सर्लाहीमा कांग्रेसको किचलो, केन्द्रीय समितिले बोलायो जिल्लाका नेतालाई

सर्लाहीमा कांग्रेसको किचलो, केन्द्रीय समितिले बोलायो जिल्लाका नेतालाई

जनकपुरधाम। नेपाली कांग्रेसको प्रदेश २ मा भइरहेको वडाधिवेशनमध्ये सर्लाहीमा सबैभन्दा बढी विवाद देखिएको छ। विवाद नसल्टिएपछि सर्लाहीका कांग्रेस दुवै पक्ष (संस्थापन र इतर) नेताहरू काठमाडौं फर्किएका छन्।

जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्वसभापति लक्ष्मण राय दुवै पक्षका नेताहरू शुक्रबार राति नै काठमाडौंं गएका हुन्। केही नेताहरू भने आज (शनिबार) बिहानै काठमाडौं लागेका छन्।

दुई पटक जिल्ला निर्वाचन अधिकृत खटाउँदा पनि विवाद नसुल्झिएपछि जिल्ला अधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया बढ्न सकेको छैन। यसैबीच कांग्रेस केन्द्रीय कार्यालयले दुवै पक्षका नेताहरूलाई काठमाडौं बोलाएको हो।

अधिवेशनबारे देखिएको विवाद समाधानका लागि केन्द्रीय कार्यालयले बोलाएकाले आफूहरू काठमाडौं गएको जिल्ला सचिव नवीन अधिकारीले जानकारी दिए। त्यस्तै अर्का जिल्ला सचिव एवं प्रदेश सांसद उपेन्द्रप्रसाद कुशवाहाले पनि आफूहरू काठमाडौं पुगेको नेपालभ्यूजलाई जानकारी दिए।

जिल्ला सभापति नागेन्द्रकुमार रायसहित उनी पक्षका केन्द्रीय सदस्य जंगीलाल राय, वैकल्पिक केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, सचिव उपेन्द्र कुशवाहालगायत नेताहरू काठमाडौं गएका हुन्। त्यस्तै पूर्वसभापति रायसहित उनी पक्षका सचिव नवीन अधिकारी, संघीय सांसद् डा. अमरेशकुमार सिंहलगायत नेताहरू काठमाडौं गएका हुन्।

सर्लाहीमा जिल्ला अधिवेशन गराउन जिल्ला निर्वाचन अधिकृतका रूपमा कांग्रेस केन्द्रीय निर्वाचन समितिले शुरुमा विनोद कार्कीलाई खटाएको थियो। २३ कात्तिकमा सर्लाही आएका उनी दुवै पक्षको विवादका कारण निर्वाचन गराउन नसक्ने भन्दै २६ गते राजीनामा दिएर काठमाडौं फर्किएका थिए।

लगत्तै केन्द्रीय निर्वाचन समितिले २७ कात्तिकमा अर्का निर्वाचन अधिकृत दिवाकर राज पाण्डेलाई सर्लाही पठाएको थियो। उनले दुवै पक्षका नेताहरूबीच २९ कात्तिकमा निर्वाचन कार्यतालिकासहित ६ बुँदे सहमति गराएपछि मतदान अधिकृत खटाउने विषयमा पुनः विवाद भएको थियो। त्यस क्रममा उनीमाथि कुटपिटसमेत भएको जनाइएको छ। त्यहाँ संस्थापन शेरबहादुर देउवा र इतर पक्ष रामचन्द्र पौडेलका कार्यकर्ताबीच केहीबेर झडपको स्थितिसमेत बनेको थियो।

२ मंसिरमा वडा अधिवेशन गराउने सहमतिअनुसार मतदान अधिकृत खटाउने विषयमा विवाद हुँदा पूर्वसभापति लक्ष्मण राय पक्षका नेता कार्यकर्ताले निर्वाचन अधिकृत पाण्डेलाई जिल्ला पार्टी कार्यालयमै कुटपिट गरेका थिए।

सहमतिको कुनै सम्भावना नदेखेपछि निर्वाचन अधिकृत पाण्डेले समेत राजीनामा दिएका छन्। पाण्डेले समेत राजीनामा दिएपछि विवाद समाधानका लागि केन्द्रीय कार्यालयले दुवै पक्षका नेताहरूलाई काठमाडौं बोलाएको हो।

जिल्ला सभापति नागेन्द्रकुमार राय संस्थापन पक्षका हुन् भने पूर्वसभापति लक्ष्मण राय संस्थापनइतरका हुन्। यसपटक जिल्ला अधिवेशनमा पनि यी दुवै जना जिल्ला सभापतिका उम्मेदवार हुन्। अब पनि सहमति हुन नसके सर्लाहीमा जिल्ला अधिवेशन नै नहुने तथा सर्लाहीका कांग्रेसीहरूले केन्द्रीय महाधिवेशनमा भाग लिन नपाउने अवस्था आउन सक्ने नेताहरूले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved