शिक्षकलाई राजनीति गर्न नदिए पार्टी कमजोर हुन्छ – प्रचण्ड

नेपालभ्युज

शिक्षकलाई राजनीति गर्न नदिए पार्टी कमजोर हुन्छ – प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरूलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताएका छन्।

मंगलबार पार्टीनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरू सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताए।

नेपालका सबै पार्टीलाई जनतामा स्थापित गराउने काम शिक्षकहरूले नै गरेको भन्दै उनले शिक्षकहरूले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको बताए।

शिक्षकहरूलाई प्राविधिक रुपमा अप्ठ्यारो नपर्नेगरी राजनीति गर्ने वातावरण बनाइने पनि प्रचण्डले बताए।

“नेपालमा जतिपनि पार्टीहरू छन्। सबै शिक्षकहरूकै योगदानका कारण ती पार्टीहरू छन्। सबभन्दा बढी गाउँघरमा मजदुर, किसानसँग एकाकार भएर राजनीतिक दलहरूलाई स्थापित गराउने र राजनीतिक विचारहरूलाई, राजनीतिक कार्यदिशा, नीति, योजना कार्यक्रमहरूलाई जनताको विचमा लैजाने शिक्षकहरू नै हुन्। अब शिक्षकहरूले राजनीति गर्नु हुन्न भनिदिएपछि त्यो पार्टी सिस्टमलाई नै कमजोर पार्ने नीति बाहेक केही हुने छैन। त्यसकारण म त के भन्छु भने शिक्षकहरू अझ सक्रियतापूर्वक समाजसेवामा, सामाजिक रुपान्तरणका काममा, राजनीतिक रुपान्तरणका काममा लाग्नुपर्नेछ,” अध्यक्ष प्रचण्डले भने।

शिक्षकहरू लागेर मात्रै सामाजिक र राजनीतिक रुपान्तरणको अभियानमा देशलाई लैजान सकिने उनको भनाइ छ।

“अब टेक्नीकल्ली के गर्नुपर्छ भन्ने विल्कुल गौण कुरा हो। त्यो सहायक कुरा हो। टेक्नीकल्ली तपाईहरूलाई अप्ठ्यारो नपर्नेगरी सक्रियतापूर्वक जनताबीच काम गर्ने वातावरण बनाइन्छ। बनाउनुपर्छ। तपाईंहरू दुविधामा नरहनुहोला,” उनले आश्वासन दिए।

शिक्षकहरूलाई राज्यले अन्याय गरेको पनि दाहालले बताए। शिक्षकहरूलाई राज्यले विभेदमा पारेका कारण शिक्षकहरूले आन्दोलन गर्नुपरेको र क्रान्तिकारी हुनुपरेको उनको भनाइ छ।

“हामीकहाँ शिक्षक भनेपछि सबभन्दा बढी विभेदमा पारिएको बौद्धिक जमातजस्तो मानिन्छ। यो नेगेटिभ कुरा हो, यसलाई हामीले पोजेटिभमा बदल्नु छ। तर यो नेगेटिभ भित्रको हामीलाई पोजेटिभ के भयो भने त्यसै भएको हुनाले शिक्षक मजदुर, किसानसँग एकाकार भएर मजदुर किसानको आन्दोलनलाई साथ दिने, राजनीतिक क्रान्तिलाई साथ दिने हुन गएको कारण पनि त्यही हो। नत्र अमेरिकाको जस्तै शिक्षकहरू तपाईहरू पनि भएको भए के को आन्दोलनकारी हुने ? तपाईंहरूमाथि राज्यले अन्याय गरेको छ। त्यसकारण तपाईहरू क्रान्तिकारी हुनुभएको। तर सधैँ यही हुनुपर्छ भन्न खोजेको होइन मैले त्योचाहिँ नबुझ्नु होला,” प्रचण्डले भने।

मधेशमा माओवादीको पक्षमा जनलहर आएको दाबी

अध्यक्ष प्रचण्डले मधेशमा माओवादीको पक्षमा जनलहर आएको दाबी गरे। उनले महन्थ ठाकुर र राजेन्द्र महतोले एमाले अध्यक्ष केपी ओलीसँग आत्मसमर्पण गरेर माओवादी केन्द्रलाई गुन लगाएको बताए।

एमाले अध्यक्ष केपी ओली मधेशी जनताको आत्मसम्मान र पहिचानविरोधी खलनायक भएको उनको आरोप थियो। भने, “अहिले मधेशमा पनि फेरी एकचोटि माओवादीको पक्षमा जनतामा एउटा लहर आउन खोज्दैछ। बुद्धिजिवीमा लहर आउन खोज्दैछ। थुप्रै गज्याङमज्याङ छ पार्टीभित्र तर पनि जनताचाहिँ क्लियर छन्।जनता अब नेतृत्वको बारेमा पनि क्लियर छन्। लाइनमा पनि क्लियर छन्। महन्थ र राजेन्द्र महतोलाई धन्यवाद भनेको छु। तपाईंहरूले केपी ओलीको अगाडि आत्मसर्मपण गरेर माओवादीलाई धेरै ठूलो गुन लगाउनुभयो।”

नेपालमा संघीयताविरोधी, मधेशी जनताको आत्मसम्मान र पहिचानविरोधी खलनायक कोही छ भने एक नम्बर खलनायक केपी ओली भएको उनको भनाइ थियो।

अध्यक्ष दाहालले अहिले माओवादी केन्द्रको भागमा शिक्षा मन्त्रालय रहेको भन्दै शिक्षकहरूको समस्या समाधानका लागि आफ्नो पार्टीले सकेको काम गर्ने पनि बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved