर्छ। त्यसकारण सुम्निमा जीवनवादी हो, प्रकृतिवादी हो, भोगवादी पनि हो। जीवनलाई भोगेर रित्याउनुपर्छ भन्ने मान्यता राख्छे।

हुन त यो कथा उत्तिकै आलोचना पनि भएका छन्। सुम्निमा किराँत मिथ हो। तर मुन्धुममा वर्णित सुम्निमासम्बन्धी मिथको यो स्वैरकल्पना मात्रै हो भन्ने मलाई लाग्छ। सुम्निमालाई किराँत धर्मावलम्बीले देवी मान्ने हुँदा जुन किसिमले कथा प्रस्तुत गरिएको छ, त्यो एउटा बहसको विषय हो। तर एउटा लेखक सबै विषयमा सचेत हुन्छ, सबै समयलाई सम्बोधन गर्न सक्छ भन्ने हुँदैन। बीपीको कथामा सुम्निमा सामान्य मान्छे हुन्।

मैले सुम्निमालाई मानव पाात्रको रुपमा हेरेँ, जैविक पात्रको रुपमा हेरिनँ। जसरी राधामा कृष्ण धरावासीले पनि कृष्णलाई सामान्य पात्रका रुपमा चित्रण गरेका छन्। त्यसैगरी सुम्निमालाई देवीको रुपमा नभएर सामान्य मान्छेका रुपमा चित्रण गरिएकाले सान्दर्भिक लाग्छ।

कति पात्र यथार्थवादी हुन्छन् भने कति सांकेतिक। सुम्निमा त्यही सांकेतिक पात्र हो। सुम्निमा जस्तै छुट्टै पात्र हाम्रो समाजमा त पाइन्न। उपन्यासले एउटा संसार निर्माण गर्छ, एउटा समाज बनाउँछ। त्यसैगरी कोशी नदी किनारको जंगलको परिवेशमा बीपीले नयाँ संसार निर्माण गरे। यसको लाक्षणिक अर्थ के हो भन्ने महत्वपूर्ण हो। यसको व्यङ्ग्यात्मक अर्थ हाम्रो समाजसँग मिल्छ। जस्तो कि काफ्काको मेटामोर्फोसिस उपन्यासमा पात्र किरामा रुपान्तरण हुन्छ। त्यो प्रतीकात्मक पात्रले जसरी अहिलेको समाज, कर्मचारीतन्त्र, काम गर्ने शैली र बाँचिरहेको जीवनमाथि व्यंग्य गरेको छ। त्यसैगरी प्रकृतिवादी देखाउन सुम्निमालाई त्यो कथामा त्यसरी देखाएको हुनुपर्छ भन्ने मलाई लाग्छ।

यस कथामा सुम्निमा लुगासम्म लगाउँदिन। त्यही भएर प्रकृतिवादी भनेको हो। पहिले लुगा थिएन, पछि आविस्कार भएको हो। जस्तो चरा प्रकृतिवादी हुन्छ। उसले लुगा पनि लगाउँदैन। उसको धर्म पनि हुँदैन। चराको देश पनि हुँदैन। चराको संस्कृति, भूगोल र राजनीति पनि हुँदैन। उनीहरु प्रकृतिअनुसार चल्छन्।

सुम्निमा प्रकृतिको विम्वमा प्रस्तुत गरिएको छ। त्यसकारण सहमत असहमतभन्दा पनि मिथको सहाराले सुम्निमालाई प्रकृतिवादी भनेर लेखकले जुन प्रतीक प्रस्तुत गरेका छन्, त्यो मलाई एकदमै मन परेको हो।

मलाई लाग्छ हामी सबै सुम्निमा हौं। तपाईं, म, हामी सबै सुम्निमा हौँ। हामी केटाकेटीमा केटाकेटी नै थियौँ, किशोरावस्थामा किशोर र जवानमा जवान नै भयौँ। अहिले र बच्चामा हामी एउटै थिएनौँ।

भगवान् बुद्ध पनि केटाकेटीमा केटाकेटी जस्तै थिए। सुम्निमा थिए। उमेर अनुसार उनको गुण र स्वभाव परिवर्तन भयो। त्यसैले सुम्निमा कालजयी उपन्यास हो। यहाँबाट हामी भाग्न सक्दैनौँ। उसो त सोमदत्तहरु पनि हाम्रै समाजमा हुन्छन्। तर उनीहरुभित्र सुम्निमा हुन्छ। सोमदत्त जहिल्यै सुम्निमासँग हारिरहेको हुन्छ। प्रत्येक सोमदत्त सुम्निमासँग हारिररहेका छन्।

प्रस्तुति: काशीराम बजगाई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved