एडीबीले सात अर्ब ऋण दिने

एडीबीले सात अर्ब ऋण दिने

काठमाडौं। एसियन विकास बैंक (एडीबी)ले नेपालको विद्युतीय प्रणालीको सुधार एवम् आधुनिकीकरणका लागि सात अर्ब आठ करोड रुपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयमा आज (शुक्रबार) आयोजित ऋण सहायतासम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका कन्ट्री डिरेक्टर अर्नड काउचिसले हस्ताक्षर गरे।

नेपालको विद्युत् प्रणालीको विकास र विस्तारका लागि एडीबीले निरन्तर सहयोग उपलब्ध गराउँदै आएको सन्दर्भमा आजको ऋण सहयोग अर्को महत्वपूर्ण रहेको छ। ऋण सहयोगबाट नेपालगञ्जदेखि कोहलपुरसम्म १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ। यस्तै काठमाडौं उपत्यकाको विद्युत् प्रणालीमा महत्वपूर्ण मानिएको चोभारदेखि लगनखेलसम्मको प्रसारण लाइन निर्माण हुनेछ।

त्यस्तै ऋण सहयोगबाटै दुुम्किवास, लगनखेल, नेपालगन्ज र मुलपानीमा अत्याधुनिक सबस्टेशन निर्माण गरिने छ। त्यससम्बन्धी आवश्यक तयारी भइसकेको प्राधिकरणले जनाएको छ। अर्थसचिव मरासिनीले प्रसारण लाइनको विस्तारले विद्युत्को माग तथा उत्पादन बढाउनसमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले आन्तरिकरूपमा बिजुली उत्पादन बढ्दै जाँदा व्यापार घाटा कमसमेत गर्न सहयोग पुग्ने उल्लेख गरे।

कार्यक्रममा एडीबीका देशीय निर्देशक अमुद काउचिसले ऋण सहयोगले नेपालको उत्पादित विद्युत्को प्रसारणका अतिरिक्त गुणस्तरमासमेत वृद्धि हुने बताए। नेपालको विद्युत् वितरण प्रणालीमा सुधार, प्रसारण लाइन विस्तार साथै विद्युत् उत्पादनसमेतमा वृद्धि गर्ने लक्ष्य लिइएको छ। काठमाडौं उपत्यकाको भूमिगत प्रसारण लाइन निर्माणसमेतमा एडीबीले नै ऋण सहायता उपलब्ध गराएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved