ऐतिहासिक शान्ति सम्झौताका १५ वर्ष पूरा

नेपालभ्युज

ऐतिहासिक शान्ति सम्झौताका १५ वर्ष पूरा

काठमाडौं। विद्रोही माओवादी पक्ष र सरकारबीच शान्ति सम्झौता भई १० वर्षे सशस्त्र युद्धको अन्त्य भएको आज १५ वर्ष पुगेको छ। ५ मंसीर २०६३ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच द्धन्द्धको अन्त्यका लागि सम्झौता भएको थियो।

उक्त सम्झौतापत्रमा राज्य र विद्रोही पक्षबीच युद्धको औपचारिक अन्त्य, माओवादीले कब्जा गरेका सम्पत्ति र नियन्त्रणमा लिएका हतियार फिर्ता, माओवादी लडाकुको समायोजन र पुन:स्थापना गर्ने सहमति भयो।  उक्त सम्झौतासँगै विद्रोही माओवादी पक्ष शान्तिपूर्ण राजनीतिमा आउने बाटो खुल्यो। सबैभन्दा महत्वपूर्ण राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्ने सम्झौता पनि भयो। यसैको उपलब्धिस्वरुप मुलुक संघीय गणतान्त्रिक धर्म निरपेक्ष राष्ट्र बन्न सफल भयो।

माओवादीले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाका लागि २०५२ फागुन १ गते घोषणा गरेको सशस्त्र युद्ध १० वर्षसम्म चल्यो। यो बीचमा राज्य पक्ष र विद्रोही पक्षसहित सर्वसाधारण समेत गरी १७ हजार बढी नागरिक मारिए, हजारौं ग्रामिण क्षेत्रका नागरिक विस्थापित भए। ५ हजार बढी अझैं बेपत्ता छन्।

यसबीच २०६४ चैत २८ मा ६० वर्षदेखि हुन नसकेको संविधानसभाको निर्वाचन भई मुलुकले नयाँ संविधान पाएको छ। सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन प्रधानमन्त्री कोइरालाको निधन भइसक्यो भने टुक्रिदै र नेकपा (एमाले)सँग एकीकरण गरी नेकपा बनेको प्रचण्ड नेतृत्वको पार्टी पुन: माओवादी नै बनिसकेको छ। तत्लकालीन विद्रोही माओ‌वादीका डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण, रामबहादुर थापा बादल, नेत्रविक्रम चन्द लगायतका शीर्ष नेताहरू टुक्रा टुक्रामा विभाजित छन्।

तर सशस्त्र युद्धका क्रममा राज्य र विद्रोही पक्षबाट भएका मानव अधिकार उल्लंघनका घटना अझैं सुल्झिसकेका छैनन् भने सयौं बेपत्ता नागरिकको छानबिन हुन सकेको छैन। युद्धमा भएका मानव अधिकारको गम्भीर उल्लंघन तथा मानवता विरुद्धको अपराधमा संलग्नहरुको बारेमा अन्वेषण गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न गठन भएको उच्च स्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६४ हजार बढी आवेदन परेकोमा जसमध्ये करीब ४ हजारको मात्रै  प्रारम्भिक अनुसन्धान पूरा भएको बताइएको छ।

कयौं पूर्व लडाकुको अवस्था अयोग्य भन्दै सेना समायोजनमा नपरेपछि दयनीय बनेको छ। सशस्त्र युद्धका प्रभावित नागरिकमा युद्धको धङधङी अझैं बाँकी छ। बेपत्ता नागरिकको अवस्था दुई महीनाभित्र सार्वजनिक गर्ने सम्झौता भए पनि १५ वर्ष बितिसक्दा पनि बेपत्ता नागरिक कहाँ छन् अझैं परिवारलाई थाह छैन र बाटो कुरेर बसेकै छन्। युद्धमा भएका गम्भीर मानवअधिकार उल्लंघनका ज्यादतीबारे अझैं पीडितले न्यायको महशुस गर्न सकेका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved