कांग्रेस महाधिवेशन

देउवा र खड्का निर्वाचित प्रतिनिधि, विधानको सुविधा लिँदै अरु

कांग्रेस विधानमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरू स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ।

देउवा र खड्का निर्वाचित प्रतिनिधि, विधानको सुविधा लिँदै अरु

काठमाडौं। कांग्रेसको विधानले पार्टीको केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यलाई एक पटकका लागि स्वत: महाधिवेशन प्रतिनिधि बन्ने सुविधा दिएको छ। यो सुविधा हुँदाहुँदै सभापति शेरबहादुर देउवा सोमबार आफ्नो गृहजिल्ला डडेलधुराबाट महाधिवेशन प्रतिनिधि चुनिएका छन्।

निर्वाचन प्रक्रिया मार्फत छानिएको महाधिवेशन प्रतिनिधिमा सभापति देउवाले सतप्रतिशत मत ल्याएका थिए। उनकी पत्नी तथा कांग्रेस नेतृ आरजु देउवा भने सर्वसम्मत महाधिवेशन प्रतिनिधि छानिएकी छन्।

कांग्रेस विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरू स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ। तर आफ्नो जनाधार पार्टीमा बलियो रहेको सन्देश दिन नेताहरू आफ्नो क्षेत्रबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउने होड चलेको छ। यद्यपि पदाधिकारीमा सभापति देउवा र महामन्त्री पूर्णबहादुर खड्काबाहेक अन्य यो दौडमा अहिले सम्म देखिएका छैनन्।

महामन्त्री खड्काले पनि गृहजिल्ला सुर्खेत पुगेर महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा मंगलवार नै क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ। तर पौडेल जिल्ला पनि नपुगेको र महाधिवेशन प्रतिनिधिको उम्मेदवार पनि नबनेको जनाइएको छ। वरिष्ठ नेता पौडेलसँगै उपसभापति बिमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादव पनि यो दौडमा देखिएका छैनन्।

उपसभापति निधिको गृहजिल्लाको अधिवेशनमै सक्रिय रूपमा जिल्लामा लागिरहेको भए पनि उनी महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने कि नबन्ने टुंगो लागेको छैन।

मंगलबार सुर्खेतमा भएको क्षेत्रीय अधिवेशनमा महामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत जिल्ला क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन्। महामन्त्री खड्काले मंगलबार कांग्रेस पार्टीको १४ औं महाधिवेशनअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि खुल्ला पुरूषतर्फबाट उम्मेदवारी दिएका हुन्।

कांग्रेस केन्द्रीय समितिमा रहेका पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने वैधानिक व्यवस्था भएपनि खड्काले आफ्ना क्षेत्रका करीब ९ सय प्रतिनिधिद्वारा अनुमोदित भएर जाने भन्दै उम्मेदवारी दिएको बताएका छन्।

कांग्रेसको नयाँ विधान अनुसार वडा तहदेखि नै क्षेत्रीय प्रतिनिधि बन्नका लागी निर्वाचनको प्रक्रिया तोकिएको छ। वडाहरूबाट क्षेत्रीय प्रतिनिधिहरू बनेपछि क्षेत्रीय अधिवेशन मार्फत महाधिवेशन प्रतिनिधि बन्ने बाटो खुल्ला गरिएको छ। कांग्रेसमा जसका लागि रक्सारस्सी अहिले चलिरहेको देखिएको छ। शीर्ष नेताहरू पनि आफ्नो पक्षमा सक्दो बढी महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा ल्याउने रणनितीमा काम गरिरहेका छन्।

महाधिवेशन प्रतिनिधि भए पनि केन्द्रीय महाधिवेशनमा भाग लिन पाउनुको साथै केन्द्रीय नेतृत्व चयनमा समेत सहभागी हुन पाउने भएकाले यसलाई तलबाटै महत्वका साथ हेरिएको छ।

कतिपय जिल्लामा बहालवाला जिल्ला सभापतिदेखि प्रतिनिधिसभा सांसदहरू समेत महाधिवेशन प्रतिनिधिमा हार बेहोरिरहेको छ। कांग्रेस केन्द्रीय पाटी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल नै काठमाडौंबाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। यद्यपि केही प्रभावित कांग्रेस नेताहरू स्वत: पनि छानिएका छन्। सभापति देउवा नेतृत्वको वर्तमान सरकारमा राज्यमन्त्री रहेका उमेश श्रेष्ठ चितवनबाट, सांसदसमेत रहेका प्रतिष्ठित व्यापारी विनोद चौधरी नवलपरासीबाट महाधिवेशन प्रतिनिधि छानिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved