रामदेवको टीभी च्यानल कानूनविपरीत – प्रदीप ज्ञवाली

नेपालभ्युज

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानूनविपरीत काम गरेको टिप्पणी गरेका छन्।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले नेपालको कानूनले निषेध गरेको ती टेलिभिजन च्यानलहरू उद्घाटन गर्नुको कारण के हो भनेर प्रधानमन्त्री देउवालाई प्रश्न गरे।

आइतबार प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ज्ञवालीले नेपालले सञ्चारमाध्यामहरूमा बाह्य लगानी निषेध गरेको उल्लेख गर्दै ती कुराहरू स्वागत गर्न नसकिने स्पष्ट पारे।

गत ३ मंसीरमा योगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली कम्पनीले काठमाडौंमा सञ्चालनमा ल्याएको ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नाममा दुई टेलिभिजन च्यानल प्रधानमन्त्री देउवाले उद्घाटन गरेका थिए।

ती च्यानल नेपालको कानूनविपरीत राष्ट्रिय हितभन्दा फरक ढंगले सञ्चालनमा आएको प्रारम्भिक प्रतिक्रियासमेत ज्ञवालीले दिए। प्रवक्ता ज्ञवालीले भने, “नेपालले बाह्य लगानीका लागि केही क्षेत्रलाई निषेधित गरेको छ। यो अहिले कुनै व्यक्ति विशेषलाई, संस्था विशेषलाई लक्षित गरेर होइन। खास गरेर सञ्चार क्षेत्रमा टेलिभिजनदेखि लिएर अरू विभिन्न क्षेत्रहरू सञ्चार माध्यामहरूमा बाह्य लगानीलाई पूर्ण रुपले निषेध गरिएको छ। अब कुन ढंगले प्रधानमन्त्रीले त्यो टीभी च्यानल उद्घाटन गर्नुभयो। त्यो हामीले बुझेका छैनौं।”

प्रवक्ता ज्ञवालीले सो टेलिभिजन च्यानलबारे विस्तृत रुपमा छलफल गर्ने जानकारीसमेत दिए। कानूनसम्मत, विधिसम्मत र नेपालले प्राथमिकता तय गरेको क्षेत्रमा आउने बाह्य लगानीलाई भने आफूहरूले सधैं स्वागत गर्ने उनले बताए।

ज्ञवालीले पार्टीको दशौं महाधिवेशनमा नेताहरूको व्यवस्थापनका लागि विधान संशोधन गर्ने सम्भावना नरहेको बताए। विधानको परिधिभित्र रहेर योग्यभन्दा योग्य नेताहरूलाई नेतृत्वमा चयन गर्ने उनको भनाइ थियो।

प्रवक्ता ज्ञवालीले महाधिवेशनमा विधानको विषयले नेतृत्व चयनमा समस्या पारेकाले त्यसलाई समाधान गरेर अघि बढन पहिलो पटक पार्टीको विधान महाधिवेशन छुट्टै आयोजना गर्नु परेको पनि स्मरण गराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved