पूरा हुन नसकेको १५ वर्ष पुरानो सपना

यो हो, नेपाली महिला क्रिकेट टिमले देखेको, विश्वकप खेल्ने सपना। करिब १५ वर्षअघि नेपाली महिला क्रिकेट टिमले पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा पाइला टेक्यो, यो सपनाको शुरुआत त्यति बेला नै भइसकेको थियो।

पूरा हुन नसकेको १५ वर्ष पुरानो सपना

काठमाडौं। ‘भविष्य तिनको हातमा छ जसले आफ्नो सपनामा विश्वास गर्छन्।’, अमेरिकी कूटनितिज्ञ तथा अधिकारकर्मी ऐलेनार रुजभेल्टको एउटा चर्चित भनाइ हो यो।

एउटा यस्तै सपना छ, विश्वासिलो सपना, १५ वर्ष भइसक्यो देख्न थालेको तर अहिले सम्म पूरा भने हुन सकेको छैन। आशा छ यो वर्ष भने पूरा होला।

यो सपना हो, नेपाली महिला क्रिकेट टिमले देखेको, विश्वकप खेल्ने सपना। जब करिब १५ वर्षअघि नेपाली महिला क्रिकेट टिमले पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा पाइला टेक्यो, यो सपनाको शुरुआत त्यति बेला नै भइसकेको थियो।

नेपाली महिला टिमले इतिहासमै पहिलो पटक सन् २००७ मा थाइल्याण्डसँग खैल्दै अन्तर्राष्ट्रिय क्रिकेटको आरम्भ गरेको थियो। एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपअन्तर्गत खेलेको आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमा नै नेपालले थाइल्याण्डलाई ५५ रनले पराजित गर्दा नेपाली महिला क्रिकेटको भविष्य राम्रो हुने संकेत मिलेको थियो।

यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको सहभागितामा नै नेपाल उपविजेता (फाइनलमा बंगलादेशसँग ८ विकेटले पराजित) बनेपछि नेरी थापाको कप्तानीमा रहेको महिला टिमले त्यसै दिन, कुनै दिन विश्वकप खेल्ने सपना देखेको थियो।

नेपाली महिला टिमको पहिलो कप्तान नेरी थापाबाट सन् २०१२ मा कप्तानीको दायित्व रुवना क्षेत्रीमा सर्‍यो र विश्वकप खेल्ने सपना पनि झन् मजबुत हुँदै गयो।

आज (सोमबार) आईसीसी महिला टी–ट्वान्टी विश्वकप २०२३ को एशियाली छनोटको पहिलो खेल खेल्नु अगाडि रुविना त्यो सपनाबारे भन्छिन्, “म यो छनोट प्रतियोगिता खेल्न निकै उत्साहित छु, किनकि मेरो र मेरो टिमको १५ वर्षदेखिको सपना हो, विश्वकपका लागि छनोट हुने र विश्वकप खेल्ने। आफ्नो जिन्दगीभरिमा आउने एक मात्र अवसरको रूपमा हामीले यसलाई लिएका छौं।”

विश्वकप फेरि आउँछ, नेपालले छनोट खेल खेल्न पनि फेरि पाँउछ। त्यसो भए रुविनाले किन जिन्दगीको एक मात्र अवसरको रूपमा लिइन् त यसलाई ?

किनकि उनले यो टुरमा जानुअघि नै भनेकी थिइन्, “टिमका केही सिनिअर खेलाडीहरूसँग उमेरका कारण अब राष्ट्रिय टिमबाट खेल्ने धेरै समय छैन, त्यसैले यो छनोट प्रतियोगितालाई जुनिअर खेलाडीहरूमा आत्मविश्वास बढाउँदै विश्वकप सपना पूरा गर्ने जीवनको ठूलो अवसरको रूपमा प्रयोग गर्नेछौं।”

रुविनासँगै टिमका केही सिनिअर खेलाडीले सायद अब अर्को विश्वकप छनोट खेल्ने छैनन्। त्यसैले उनीहरूले जे गर्नुछ, यसैमा गर्नुछ। एउटा भनाइ छ, ‘यदि तिमी त्यो चिज पाउन चाहन्छौ जुन तिमीले हालसम्म पाएको छैनौ भने त्यसका लागि तिमीले त्यस्तो केही विषेश गर्नुपर्छ जुन हालसम्म गरेका पनि छैनौं।’

त्यसैले हालसम्म नखेलेको त्यो विश्वकप खेल्न नेपाली टिमले यो पटक केही विषेश प्रदर्शन भने गर्नैपर्छ। कप्तान रुविनालाई पनि सायद अन्तिम अवसर हुनसक्छ आफ्नो नेतृत्वमा पूरानो सपना पूरा गराउने। नेपाली महिला टिमलाई विश्वकपसम्म पुर्‍याउने।

नेपाली पुरुष टिमले त नेपाली खेलकुदकै ठूलो उपलब्धिका रूपमा सन् २०१४ मा टी–ट्वान्टी विश्वकप खेल्दै इतिहास रचिसक्यो। महिला टिम पनि यो इतिहास बनाउन चाहन्छ।

नेपाली महिला टिम त्यो सपनाको विश्वकप खेल्न मात्र दुई स्टेप पछाडि छ। आजबाट यूएईमा शुरु हुन लागेको विश्वकप छनोट प्रतियोगिता सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी–ट्वान्टी विश्वकप को एशियाली छनोट हो। जसलाई पार गर्नु नेपालको पहिलो स्टेपमा पर्छ।

मंसीर १२ गतेसम्म चल्ने यो छनोट प्रतियोगितामा नेपालसहित आयोजक यूएई, मलेसिया, कुवेत, भुटान र हङकङ गरी ६ टिम छन्। राउण्ड रोविन लिगका आधारमा खेलाइने खेलमा हरेक टिमले एक अर्कासँग एक–एक खेल खेल्नेछन्। यसपछि प्रतियोगिताको अन्त्यसम्म अंक तालिकाको शीर्ष स्थानमा रहने एक टिमले विश्वकपको ‘ग्लोबल’ छनोट प्रतियोगिता खेल्न पाउनेछ।

सन् २०२० को गत संस्करणको विश्वकपको एशियाली छनोट प्रतियोगितामा नेपाल ‘ग्लोबल’ छनोटको नजिक पुगेको थियो। तर थाइलाण्डसँगको एक खेलमा पराजित हुँदा नेपालको सपना त्यतिबेला पूरा हुन सकेन भने थाइलाण्डले ‘ग्लोबल’ छनोटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप खेल्न सफल भएको थियो।

नेपालले प्रतियोगिताको पहिलो खेलमा आज हङ्कङसँग भिडन्त गर्दैछ। खेलहरू दुबई स्पोर्टस सिटिमा रहेको दुई ओटा आईसीसी एकडेमी मैदानामा हुँदैछ।

सन् २०२० को गत संस्करणको विश्वकपको एशियाली छनोट प्रतियोगितामा नेपाल ‘ग्लोबल’ छनोटको नजिक पुगेको थियो। तर थाइलाण्डसँगको एक खेलमा पराजित हुँदा नेपालको सपना त्यतिबेला पूरा हुन सकेन भने थाइलाण्डले ‘ग्लोबल’ छनोटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप खेल्न सफल भएको थियो।

यो पटक थाइलाण्ड एशियाली छनोटमा छैन। तुलनात्मक रूपमा एशियाली छनोटमा खेल्ने अन्य टिम नेपालभन्दा कमजोर मानिन्छन्। त्यसैले एशियाली छनोट पार गर्दै ‘ग्लोबल’ छनोटमा पुग्ने नेपालको सम्भावना यो पटक बढी छ। वरीयता क्रममा पनि नेपाल १४ औं स्थानमा छ भने नेपालपछिको बलियो मानिएको राष्ट्र आयोजक यूएई १७ औं स्थानमा छ। योबाहेक अन्य टिम धेरै तल छन्।

‘हेड टु हेडमा’ पनि यसअघि खेलेका टी–ट्वान्टी खेलमा नेपालले यूएई, मलेसिया, कुवेत र हङकङसँग सतप्रतिशत जित निकालेको रेकर्ड छ।
यो विषयमा नेपाली टिमका व्यवस्थापक तथा पूर्वकप्तान विनोद दास नेपालभ्यूजसँग भन्छन्, “हाम्रो तयारी र योभन्दा पहिलाको इतिहास हेर्दा पनि यो पटक ‘ग्लोबल’ छनोटमा पुग्न राम्रो मौका छ। तर यो कुरा नेपालले छनोट खेलमा गर्ने प्रदर्शनमा भर पर्छ। नेपालले बंगलादेशको सिरिजमा राम्रो खेल्यो , कतारको सिरिजमा पनि तीन ओटा म्याच नै जित्यो, आशा गरौं यो फर्म दुबईमा पनि कायम रहनेछ।”

तर कुनै पनि खेलमा प्रतिद्वन्द्वीलाई कमजोर आँक्ने काम भने गर्नु हुँदैन। फेरि गल्फ राष्ट्रबाट महिला होस् या पुरुष प्रायः भारतीय र पाकिस्तानी मुलका खेलाडीले खेल्ने गर्छन्। त्यसैले उनीहरूको खेल कस्तो हुन्छ। यसै भन्न सकिन्न।

नेपालमा नै भएको दक्षिण एशियाली खेलकुदपछि करिब दुई वर्षयता नेपाली टिमले अन्तर्राष्ट्रिय म्याच खेलेको थिएन। यो बीचमा दुई ओटा राष्ट्रिय प्रतियोगिता खेलेको आधारमा खेलाडी छनोट गरेर करिब दुई महिनाको तयारीपछि टिम यूएई पुगेको हो।

यूएई जानु अघि नेपाली महिला टिमले पहिलो पटक अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो। कतारसँग खेलेको तीन म्याचको टी–ट्वान्टी सिरिजमा नेपालले तीन खेल नै जित्दै क्लिन स्विप गर्‍यो। नेपाली राष्ट्रिय महिला टिमले जितेको यो पहिलो अन्तर्राष्ट्रिय उपाधिसमेत थियो।

तीनमध्ये दुई खेल, एक सय रनभन्दा बढीको अन्तरले जितेको नेपालका लागि तीनै खेलमा फरक-फरक खेलाडीले अर्धशतक बनाएका थिए।

यो लयलाई यूएइमा पनि निरन्तरता दिन सके नेपाललाई ग्लोबल छनोटमा पुग्न कठिन हुँदैन। ग्लोबल छनोटमा विश्वकप पुग्ने दोस्रो तथा अन्तिम स्टेप हो। जहाँ विश्वभरिका आठ टिमको सहभागिता रहनेछ। यो एशियाली छनोटसमेत गरी आईसीसीले विश्वभरिका पाँच क्षेत्रीय छनोट प्रतियोगिता गरिरहेको छ।

क्षेत्रीय छनोटमा यूरोपबाट स्कटल्याण्ड, अफ्रिकाबाट जिम्बाबे र अमेरिकी छनोट समूहबाट अमेरिका ग्लोबल छनोटमा पुगिसकेका छन्। एशिया र पूर्वीएशिया प्यासाफिक क्षेत्रको भने टुंगो लाग्न बाँकी छ।

जसमध्येबाट शीर्ष स्थान प्राप्त गर्ने एक-एक टिमसँगै क्षेत्रीय छनोटको पाँच समूहमा दोस्रो स्थानमा रहने अर्को एक उत्कृष्ट टिम गरी ६ टिमले ग्लोबल छनोटमा स्थान पक्का गर्नेछन्।

क्षेत्रीय छनोटमा यूरोपबाट स्कटल्याण्ड, अफ्रिकाबाट जिम्बाबे र अमेरिकी छनोट समूहबाट अमेरिका ग्लोबल छनोटमा पुगिसकेका छन्। एशिया र पूर्वीएशिया प्यासाफिक क्षेत्रको भने टुंगो लाग्न बाँकी छ।

त्यसैगरी आईसीसीको विश्व वरीयता क्रममा यो नोभेम्बर महीनाको अन्त्यसम्ममा नवौं र दशौं स्थानमा रहने (जसले सन् २०२० को गत विश्वकप पनि खेलेको हुनुपनर्छे) दुई टिमले क्षेत्रीय छनोटबाट आउने यी ६ टिमसँग अर्को वर्ष ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन्।

जसमध्येबाट शीर्ष दुई टिम सन् २०२३ को विश्वकपका लागि छनोट हुनेछन्। हालको थाइल्याण्ड र बंगलादेशले वरीयताका आधारमा ग्लोबल छनोट खेल्ने देखिन्छ।

आयोजक दक्षिण अफ्रिकासँगै नोभेम्बरको अन्त्यसम्ममा आईसीसीको विश्व वरीयता क्रममा शीर्ष सातमा रहने (जसले सन् २०२० को गत विश्वकप पनि खेलेको हुनुपर्नेछ) टिमले भने सीधै विश्वकप खेल्न पाउनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved