एमाले महाधिवेशन

‘यो पटक म सचिवको आकांक्षी होइन’

महाधिवेशनको दिन नजिकिँदै गर्दा पार्टीमा पदाधिकारी संख्या बढ्दै जाँदा नेता ज्ञवालीले आफू सचिव पदमा नदोहोरिने बताए। पार्टीको नवौं महाधिवेशनमा सचिव पदमा विजयी उनी फेरि पनि यसै पदमा दोहोरिने चर्चा एमाले वृत्तमा थियो।

नेपालभ्युज

‘यो पटक म सचिवको आकांक्षी होइन’

काठमाडौँ । नेकपा (एमाले) का सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले महाधिवेशनमा आफू सचिव पदको उम्मेद्वार नभएको स्पष्ट पारेका छन्।

महाधिवेशनको दिन नजिकिँदै गर्दा पार्टीमा पदाधिकारी संख्या बढ्दै जाँदा नेता ज्ञवालीले आफू सचिव पदमा नदोहोरिने बताए। पार्टीको नवौं महाधिवेशनमा सचिव पदमा विजयी उनी फेरि पनि यसै पदमा दोहोरिने चर्चा एमाले वृत्तमा थियो।

नेपालभ्यूजसँगको कुराकानीमा प्रवक्ता ज्ञवालीले भने, “कुन पदमा उठ्ने भन्ने यकिन नभए पनि कम्तीमा सचिव पदका लागि मेरो उम्मेद्वारी रहँदैन।”

महाधिवेशनको सरगर्मी बढ्दै जाँदा ज्ञवाली सचिव पदका आकांक्षी भएको दाबी गरिएको थियो।

१० देखि १२ मंसीरमा चितवन नारायणगढको नारायणी किनारमा आयोजना हुने एमालेको १० औँ महाधिवेशनको दिन नजिकिँदै गए पनि सम्भावित पदाधिकारीको अनुहार भने स्पष्ट भइसकेको छैन। सहमतिको महाधिवेशन भनिए पनि अध्यक्ष पदमा केपी ओली दोहोरिने सम्भावना प्रबल छ। जुन, दोस्रो तहका नेताहरूले प्रमाणित गर्दै आएका छन्।

एमालेमा हाल कुनै गुट नभएको दाबी गरिन्छ। तर दलभित्र तीन समूह रहेको प्रस्टै देख्न सकिन्छ। एक ओलीनिकट, दोस्रो माओवादी केन्द्र परित्याग गरी आएका र तेस्रो माधव नेपालनिकट १० बुँदेसहमतिसहित फर्किएकाहरू। यी तीनै समूहका नेताहरूले पदाधिकारी आकांक्षा गरे पनि यो पदमा उम्मेदवारी दिने भनी खुलिसकेका छैनन्।

महाधिवेशनबाट पार्टीमा १५ जना पदाधिकरी चयन हुँदैछन्। यद्यपि, पदाधिकारीको आकांक्षी बढ्दै जाँदा विधान संशोधन गरेर संख्या थप्नुपर्ने अवस्था आउन सक्ने पार्टीका नेताहरू नै बताउँछन्।

ज्ञवालीको आकांक्षा कुन पदमा ?

अध्यक्ष ओलीनिकट रहेका नेता ज्ञवाली ओली नेतृत्वको सरकारका परराष्ट्रमन्त्री थिए। ओली नेतृत्वको सरकारका धेरै मन्त्री जनस्तरमै आलोचित हुँदा ज्ञवालीका विपक्षमा भने खासै असन्तुष्टि थिएन।

५ पुस २०७७ मा प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने निर्णय गर्दा प्रधानमन्त्रीको कदमको ज्ञवालीले मन्त्रिपरिषदमै असन्तुष्टि जनाएका थिए। लगत्तै मन्त्रिपरिषद् हेरफेर हुँदा उनी परराष्ट्रमन्त्रीबाट बाहिरिए। संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको आन्तरिक रूपमा आलोचना गरेका ज्ञवालीले सार्वजनिक रूपमा ओलीको आलोचना भने गर्दैनन्।

ज्ञवाली सरकारबाट बाहिरिएको केही समयपछि ओली नेतृत्वको सरकार ढल्यो। असारमा सरकाबाट बहिरिएको एमालेले असोज दोस्रो हप्ता आयोजना गरेको पहिलो महाधिवेशनमा ७० वर्षको उमेर नकाट्दासम्म पदाधिकारी र केन्द्रीय सदस्य हुन पाउने व्यवस्था गरेको छ।

उमेरले ५९ वर्ष पुगेका ज्ञवालीको राजनीतिक भविष्य अझै सुरक्षित छ। विधानलाई नै आधार मान्दा उनीले अझै ११ वर्ष पार्टीको सक्रिय राजनीति गर्न पाउँछन्। यस्तो अवस्थामा सचिव पदमा नदोहोरिने बताएका ज्ञवाली कुन पदको आकांक्षी होलान् भन्ने प्रश्न उब्जिन्छ ?

पार्टीको पदाधिकारीमा सचिवभन्दा माथि उपमहासचिव, महाचिव र उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष र अध्यक्ष हुने गर्छ। अध्यक्षमा ज्ञवालीको दाबी रहँदैन, वरिष्ठ उपाध्यक्ष अहिलेसम्मको अवस्थामा हालका महासचिव ईश्वर पोखरेलले पाउने लगभग निश्चितजस्तै छ।

उपाध्यक्ष पद आलंकारिक मात्रै हो। विधानमा नै उपाध्यक्षका लागि खासै भूमिका नतोकिएकाले ज्ञवालीले उक्त पदमा दाबी गर्ने सम्भावना कम रहन्छ।

बाँकी रहेका महासचिव पदमा ओलीनिकट नेताहरू विष्णु पौडेल र शंकर पोखरेलको दाबी छ। गएको निर्वाचनमा पौडेल उपमहसचिव पदमा निर्वाचित हुँदा पोखरेल सोही पदमा पराजित भएका थिए।

अर्कोतर्फ १० बुँदे सहमति गरेर एमालेमै रहेका नेतामध्ये सुरेन्द्र पाण्डे पनि महासचिव पदका आकांक्षी हुन्। पाण्डे गएको महाधिवशनमा सोही पदमा ६ मतले पराजित भएका थिए।

त्यस्तो त अघिल्लो महाधिवेशनमा सचिव पदमै विजयी भएका पृथ्वी सुब्बा गुरुङले आफू महासचिवको दाबेदार भएको बताउने गरेका छन्। गुरुङले यस्तो दाबी गरे पनि पार्टीका नेता कार्यकताले उनको दाबीलाई महत्व दिएको देखिँदैन।

दाबेदारीकै लागि मात्रै त ज्ञवालीले पनि महासचिवमा दाबेदारी गर्न सक्लान् तर, अघिल्लो महाधिवेशनमा सचिव पदमा विजयी भएका नेता ज्ञवाली के यो पटको महाधिवेशनमा उपमहाचिवको दाबेदारी प्रस्तुत गर्दैछन् त ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved