वरिष्ठ उपाध्यक्षमा तीन ‘हेभिवेट’को भीडन्त, कसले मार्ला बाजी ?

नेकपा (एमाले) को दशौं महाधिवेशनमा यी तीन नेता वरिष्ठ उपाध्यक्ष पदका लागि कस्सिएका छन्। विधान महाधिवेशनले किन वरिष्ठ उपाध्यक्ष पद सिर्जायो? यसबारेको चर्चा।

वरिष्ठ उपाध्यक्षमा तीन ‘हेभिवेट’को भीडन्त, कसले मार्ला बाजी ?

काठमाडौं। केपी ओली नै अध्यक्ष पदमा दोहोरिने भएपछि वरिष्ठ उपाध्यक्षमा कसले बाजी मार्ला भनेर चासो चुलिएको छ।

भोलिदेखि चितवनमा हुने एमाले दशौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष नयाँ पद हो। यसअघि उपाध्यक्ष पदमात्र थियो। जुन पदका लागि तीन ‘हेभिवेट’ कस्सिएका छन्। महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भूसाल र पूर्वसभामुख एवं स्थायी समिति सदस्य सुवासचन्द्र नेम्बाङ।

वरिष्ठ उपाध्यक्षमा पोखरेल, भूसाल र नेम्बाङमध्ये को बन्ला ? विस्तार गर्नुअघि एमाले विधान महाधिवेशनले किन वरिष्ठ उपाध्यक्ष पद सिर्जायो? यसबारे थोरै मन्थन गरौँ।

वरिष्ठ उपाध्यक्ष

एमालेले गएको असोज (१५-१७)मा गोदावरीमा विधान महाधिवेशन गर्‍यो। विधान महाधिवेशनमा देशभरका अगुवा कार्यकर्ता र नेताका १० समूहले अलगअलग छलफल गरे। छलफल गर्न हलमा बाँडिएको प्रस्ताबमा वरिष्ठ उपाध्यक्ष थिएन।

“प्रायः सबै समूहले वरिष्ठ उपाध्यक्षको व्यवस्था गर्न सुझाए,” एमाले केन्द्रीय सदस्य विष्णु रिजालले भने, “त्यसपछि अध्यक्ष (केपी ओली) र संगठन विभाग प्रमुख (विष्णु पौडेल)ले छलफल गर्नुभयो। पछि वरिष्ठ उपाध्यक्षको व्यवस्था भयो।”

एमालेले यसअघि वरिष्ठ उपाध्यक्षको अभ्यास भने गरेको थियो। वामदेव गौतम वरिष्ठ उपाध्यक्ष थिए। गौतमलाई एक नम्बरको उपाध्यक्ष अर्थात् वरिष्ठ उपाध्यक्षकै व्यवहार गरिएको थियो।

उपाध्यक्षको चुनावमा सबभन्दा बढी भोट लिएर भीम रावल विजयी भएका थिए। मर्यादा क्रममा गौतमपछि क्रमशः विद्या भण्डारी, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल थिए। नाम वरिष्ठ उपाध्यक्ष नभए पनि अभ्यासमा हुँदाहुँदै किन उपाध्यक्षमा वरिष्ठ थपियो त? नेता व्यवस्थापनकै लागि थपिएको हो। एमालेमा नेताहरूको चाङ ठूलो र अवसर थोरै भएपछि व्यवस्थापनको लागि वरिष्ठ उपाध्यक्ष पद सिर्जिएको हो। एकथरी एमाले नेताले वरिष्ठ उपाध्यक्ष पद नै ईश्वर पोखरेलका लागि सिर्जिएको दाबी गरे।

“पछि थपेर वरिष्ठसहित पाँच जना उपाध्यक्ष बनाउने भयो,” एमाले केन्द्रीय सदस्य सूर्य थापाले भने, “ईश्वर पोखरेललाई मध्यनजर गरेर यो वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिएको हो। दुईपालि महासचिव भएपछि जाने त कि अध्यक्षमा हो कि वरिष्ठ उपाध्यक्षमा।”

एमालेको नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको अधिकार र कर्तव्य यस्तो छः

वरिष्ठ उपाध्यक्षका अधिकार र कर्तव्यः

क. अध्यक्षको काममा आवश्यक सहयोग गर्ने,
ख. अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने कार्य गर्ने,
ग. अध्यक्षले प्रत्यायोजन गरेका कार्यहरू गर्ने,
घ. केन्द्रीय कमिटी, स्थायी कमिटी र केन्द्रीय सचिवालयले तोकेका अन्य कार्यहरू गर्ने

उपाध्यक्षका अधिकार र कर्तव्य

क. अध्यक्षको काममा आवश्यक सहयोग गर्ने,
ख. अध्यक्षले प्रत्यायोजन गरेका कार्यहरू गर्ने,
ग. केन्द्रीय कमिटी, स्थायी कमिटी र केन्द्रीय सचिवालयले तोकेका कार्य गर्ने।

उपाध्यक्षभन्दा वरिष्ठ उपाध्यक्षलाई थप एउटा अधिकार बढी छ। त्यो हो, अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने कार्य गर्ने। मर्यादाक्रममा अध्यक्षपछि वरिष्ठ उपाध्यक्ष त हुँदै हो, त्यतिमात्र नभई अध्यक्ष नहुँदा अध्यक्षकै काम गर्न पाइने भएपछि नेताहरूले वरिष्ठ उपाध्यक्ष ताकेका हुन्।

ईश्वर पोखरेल नै किन?

पोखरेलले वरिष्ठ उपाध्यक्षमा किन दाबी गरे ?

एक, पोखरेल दुईपालि एमाले महासचिव भए। बुटवल आठौं महाधिवेशनबाट झलनाथ खनाल प्यानलबाट उनी महासचिव चुनिएका थिए। काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनमा भने ओली प्यानलबाट महासचिवमा दोहोरिएका थिए। कार्यकारी पदमा ह्याट्रिक गर्न विधानले निषेध गरेको छ।

कार्यकारी पदमा दुई अवधिमात्र बस्न पाउने एमाले विधानले भन्छ। त्यसैले पोखरेल अब महासचिव बन्न पाउँदैनन्। उनका लागि अब उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष र अध्यक्ष पद बाँकी छन्। अध्यक्षमा ओली नै दोहोरिने भएपछि आँखा लाउनै भएन। त्यसैले पोखरेलको आँखा वरिष्ठ उपाध्यक्षमा परेको हो।

पोखरेलनिकट त पोखरेलकै लागि वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिएको दाबी गर्छन्।

दुई, दुईपालि महासचिवको अनुभवले भन्छ, एमालेको संगठन चलाउन सक्ने ल्याकत पोखरेलसँग छ।

तीन, अध्यक्षको अनुपस्थितिमा पार्टी चलाउने वरिष्ठ उपाध्यक्षले हो। महासचिव चलाएको अनुभवले अध्यक्ष अभावपूर्ति होला।

चार, पोखरेलका लागि यो अन्तिम मौका हो। एमाले अध्यक्ष हुन नपाए पनि ‘वरिष्ठ उपाध्यक्ष’ भएँ नि भनेर यो ‘मन बुझाउने बाटो’ हुन सक्छ।

सुवासचन्द्र नेम्बाङ

नेम्बाङले किन वरिष्ठ उपाध्यक्ष ताके ?

एक, सभामुख भएर संसद् चलाएको अनुभव छ।

दुई, जनजाति समुदायको जनमत पाउन ओलीले नेम्बाङलाई रोज्न सक्छन्। पदाधिकारीमा पनि वरिष्ठ उपाध्यक्षमै नेम्बाङलाई चुन्दा एमाले आदिवासी जनजातिमैत्री हो भन्ने सन्देश जान सक्छ। एमाले नेतृत्वलाई पार्टी समावेशी देखाउनुपर्ने चुनौती जो छ।

तीन, मृदुभाषी नेम्बाङ व्यवस्थापकीय कलामा गनिएका छन्।

चार, नेम्बाङ ओली कोटरीकै हुन्। जो अहिलेको लागि एमालेमा सबभन्दा सबल र ठूलो गुण मानिन्छ।

छ, नेम्बाङको पनि यो अन्तिम मौका हो। उनलाई पनि पोखरेलको जस्तै वरिष्ठ उपाध्यक्षको चाह पूरा गर्नुछ।

घनश्याम भूसाल

किन भूसाल वरिष्ठ उपाध्यमा कस्सिए ? उनको अपिल नै काफी त छ।

एक, एमाले उपमहासचिव ६१ वर्षीय भूसाल पढालेखा र बौद्धिक नेता मानिन्छन्। भलै, बौद्धिक समाजमा भूसालले बटुलेको वाहवाही ओली नेतृत्व सरकारमा कृषिमन्त्री हुँदा घटेको किन नहोस्।

दुई, भूसाल ‘ओली गोत्र’का होइनन्। भूसाल नवौं महाधिवेशनमा माधव नेपाल प्यानलबाट उपमहासचिव चुनिएका थिए। उनी त नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गर्दा एमालेमै रहेका १० मध्ये एक हुन्।

तीन, सांकेतिक रूपमा भए पनि भूसालको दाबीले एमाले महाधिवेशनमा ‘अर्थ’ राख्छ।

नेम्बाङ र पोखरेलका समानता

वरिष्ठ उपाध्यक्ष दाबेदार नेम्बाङ र पोखरेलमा मिल्ने धेरै कुरा छन्। ती हुन्ः

एक, उमेर। नेम्बाङ ६९ पुगे भने पोखरेल ६८। दुवैका लागि यो महाधिवेशन मरौतीको महाधिवेशन हो। अर्थात् एमाले ११ औं महाधिवेशनमा भाग लिन ७० वर्षे उमेर हदले दुवैलाई छेक्छ।

दुई, आईजीपी हुन नपाई अवकास पाउने एआइजीजस्तै हुन्, नेम्बाङ र पोखरेल। अर्थात् एमाले अध्यक्ष नबनी दुवै सक्रिय राजनीतिबाट बाहिरिनेछन्।

तीन, नेम्बाङ र पोखरेल दुवै ओली समूहका हुन्।

बाजी कसले मार्ला त?

वरिष्ठ उपाध्यक्षमा जतिले घोषणा गरेका छन्, ती सबै चुनावी मैदानमा पुग्लान् त? कि घुर्क्याइँ मात्र हो? भूसाललाई वरिष्ठ उपाध्यक्ष दिन ओली दाहिना होलान् त? यसै भन्न गाह्रो छ। चुनावमै भूसाल होमिएछन् भने पनि महाधिवेशनको चुनावी गणित भूसाल अनुकूल देखिन्न। तर, ओली कोटरीकै नेताहरूले दाबी गरेका छन्। के ती पनि भिड्लान् एकापसमा?

“अहिले जति ओली निकटकाले दाबी गरेका छन्, ती सबै त ओलीले ‘वर्ड’ नदिएकाले मात्र हो। भोलि जसलाई उनले हुन्छ भन्छन्, ती नै हुने हुन्,” एक एमाले नेताले भने।

ईश्वर र सुवास वरिष्ठ उपाध्यक्षमा भिड्ने छैनन्। चुनाव नै भएछ भने पनि पोखरेल वा नेम्बाङ उठ्नेछन्। ती दुईमध्ये एकसँग भूसाल भिड्नेछन्।

“आधिकारिक उम्मेदवार पोखरेल नै हुन्। दुवै एउटै पदमा उठ्दैनन्। चुनाव नै भए भने पोखरेल वा नेम्बाङसित भूसालको होला,” राजनीतिक विश्लेषक झलक सुवेदीले भने। के पोखरेलकै लागि पद सिर्जना गरिएको हो? के उनले नै हात पार्लान् त वरिष्ठ उपाध्यक्ष पद? विगत हेर्ने हो भने आशंका गर्ने ठाउँ भने छ। त्यो हो, ओलीले यसअघि पोखरेललाई दुई पटक बेवास्ता गरे।

एक, एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा छानाखानाको महासचिव पोखरेललाई विश्वासपात्र एवं उपमहासचिव विष्णुप्रसाद पौडेललाई पार्टी महासचिव दिलाए।

दुई, आफ्नो नेतृत्वको सरकारमा पोखरेललाई ओलीले मालदार मन्त्रालय दिएनन्। उनै पौडेललाई अर्थमन्त्री बनाए। उपप्रधानमन्त्री पोखरेललाई अन्त्यमा ‘प्रधानमन्त्री कार्यालय’मा थन्क्याए। त्यसैले ओलीले वरिष्ठ उपाध्यक्षमा पोखरेललाई देलान् त? यसै भन्न सकिन्न। विगतका नजिर ओलीले दोहोर्‍याए भने नेम्बाङलाई वरिष्ठ उपाध्यक्ष पद हात पर्न सक्छ।

एकथरी एमाले नेता भने एमाले महाधिवेशनमा नेतृत्व चयन गर्न चुनाव होला भन्नेमा आशंका गर्छन्। ओलीलाई पदाधिकारी र केन्द्रीय समिति छान्ने जिम्मा दिएर प्रतिनिधिहरूले ‘ताली बजाउने’ मात्र पनि हुन सक्ने बताउँछन्।

“ओलीलाई जिम्मा दिन पनि सक्छ। ओली नै केही वरिष्ठ नेतासँग सल्लाह गरी पदाधिकारी, केन्द्रीय सदस्य घोषणा गर्ने पनि हुन सक्छ,” केन्द्रीय सदस्य थापाले भने। उनले यसबाहेक थप दुई विकल्प पनि सुनाए। एक, सबै सर्वसम्मत हुन्छ। दुई, पदाधिकारी सर्वसम्मत भए केन्द्रीय सदस्यको चुनाव हुन सक्छ।

कथंकदाचित चुनाव भयो भने अध्यक्ष ओलीले नै प्यानल बनाउनेछन्। पूर्वमाओवादी र १० मध्येका कसलाई समेटेर लान मन हो ? तिनलाई प्यानलमा सामेल गर्नेछन्। ओलीले पूर्व माओवादी र १० बुँदेवालालाई कति र कुन पद दिने? ओलीको कृपामा भर पर्ने छ। एक नेताले भने, “खगराज अधिकारी, गोकुल बाँस्कोटा, महेश बस्नेतले हारेको ओलीले कसरी देख्लान् त? ओलीले संकेत गर्नेछन्। ओलीले जतिलाई लिन खोजेका हुन्, जोजोलाई लिन खोजेका हुन्, तिनलाई प्यानलमा ल्याउँछन्।”

सर्वसम्मत वा चुनाव नै भए पनि पद हात पार्न ओली नै दाहिना हुनुपर्ने देखिन्छ। रिजालले भने, “सार्वभौमसत्ता जनतामा छ भनेजस्तै एमाले सार्वभौम सत्ता ओलीमा छ। ओलीले जसलाई जे होऊ भने त्यही हुने।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved