बैतडीमा जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

नेपालभ्युज

बैतडीमा जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

धनगढी । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटना भएको हो।

प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जीपमा सवार रहेका सात जना मध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। २ जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेका प्रवक्ता खड्काले बताए।

दुर्घटनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय हर्कबहादुर चन्द र जिप चालक डडेल्धुरका ४० वर्षीय दीपक माली गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि घनगढी रेफर गरिएको छ। आइतबार राती साढे आठ बजेतिर जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। जिप सडकबाट सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved