१२ मा पढ्ने बुटवलका एक विद्यार्थीले बनाए विद्युतीय मोटरसाइकल

१२ मा पढ्ने बुटवलका एक विद्यार्थीले बनाए विद्युतीय मोटरसाइकल

बुटवल। बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता माविमा अध्ययनरत एक विद्यार्थीले विद्युतीय मोटरसाइकल बनाएका छन्। कक्षा १२ मा सिभिल इन्जिनियरिङ अध्ययरत विद्यार्थी सागर पोखरेलले निर्माण गरेको ब्याक गियरसहितको इलेक्ट्रो एमएएसबी विद्युतीय मोटरसाइकल आज प्रदर्शन गरिएको छ।

परिसरमा मोटरसाइकलको परीक्षण गरिनाका साथै पोखरेललाई विद्यालय व्यवस्थापन समितिले नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको छ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले पोखरेललार्ई सम्मान गर्दै सामुदायिक विद्यालयका विद्यार्थी हरेक कार्यमा उत्कृष्ट हुनुको उदाहरण मोटरसाइकल निर्माण कार्य भएको बताइन्। यस्ता विद्यार्थीलाई उपमहानगरपालिकाले समेत प्रोत्साहन गर्ने प्रतिवद्धता उनले गरिन्।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ स्थायी घर भएका सागरले करिब एक लाख १० हजार रुपैयाँ खर्च गरेर मोटरसाइकल तयार गरेका हुन्। हजुरबुबा मोतिलाल, बुबा अनन्तमणि, आफ्नो नाम सागर र आमा भगवता पोख्रेलको पहिलो अक्षरबाट मोटरसाइकलको नाम एमएएसबी राखेको पोखरेलले बताए। ब्याट्री लिड एसिड प्रयोग भएको मोटरसाइकलमा करीब ४८ भोल्ट डिसी पावर छ।

मोटरसाइकल हाल १०० किलोमिटरसम्म दूरी हिँड्न सक्छ भने पिकअप ४० किलोमिटर प्रतिघण्टा रहेको दाबी पोखरेलको छ। यसअघि रोबर्ट, एक्साभेटर, फ्रिज, फोटोकपी मेसिनहरु समेत बनाएका पोखरेलले विभिन्न मोटरसाइकलका हेडलाइट, टेललाइट, स्प्रिङ तथा ७५० वाटको इलेक्ट्रिक मोटर प्रयोग गरेर उक्त मोटरसाइकल बनाएका हुन्।

पोखरेल पढाइमा समेत अब्बल रहेको विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेतको भनाइ छ। पोखरेलको मनोबल बढाउन विद्यालयले आज सम्मान गरेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved