अरूले मासिक पाउने तलब शिक्षकले किन कुर्नुपर्ने ?

बैंकिङ प्रणाली कागजबाट इन्टरनेटसम्म गइसक्यो तर अरू सबै कर्मचारीले मासिक तलब पाउँदा पनि शिक्षकले भने न्यूनतम तीन महीना कुनुपर्छ।

अरूले मासिक पाउने तलब शिक्षकले किन कुर्नुपर्ने ?

काठमाडौं। शिक्षकको जागिर खाएको ३० वर्ष हुँदासमेत आवश्यक परेको बेला खर्च निकाल्न सक्दिनन् प्रमिला खनाल। कारण हो त्रैमासिक वा चौमासिक तलब।

सरकारी जागिर भन्नेबित्तिकै धेरैको दिमागमा सुरक्षित भविष्य भन्ने आउँछ तर आफूले कहिल्यै त्यो महसुस गर्न नसकेको काठमाडौं पञ्चकन्या आधारभूत विद्यालयकी शिक्षिका खनाल बताउँछिन्। “आम्दानीको बाटो भए पनि आफूलाई मन परेको वस्तु खरिद गर्न हिचकिचाउनपर्छ”, भन्छिन्, “तलब आउँदासम्म त्यसल‍े ऋण तिर्ने बेला भइसक्छ, अर्को तलब आउने समयसम्म सापटी पाइन्छ कि पाइँदैन तनाव झेल्नुपर्छ।”

काठमाडौं महानगरपालिकाले त्रैमासिक रूपमा शिक्षकको तलब भुक्तानी गरिरहेको छ। “एक जना मात्र रोजगार भए परिवार चलाउनै मुश्किल पर्छ”, उनी गुनासो गर्छिन्, “छोराछोरीको लालनपालन र पढाउनै सकस छ। विद्यालय आऊजाऊ गर्न सार्वजानिक यातायातमा यात्रा गर्दा निकै सास्ती हुन्थ्यो, निजी सवारीसाधन किनेपछि पेट्रोल खर्च पुर्‍याउन नै कठिन भएको छ।”

सबै शिक्षकको आर्थिक अवस्था उस्तै हुँदैन, चौमासिक तलब बुझ्दा निकै समस्या झेलेको टोखा नगरपालिकास्थित सरस्वती माविका शिक्षक देवराज सिंखडाको गुनासो पनि यस्तै यस्तै छ। चौमासिक तलब बुझ्दा एक महीनामै सकिने उनले बताए। “तलब आयो भनेर फर्किन नपाउँदै सकिन्थ्यो, बाँकी समय कहाँबाट खर्च जुटाउने ?” उनले भने।

तर केही समययता स्थानीय तहले मासिक रूपमा तलब भुक्तानी गर्न थालेपछि भने आर्थिक अनुशासन भएको उनको अनुभव छ।

शिक्षक पेशामा आबद्ध भएर आधारभूत आवश्यकता पूरा गर्न निकै कठिन भएको चाँगुनारायण नगरपालिकास्थित देवी माध्यमिक विद्यालयका शिक्षक सहदेव साखकर्मी बताउँछन्।

मासिक रूपमा तलब नबुझ्दा आफ्नो दैनिक जीवनमा नै प्रभाव परेको भक्तपुर महानगरपालिकास्थित शारदा माध्यमिक विद्यालयका प्रध्यानाध्यापक रोशनराज तुईतुई बताउँछन्। स्थानीय तहले अझै पनि त्रैमासिक तलब भुक्तानी गरिरहेकाले आर्थिक रूपमा निकै समस्या हुने उनी तर्क गर्छन्।

वैज्ञानिक युगमा पनि त्रैमासिक तलब बुझ्न बाध्य हुनुपरेको उनको गुनासो छ। “शिक्षकलाई सरकारले राज्यको दोस्रो नागरीकको रूपमा हेर्ने गरेको उनले गुनासो गरे। भन्छन्, “निजामती कर्मचारीले महीनाअघि नै तलब बुझ्छन् तर शिक्षकले भने काम गरेको तीन महीनासम्म पनि तलब पाउँदैनन्।” उनले थपे, “यस्तो महँगी छ उपत्यकामा डेरा गरेर जीवनयापन गर्ने शिक्षकलाई आफ्नै दैनिकी चलाउन निकै कठिन हुन्छ।”

मासिक रूपमा तलब नबुझ्दा आफ्नो दैनिक जीवनमा नै प्रभाव परेको भक्तपुर महानगरपालिकास्थित शारदा माध्यमिक विद्यालयका प्रध्यानाध्यापक रोशनराज तुईतुई बताउँछन्। स्थानीय तहले अझै पनि त्रैमासिक तलब भुक्तानी गरिरहेकाले आर्थिक रूपमा निकै समस्या हुने उनी तर्क गर्छन्।

काठमाडौं उपत्यकामा सामान्यतया खर्च बढी नै हुने ललितपुर नगरपालिकास्थित मदन स्मारक माविका शिक्षक श्यामसुन्दर महर्जन बताउँछन्। “काम गरेर पनि समयमा तलब नबुझदा आफूलाई आइपरेका समस्या समाधान गर्न निकै कठिन हुन्थ्यो”, उनी भन्छन्, “स्थानीय तहले मासिक रूपमा तलब भुक्तानी गर्न थालेपछि दैनिक जीवनमा आइपर्ने समस्या समाधान गर्न सहज भएको छ।”

जागिर खाएर पनि डेरा भाडा तिर्न र छोराछोरीको लालनपालन गर्न निकै गाह्रो भएको अमर ज्योति माविका प्रध्यानाध्यापक सुन्दर पन्तले बताए। “आफू जागिरे हुँदाहुदै पनि अरूसँग सरसापटी गरेर टार्नुपर्ने धेरैजसो शिक्षकले भोगेको समस्या हो,” उनी भन्छन्।

नार्गाजुन नगरपालिकाले अझै पनि त्रैमासिक रूपमा तलब भुक्तानी गर्दै आएको छ। समयमै तलब नआउँदा निराश भइने यही नगरपालिका अरूणोदय माविका प्रध्यानाध्यापक कृष्ण नेपाल बताउँछन्। नगरपालिकाले मासिक रूपमा भुक्तानी गर्ने भने पनि ढिलाइ गर्ने गरेको उनको गुनासो छ। भन्छन्, “चौमासिक रूपमा भुक्तानी हुनुभन्दा मासिक रूपमा हुनु धेरै राम्रो हो तर पाएनौं।”

सबैतिर मासिक भुक्तानी हुन सकेन

शिक्षा मन्त्रालयले ३ माघ २०७३ मा सामुदायिक विद्यालयका शिक्षकहरूको तलब मासिक भुक्तानी गर्ने निर्णय गरे पनि अहिलेसम्म सबैतिर लागू हुन सकेको छैन।
केन्द्रबाट स्विकृत शिक्षकको दरबन्दीअनुसार देशभर शिक्षा विकास तथा समन्वय इकाईले स्थानीय तहमा बजेट निकासा गर्छ। केन्द्रले अहिले शिक्षकको तलबका लागि चौमासिक बजेट निकासा गरिरहेको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले बताए।

केही स्थानीय तहले भने आन्तरिक स्रोतबाट व्यवस्थापन गरी मासिक भुक्तानी गरे पनि धेरैजसो ठाउँमा त्रैमासिक वा चौमासिक भुक्तानीकै व्यवस्था छ। शिक्षक महासंघले मन्त्रालयलाई शिक्षकको तलब मासिक रूपमा भुक्तानी गर्न दबाब दिएपछि मासिक रूपमा उपलब्ध गराउने निर्णय भएको थियो तर राज्यले अहिलेसम्म लागू नगरेको शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए। “स्वास्थ्यकर्मी सुरक्षाकर्मीले मासिक तलब पाउँदा शिक्षकले किन नपाउने?” उनी भन्छन्, “शिक्षकबारे राज्य संवेदनहीन छ।”

“केही स्थानीय तहले आफ्नै स्रोतबाट मासिक तलब उपलब्ध गराएका छन्,” उनी भन्छन्, “धेरैजसो शिक्षकले अहिले पनि त्रैमासिक तलब बुझिरहेका छन्।” शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच तुरुन्तै वार्ता शुरु हुन लागेको छ।” वार्ता प्रक्रियामा उक्त विषय उठान गर्ने उनले बताए।

मासिक रूपमा तलब नपाउँदा अत्यावश्यक काम, भइपरी आउने स्वास्थ्य उपचार खर्चलगायत घरायसी खर्च धान्न नै अन्य स्रोत खोज्नु बाध्य हुनुपर्ने उनी बताउँछन्। “मासिक रूपमा तलब नपाउँदा दैनिक व्यवहारमा निकै ठूलो असर पर्छ”, उनी भन्छन्, “यसले मनोवैज्ञानिक रूपमा समेत असर गर्छ।” शिक्षकमा राज्यप्रति निराशा र आक्रोश पैदा हुने उनको तर्क छ।

मन्त्रालयलाई दबाब दिएपछि मासिक रूपमा शिक्षकको उपलब्ध गराउने निर्णय भएको थियो तर राज्यले अहिलेसम्म लागू नगरेको शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए। “स्वास्थ्यकर्मी सुरक्षाकर्मीले मासिक तलब पाउँदा शिक्षकले किन नपाउने?” उनी भन्छन्, “शिक्षकबारे राज्य संवेदनहीन छ।”

“शिक्षकको तलब मासिक रूपमा खातामा पठाउने सरकारको निर्णयअनुसार अहिले शिक्षकले खातामा तलब पाए पनि मासिक रूपमा अझै भुक्तानी हुन सकेको छैन”, दाहाल भन्छन्, “निजामती कर्मचारीलाई मासिक बजेट निकासा गरिरहेको छ तर शिक्षकका लागि सम्बन्धित कोष लेखा नियन्त्रण कार्यलयले (कोलेनिका)ले मासिक रूपमा भुक्तानी गर्न सकेको छैन।”

विद्यालयले स्थानीय तहमा मासिक तलब भुक्तानीको माग गरी कोलेनिकामार्फत स्थानीय तहले हरेक महीना निकासा गर्ने निर्णय भएको उनले जानकारी दिए।
“मासिक रूपमा भुक्तानी गर्नुपर्ने शिक्षकको माग हो” उनी भन्छन्, “यसलाई सम्बोधन गर्न नसकेको उनले बताए। मासिक रूपमा दिने तयारी प्रक्रियामा छलफल भइरहेको छ।”

शिक्षकले मासिक रूपमा किन नपाउने ?

काठमाडौं महानगरपालिकाले अहिले शिक्षकलाई त्रैमासिक तलब भुक्तानी गरिरहेको काठमाडौं महानगरपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदी बताउँछन्। “शिक्षकलाई मासिक भुक्तानी गर्ने निर्णय भएको थियो”, उनी भन्छन्, “स्थानीय तहले चालु आवबाट मासिक भुक्तानी गर्न कोसिश गरे पनि साउनमा बजेट निकासा ढिलो भएकाले त्रैमासिक भुक्तानी गर्‍यौं।”

त्रैमासिकबाट दुई-दुई महीनामा र त्यसपछि मासिक रूपमा भुक्तानी गर्ने योजना महानगरले बनाएको उनले जानकारी दिए। “केन्द्रीय सफ्टवेयर बनाएर इन्ट्री गरेको छैन, सबै विद्यालयबाट माग आउनुपर्छ”, सुवेदी भन्छन्, “सबै विद्यालयबाट माग फारम पेश गर्नुपर्ने हुन्छ।”

उनका अनुसार विद्यालयले मासिक तलब माग फारम दिन नै नभ्याउने भएकाले तीन महीनाबाट दुई महीनामा ल्याउने त्यसपछि एक महीनामा ल्याउने काम भइरहेको छ।

केन्द्रले चौमासिक बजेट निकासा गर्ने भए पनि स्थानीय तहको आन्तरिक स्रोतबाट मिलाएर त्रैमासिक रूपमा भुक्तानी गरेको बताए। गोदावरी नगरपालिकाले चौमासिक रूपमा तलब भुक्तानी गर्ने नगरपालिका शिक्षा शाखा उपसचिव देवीप्रसाद उपाध्यायले बताए। भने, “महीनाको शुरुवातमा नै चौमासिक तलब विद्यालयलाई भुक्तानी गर्ने विद्यालयले मासिक रूपमा शिक्षकको खातामा पठाइन्छ।”

कुन स्थानीय तहले कसरी दिन्छन् तलब ? 

महालक्ष्मी नगरपालिकाले भने स्थानीय तहमा माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी आएपछि नै मासिक रूपमा शिक्षकको तलब भुक्तानी गर्दै आएको नगरपालिकाका शिक्षा प्रमुख विष्णु प्रसाद आचार्यले बताए।

महाँकाल गाउँपालिकाले भने त्रैमासिक रूपमा शिक्षकको तलब भुक्तानी गरिरहेको गाउँपालिका शिक्षा शाखा अधिकृत ओम प्रकाश जोशीले बताए। “अपुग दरबन्दी मिलान बाँकी रहेकाले मासिक तलब भुक्तानी गर्न सकेका छैनौं”, भन्छन्, “केन्द्रले निकासा गरेपछि नै शिक्षको तलब भुक्तानी गर्छौं।”

ललितपुर महानगरपालिकाले पनि शिक्षको तलब मासिक रूपमा नै भुक्तानी गर्दै आएको ललितपुर महानगरपालिका शिक्षा शाखा प्रमुख महेन्द्र केसीले बताए। उनी भन्छन्, “दुई वर्ष अघिबाट मासिक रूपमा तलब दिइरहेका छौं।”

भक्तपुरको सूर्यविनायक नगरपालिकाले भने चौमासिक रूपमा नै शिक्षकको तलब भुक्तानी गर्दै आइरहेको नगरपालिका शिक्षा तथा खेलकुद शाखाकी उपनिर्देशक सरस्वती कोइरालाले बताइन्।

भक्तपुर नगरपालिकाले पनि कोष तथा लेखा नियन्त्रण कार्यलयले बजेट निकासा गरेपछि मात्र भुक्तानी गर्ने नगरपालिका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद कर्मचार्यले जानकारी दिए। कागेश्वरी नगरपालिकाले भने मासिक रूपमा नै शिक्षकको तलब भुक्तानी गरिरहेको छ।

कीर्तिपुर नगरपालिकाले भने अझै चौमासिक रूपमा नै शिक्षकको तलब भुक्तानी गरिरहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख गोविन्द प्रसाद निरौलाले बताए। भन्छन, “स्थानीय तहले विद्यालयको खातामा चौमासिक भुक्तानी गर्छ तर विद्यालयले भने मासिक रूपमा शिक्षकलाई भुक्तानी गर्दै आएको छ।” कहिलेकाहीँ भने बजेट निकासा गर्न ढिला भएको अवस्थामा भने विद्यालयलाई भुक्तानी गर्न ढिलाइ भएको उनले जानकारी दिए।

चन्द्रागिरि नगरपालिकाले पनि चौमासिक रूपमा नै शिक्षकको तलब भुक्तानी गर्दै आएको छ। नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्राविधिक सहायक सीता अर्यालले बताइन्। मासिक रूपमा भुक्तानी गर्ने विषयमा छलफल भए पनि कार्यन्वयन नभएको उनी बताउँछिन्। केन्द्रले नै चौमासिक रूपमा भुक्तानी गर्ने भएकाले स्थानीय तहले पनि त्यहीअनुसार दिइरहेको उनको तर्क छ।

टोखा नगरपालिकाले पनि त्रैमासिक रूपमा नै भुक्तानी गर्दै आएको टोखा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले बताए। तारकेश्वर नगरपालिका पनि चौमासिक रूपमा नै भुक्तानी गर्ने तारकेश्वर नगरपालिकाका शिक्षा शाखाका उपसचिव हामनाथ न्यौपानेले बताए। भन्छन्, “चौमासिक रूपमा उपलब्ध गराए पनि पहिलो महीनामा नै भुक्तानी गछौं।”

दक्षिणकाली नगरपालिका पनि त्रैमासिक रूपमा नै भुक्तानी गरिरहेको दक्षिणकाली नगरपालिका प्रवत्ता अमृका वलामीले बताए। केन्द्रबाट मासिक रूपमा भुक्तानी गर्ने निर्णय भयो तर केन्द्रले नै मासिक भुक्तानी गर्न नसक्दा स्थानीय तहले पनि नगरेको उनी बताउँछन्।

बुढानिलकण्ठ नगरपालिकाले मासिक भुक्तानी गर्न प्रयास गर्दा सम्भव नभएको बुढानिलकण्ठ नगरपालिका शिक्षा शाखा प्रमुख जगन्नाथ उपाध्यायले बताए। उनी भन्छन्, “केन्द्रबाट चौमासिक निकासा गर्दा स्थानीय तहले मासिक रूपमा भुक्तानी गर्न सम्भव नभएकाले कहिले मासिक कहिले दैमासिक रूपमा भुक्तानी गरिरहेका छौं।”

नागार्जुन नगरपालिकाले पनि त्रैमासिक रूपमा नै भुक्तानी गर्दै आएको नागार्जुन नगरपालिकाका शिक्षा प्रमुख कृष्ण बहादुर कुवँरले जानकारी दिए। “अघिल्लो वर्ष साउनबाट छ महीना मासिक रूपमा भुक्तानी गरेका थियौं”, उनले भने, “विद्यालयले पनि झन्झटिलो मानेका कारण गत पुसबाट त्रैमासिक रूपमा नै भुक्तानी गरिरहेका छौं।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved