३० करोड रुपैयाँ छलेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर

३० करोड रुपैयाँ छलेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं। राजश्व अनुसन्धान विभागले झण्डै ३० करोड बिगो बराबरको राजश्व छली गरेको आरोपमा विभिन्न फर्मका सञ्चालक तथा यसका सहयोगीविरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

यसरी मुद्दा चलाइएकामा बाराको सिमराका उज्ज्वल ट्रेड कन्सर्नका सञ्चालक रामबाबुप्रसाद यादव, सोही ठाउँको दिव्या ट्रेड कन्सर्नका सञ्चालक सरोज मण्डल, टोनी कन्सर्न ट्रेडका सञ्चालक शान्तिराम सिटौला तथा सहयोगी प्रदीप साह छन्।

विभागले उक्त राजश्व रकम असुल गरी राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम हदैसम्मको जरिवाना तथा कैद सजायको माग गरेको छ।

उनीहरूमाथि मिलेमतोमा वस्तु तथा सेवाको कारोबार नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि करको बिजक मात्र जारी गरी राजश्व छली गरेको विभागको आरोप छ। उनीहरूले मूल्य अभिवृद्धि करतर्फ नौ करोड १९ र आयकरतर्फ २० करोड अन्ठाउन्न लाख ७५ हजार रुपैयाँ राजश्व छली गरेको पाइएको विभागले आज एक विज्ञप्ति जारी गरी जनाएको छ।

दर्तावाल लेखापरीक्षक त्यहाँको चन्द्रनगर गाउँपालिका-७ नादीका आरवी शाह एन्ड एसोसिएट्सका सञ्चालक रामबावु साहमाथि उक्त फर्मको गलत लेखापरीक्षण प्रतिवेदन तयार गरी राजश्व छलीमा मतियारको काम गरेको आरोप छ।

शाहलाई राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसमेत) बमोजिम मुख्य प्रतिवादीलाई हुनेभन्दा आधा सजाय माग दाबी गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved