राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

नेपालभ्युज

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। मंसिर १५ देखि १७ गतेसम्म तय भएको महाधिवेशनको लागि उनले राप्रपाका नेता धवल शमशेर राणाको प्रस्तावलाई स्वीकार गर्दै अध्यक्षमा उम्मेदवार बन्ने घोषणा गरेका हुन्।

उनले भने, ‘‘नेतृत्व परिवर्तन हुनुपर्छ। हाम्रो पार्टीको नेता कार्यकर्ताको भावनालाई कदर गर्दै उम्मेदवारी घोषणा गरेको छु। मलाई विश्वास छ मेरो जित निश्चित छ।’’

सबै पार्टी कार्यकर्ताहरूको नेतृत्व परिवर्तन नै आकांक्षा भएकाले ढुक्कसँग जित्ने उनको दाबी छ। अहिलेसम्म अध्यक्षमा अध्यक्षत्रय पशुपतिशमशेर जबरा, कमल थापा र डा प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएको आरोप लगाए।

उनले भने, ‘‘कांग्रेस, एमालेलाई असफल हुने सुविधा छ। कम्युनिस्टहरू आफू मात्रै असफल भएका छैनन्। मुलुकलाई नै असफल बनाएका छन्। अरू ठुला पार्टी असफल भएको बेलामा हामी सफल हुनुपर्छ। राप्रपा असफलताले देशको एजेन्डा नै असफल हुन्छ।’’

राजसंस्था पुनःस्थापना, हिन्दु राज्य, संघीयता खारेजसम्मको अभियानलाई धोका हुने भएकाले पार्टीलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ।

नेता लिङ्देनले राप्रपा खिइनु र दुब्लाउनुमा अहिलेको अवस्था भन्दा ठाउँ नरहेको भन्दै राप्रपाको ३१ वर्षको इतिहास असफलताको इतिहास भएको बताए। पार्टी एकीकरण भए पनि अध्यक्ष त्रयले पार्टीलाई नयाँ दिशा र ऊर्जा दिन नसकेकाले वर्तमान नेतृत्वबाट पार्टी अगाडि बढ्न नसक्ने बताए।

आगामी महाधिवेशन पार्टीका नेता कार्यकर्ताको अग्निपरीक्षा भएको उल्लेख गर्दै उनले पार्टीमा रहेको परम्परागत गुटको अन्त्य गर्न आफ्नो उम्मेदवारी रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved