‘गाउँका मान्छे भोकभरीले नमरून् भनेर गुहार माग्न काठमाडौं आएँ’

“अहिले हाम्रो गाउँका मान्छे सातु खाएर बसिरहेका छन्। एक महीनाभित्र खाद्यान्न व्यवस्थापन गर्न नसके भोकमरीले ज्यान जाने अवस्था आउन सक्छ।”

‘गाउँका मान्छे भोकभरीले नमरून् भनेर गुहार माग्न काठमाडौं आएँ’

काठमाडौं। हुम्ला नाम्खा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष पाल्जोर तामाङ ६ मंसीरको साँझपख काठमाडौं आइपुगे।

काठमाडौं शहर घुम्न होइन, आफ्नो गाउँका मानिसको निम्ति खाद्यान्न माग्न। उच्च हिमाली भूगोलका यी जनप्रतिनिधि रहरले होइन बाध्यताले आइपुगेका हुन्, निकै कठीन यात्रा गरेर। खाद्यान्नका लागि उनीहरूले काठमाडौंसम्म आइपुग्न गरेको कष्टसाध्य यात्रा तामाङले यसरी वर्णन गरे-

पाँच हजार मिटर अग्लो उचाईको तीन फिट अग्लो हिउँमा चार दिन हिँडेर सिमकोट आइपुग्यौं। त्यहाँबाट नेपालगञ्जसम्म र नेपालगञ्जबाट हवाइजहाजमा काठमाडौं आइपुग्यौं।

गाउँमा खाद्य सामग्री सकिन लागेपछि त्यसको व्यवस्थापन गर्न नम्खा गाउँबाट ३० जना हिँडेका थियौं। सबैजना काठमाडौं आउन खर्च धेरै लाग्ने भएकाले जनप्रतिनिधीको हिसाबले म मात्रै सिंहदरबारसम्म आइपुगेको छु।

भोकमरीको समस्याले कष्टकर यात्रा तय गरर सिहंदरबारसम्म आइपुगेको हुँ।

नाम्खा उच्च हिमाली भेग हो। त्यहाँ खेतियोग्य जमिन एकदमै कम छ। उवा र आलु मात्र उत्पादन हुन्छ। त्यसले दुई, तीन महीनालाई मात्र खानपुग्छ। हाम्रो वडामा तील, जाङ र हल्जि गरी तीनवटा गाउँ छन्। वडाको जनसंख्या करीब १३ सय छ। तर अहिले भोकमरीको समस्या झेल्ने करीब पाँच सय मात्र छन्।

पहिला चीनको नाका खुला हुँदा भोकमरीको समस्या परेको थिएन। उतैबाट सबै खाद्य सामग्री ल्याइन्थ्यो। गाउँका युवा रोजगारका लागि चीन जान्छन्। उतैबाट आधारभुत सामग्री ल्याइन्थ्यो। तर कोभिड महामारी शुरु भएपछि नाका बन्द भयो। अहिले पनि ६० जना मानिस चीनमा फसिरहेका छन्। उनीहरूले आफ्नो परिवारलाई पनि कमाई पठाउन सकेका छैनन्। क्षमतावान मानिस पनि बेरोजगार छन्।

पोहार साल पनि असोजमा यस्तै समस्या परेको थियो। त्यतिबेला सिमकोटबाट साढे चार सय क्विन्टल चामल लगेका थियौं। अहिलेसम्म त्यही चामल र गाउँकै उवा, आलु खाइरहेका थियौं। त्यो पनि सकिन लागेपछि आएका हौं।

अहिले हाम्रो गाउँका मान्छे सातु खाएर बसिरहेका छन्। एक महीनाभित्र खाद्यान्न व्यवस्थापन गर्न नसके भोकमरीले ज्यान जाने अवस्था आउनसक्छ।

पोहोर साल समस्या परे पनि भोकमरी आइपरेको थिएन। अहिले छिट्टै हिउँ पर्‍यो जसले गर्दा खाद्यसामग्री पुर्‍याउन सकिएन। चीनले राहतस्वरुप पठाएको मैदा पनि हिउँ परेकाले बस्तीसम्म पुर्‍याउन सकिएको छैन।

चीनले दिएको राहत हेलिकप्टरबाट भए पनि बस्तीमा ल्याइदेउ भनेर गुहार माग्न मन्त्रालयमा आइपुगेका हौं। के गर्ने ? हिउँले सबै बाटो पुरिएको छ। हवाई यातायातको विकल्प छैन।

आज गृह र अर्थ मन्त्रालयमा आफ्ना समस्याबारे बताएँ। तत्कालै सम्बोधन हुने आश्वासन पाएका छौं।

हिल्सामा फसेको खाद्यन्नलाई ओसारपसार गर्ने व्यक्ति नभएका कारण केहि दिन लाग्न सक्ने देखिएको छ। खाद्यन्न लिएर मात्र घर फर्किने अठोट लिएको छु। जनतालाई समस्याको समाधान लिएर आउछु भन्ने आश्वासन दिएर आएको छु समाधान लिएर मात्र फर्किने मनसाय बनाएको छु।

अहिले नाकामा फसेको खाद्यान्न गाउँसम्म पुर्‍याउन सके हिउँ परुन्जेलका लागि समस्या टर्ने थियो। बैशाखसम्म हिउँ रहिरहन्छ।

(भागीरथी पण्डितसँगको कुराकानीमा आधारित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved