चुनौती बन्दै रेबिज रोग

विश्वका डेढसय मुलुकमा अझै पनि रेबिज रोगका कारण वर्षेनी ५९ हजार मानिसले मृत्युवरण गरिरहेका छन्। ९५ प्रतिशत रेबिज रोग एशिया र अफ्रिकामा देखिएको छ।

चुनौती बन्दै रेबिज रोग
सांकेतिक तस्वीर

काठमाडौं। गत महीनामात्र रूपन्देहीको सैनामैनामा कुकुरले टोकेर बिरामी परेको भैंसीको मासु खाँदा १४० जना जतिले रेबिजबिरुद्ध खोप लगाउनुपर्‍यो। उनीहरू घटस्थापनाको दिन बिरामी परेका थिए।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले यसरी बिरामी परेकामध्ये करीब सय जनाले रेबिजबिरुद्धको खोप लगाएका बताए।

नेपालले सन् २०३० सम्म रेबिजबाट हुने मृत्युलाई शून्यमा झार्ने लक्ष्य बनाएको छ। तर यो निकै चुनौतीपूर्ण पनि छ।

महाशाखा प्रमुख पौड‍ेल भन्छन्, ‘‘२१ औँ शताब्दिमा आएर पनि जनवारहरूको टोकाइबाट धेरैले मृत्युवरण गर्नु परेको छ। अझै पनि हामी रेबिज रोगको जोखिममै छौं।”

लक्ष्य पूरा गर्न स्थानीय तहदेखि नै जनचेतनामूलक कार्यक्रम, खोप लगाउने काममा व्यापकता र बहुक्षेत्रीय सहयोगको माग जस्ता रणनीति बनाएर अघि बढिरहेको पौडेलले बताए।

शहरी क्षेत्रमा कुकुरको संख्या अत्यधिक हुने र दुर्घटना पनि यहीँ नै बढी हुनाले लकडाउनका समयमा कुकुरले खान नपाउँदा मानिसमा आक्रमण बढेको उनको ठम्याइ छ। उनका अनुसार अहिले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाको जुनिटिक डिजिज सेक्सनले जनावरबाट सर्ने र सर्पदशंलाई न्यूनीकरण गर्ने काम गरिहरेको छ।

महाशाखाले पशुपन्छीको टोकाइपछि मानवमा सर्ने रोगहरू भनेर १० वटालाई प्राथमिकतामा राखेको छ। त्यसमध्ये रेबिज उच्च प्राथमिकतामा परेको छ।

मन्त्रालयका अनुसार नेपालमा रेबिजको उच्च जोमिख रहेको क्षेत्र तराई, मध्यम जोखिम क्षेत्र पहाड र कम जोखिम भनेको भनेको हिमाली क्षेत्र हो।

पौडेल भन्छन्, ‘‘दुःखका साथ भन्नुपर्छ नेपालमा कुनै पनि पशुपन्छीको टोकाइबाट कति संक्रमित हुन गए भन्ने यकिन तथ्यांक छैन। तर बर्षेनी १ सय हाराहारीमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मात्र भर्ना हुन आउँछन्।”

टेकु अस्पतालमा सात वर्षको तथ्यांक हेर्ने हो भने रेबिजकै कारण वार्षिक १५ देखि ३६ जनाले ज्यान गुमाइरहेका भेटिएको छ। त्यस्तै बर्षेनी जनवारको टोकाइपछि ५० हजारले रेबिजविरुद्ध खोप लगाउने गरेका स्वाथ्य मन्त्रालयले जनाएको छ।

‘‘रेबिज लाग्ने ९९ प्रतिशत कुकुरको टोकाइबाट नै हो। रेबिज लागिसकेपछि उपचार नहुने भएकाले कुकुरलाई रेबिजविरुद्ध खोप लगाउनु नै यसबाट बच्न सक्ने एक प्रमुख उपाय हो”, पौडेल बताउँछन्।

कतिपय नगरपालिकाहरूले कुकुरहरूलाई रेबिजविरुद्ध खोप लगाउने अभियान शुरु गरे पनि कुकुरहरू थपिने क्रम छिटो भएकाले यस्तो काम पनि प्रभावकारी हुन नसकेको उनी बताउँछन्।

७० प्रतिशत कुकुरहरूमा खोप लगाउन सकिए मात्र संक्रमण रोक्न सकिने र अहिले कुकुरलाई खोप लगाउने कार्य पशुसेवा विभागले गरिरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। काठमाडौँमा मात्रै अहिले एक लाखभन्दा बढी छाडा कुकुर रहेका मन्त्रालयको अनुमान छ।

रेबिज रोग कुकुर तथा अन्य जंगली जनावरहरूको टोकाइबाट मानिसमा सर्ने प्राणघातक रोग हो। कुकुरले टोकेको स्थानमा तुरुन्तै साबुनपानीले कम्तीमा १५ मिनेटसम्म राम्रोसँग धुने, कुकरले टोकेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी स्वास्थ्यकर्मीको सल्लाहमा रेबिजविरुद्ध खोप लगाइहाल्नुपर्ने डा.अनुप बास्तोला बताउँछन्। त्यस्तै घरपालुवा कुकुरलाई अनिवार्य रूपमा रेबिजविरुद्ध खोप लगाउन उनले सुझाव पनि दिए।

रेबिज रोगविरुद्ध खोप नेपाल सरकारको प्राथमिक स्वास्थ्य केन्द्रसम्म निःशुल्क उपलब्ध गराइरहेको जनाएको छ।

विश्वका डेढसय मुलुकमा अझै पनि रेबिज रोगका कारण वर्षेनी ५९ हजार मानिसले मृत्युवरण गरिरहेका छन्। ९५ प्रतिशत रेबिज रोग एशिया र अफ्रिकामा देखिएको छ।

रेबिज रोगका केही लक्षण

  • टोकेको ठाउँमा दुख्ने,
  • ज्वरो आउँने,
  • अस्वाभाविक रूपमा चञ्चले हुने,
  • होस गुमेको, मदिरा सेवन गरेको जस्तो हुने,
  • पानी देख्दा डराउने,
  • अचेत हुने।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved