केपी ओलीको विकल्प छैन : प्रभु साह

नेपालभ्युज

केपी ओलीको विकल्प छैन : प्रभु साह

रौतहट। नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री प्रभु साहले देश र पार्टीभित्र केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन्।

सोमबार रौतहटको विजयपुरमा आयोजित फतुवा विजयपुर प्रथम नगर अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले देशलाई अग्रगमनतर्फ डोर्‍याउन र समृद्ध नेपाल निर्माण गर्न ओलीकै नेतृत्वमा देश र पार्टी अगाडि बढ्ने दाबी गरे। देशमा दलाल प्रतिक्रियावादीहरू एकतावद्ध भएर मुलुकलाई बन्धक बनाउने दुस्साहस गरिरहेको बताउँदै पूर्वमन्त्री साहले ओलीको नेतृत्वमा देशलाई अगाडि बढाउन आह्वान गरे।

विश्वमै कम्युनिस्ट टुटफुट र विघटनको शिकार भइरहेको बेला ओलीले नेपालमा कम्युनिस्टप्रति आकर्षण बढाएको दाबी उनले गरे। उनले केही दक्षिणपन्थी अवसरवादीको बहिर्गमनपछि एमाले शुद्धिकरण भएको र सच्चा कम्युनिस्ट ओलीकै साथमा रहेको बताए।

‘‘अहिले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ, विश्वका कम्युनिष्ट पार्टीहरू टुटफुट र विघटनको अवस्थामा छ तर नेपालमा केपी ओलीको नेतृत्वमा शान्तिपूर्ण ढंगले मतदानमार्फत कम्युनिष्ट पार्टीमाथि अपार उत्साह बढेको हो,” उनले भने। नेपाललाई विकसित बनाउन ओलीको मोडलमार्फत नै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुने दाबी उनले गरे। ‘‘उहाँ(ओली)ले दिनुभएको एउटा नयाँ मोडलले समृद्ध नेपाल सुखी नेपालीको महान राष्ट्रिय आकांक्षासहित मुलुक तीव्र विकासको दिशामा अगाडि बढ्छ। केपी ओलीको विकल्प छैन,” उनले भने।

प्रधानमन्त्री हुँदा ओलीले समृद्ध नेपालको आधारशिला तयार पारिसकेकाले अब ओलीकै पालामा युगान्तकारी परिवर्तन हुने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved