जनकपुर र अयोध्या सम्बन्ध थप मजबुत पार्न पर्यटन प्रवर्द्धनमा ध्यान दिनुपर्छ–प्रदेश प्रमुख मिश्र

जनकपुर र अयोध्या सम्बन्ध थप मजबुत पार्न पर्यटन प्रवर्द्धनमा ध्यान दिनुपर्छ–प्रदेश प्रमुख मिश्र

जनकपुरधाम। प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपाल भारत बीचको सम्बन्धलाई अझ मजबुत बनाउनका लागि विकास र पर्यटनसँग जोड्न आग्रह गरेका छन्।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा मिथिला अनुसन्धान सांस्कृतिक संरक्षण परिषद् जनकपुरधामको संयोजनमा शनिबार जनकपुरधाममा शुुरु भएको रामायण सर्किट तथा मिथिला अवध सम्बन्धका बारेमा आयोजना गरिएको कार्यक्रममा प्रदेश प्रमुख मिश्रले जनकपुरधाम र अयोध्याबीचको प्रगाढ सम्बन्धलाई थप मजबुत बनाउन सडक, रेल तथा हवाई मार्गबाट जोडेर पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिन आवश्यक भएको बताए।

प्रदेश प्रमुख मिश्रले दुवै देशका सरकारले रामायण सर्किटको विकासका लागि थप सहकार्य गरेर कामकाज गर्न आवश्यक भएको बताए। प्रमुख मिश्रले २०७५ वैशाख २८ गत्ते भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा उद्घाटन गरेका जनकपुरधाम अयोध्या बस सेवा पुनः सुचारु गर्न दुवै देशबीच समन्वय भइरहेको बताए।

नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली सुवासनी अरुण तिलकाले नेपाल, भारत र श्रीलङ्कालाई जोडेर रामायण सर्किटको विकास गर्ने धेरै आधारहरू श्रीलङ्कामा रहेको बताउँदै ती ठाउँहरूको संरक्षण गर्ने काम श्रीलङ्का सरकारले गरेको बताइन्।

अयोध्यामा राम मन्दिर निर्माणमा सक्रिय रहनुभएका राजेन्द्र सिंह पङ्कजले नेपाल भारत बिचको सम्बन्धलाई थप प्रगाढ बनाउनमा रामायण सर्किटले योगदान गर्ने बताए।
विश्व हिन्दु परिषद् भारतका केन्द्रीय उपाध्यक्ष जिवेश्वर मिश्रले धर्म संस्कृतिको रक्षा विना कुनै पनि देशको विकास सम्भव नहुने बताउँदै रामायण सर्किटको विकासका लागि भारत सरकारले काम गरिरहेको बताए।

कार्यक्रममा बोल्दै जनकपुरधामका मेयर लालकिशोर साहले भगवान् रामले जनकपुरधाममा आएपछि सार्थकता पाउनुभएको र जनकपुरधाम बिना रामायण अधुरो रहेकोले रामायण सर्किटलाई जनकपुरसँग जोड्न अति आवश्यक रहेको बताए। उनले जनकपुरधामको इतिहास त्रेता युगदेखिनै रहेकोले जनकपुरधाम धामको रुपमा स्थापित हुन लागेको उल्लेख गरे।

त्यस्तै, कार्यक्रममा भारत यूपिका कमिशनर विशाल सिंहले भारतको अयोध्या र जनकपुरधामलाई जोड्न चाँडै हवाई सेवा र रेलमार्गको काम हुने बताए। कमिशनर सिंहले अयोध्यादेखि जनकपुरधाम जोड्न बस सेवा शुरु हुने साथै डबल लाइन रेल्वे ट्याकको निर्माण भइरहेको जनाए।

जनकपुरधाम उप–महानगरपालिकाको आयोजना एवम् राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको सह–आयोजनामा सुरु भएको सम्मेलन आइतबारसम्म चल्ने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved