‘अचेल आफू सुनसान समुद्रको एक्लो ‘सान्टियागो’ लाग्छ’

कुनै पनि मान्छेलाई जतिसुकै दमन गरे पनि मान्छेलाई नष्ट गर्न सकिएला तर उसको आत्मालाई नास गर्न सकिँदैन भन्ने कथाको सन्देश आफैमा राम्रो लाग्छ। उपन्यासमा वाक्य नै छ- मान्छे ध्वंस हुनसक्छ तर पराजित हुँदैन।

‘अचेल आफू सुनसान समुद्रको एक्लो ‘सान्टियागो’ लाग्छ’

दिमागमा कहिले कुन त कहिले कुन पात्रले डेरा जमाइरहेकै हुन्छ। तर पछिल्ला दिनमा मैले सबैभन्दा बढी सम्झिने पात्र अर्नेस्ट हेमिंग्वेको उपन्यास ‘द ओल्ड म्यान एण्ड सी’ (बुढो माझी र समुद्र)को बूढो माझी हो। ऊ समुद्रको छेउमा बस्छ। सानो डुङ्गा लिएर एक्लै गल्फ स्ट्रीममा माछा मार्ने ‘सान्टियागो’ नाम गरेको बूढो माझीले माछा मार्न नसकेको ८४औँ दिनबाट कथा शुरु हुन्छ।

जवान हुँदा थुप्रै माछा मारेको ऊ धेरैलाई काम सिकाउने प्रशिक्षक पनि हो। ऊसँग मानोलिन नामको जवान केटो काम गर्छ जसलाई उसले माछा मार्ने काममा ५ वर्षको उमेरदेखि प्रशिक्षित गरेको हुन्छ। ४० औँ दिनसम्म माछा मार्न नसकेपछि बुवा आमाले बुढोको संगत नगर्न भनेपछि मानोलिन नयाँ डुङ्गा लिएर एक्लै माछा मार्न जान थाल्छ। यता बूढो माझी एक्लै माछा मार्ने संघर्ष गरिरहन्छ।

त्यस कथामा दुखान्त छ। तर यो छोटो उपन्यास सरसर्ती पढ्दा एउटा बूढो मानिसको संघर्षको कथा भएता पनि त्यहाँ एउटा ठूलो दर्शन लुकेको छ। कथाको सन्देश मलाई एकदमै मन पर्छ। कुनै पनि मान्छेलाई जतिसुकै दमन गरे पनि मान्छेलाई नष्ट गर्न सकिएला तर उसको आत्मालाई नास गर्न सकिँदैन भन्ने कथाको सन्देश आफैमा राम्रो लाग्छ। उपन्यासमा वाक्य नै छ- मान्छे ध्वंस हुनसक्छ तर पराजित हुँदैन।

८४ औँ दिनमा उसको बल्छीमा माछा पनि पर्छ। त्यो उसले जीवनमा मारेको सबैभन्दा ठूलो माछा हुन्छ। माछा त्यति भीमकाय हुन्छ, उसले डुंगामा राख्न सक्दैन।  त्यो उसको जीवनको सबैभन्दा ठूलो युद्ध हो। र माछा हो उसको दुश्मन। तर बेला बेला माछालाई ऊ साथी भनेर सम्बोधन गर्छ। त्यो विशाल समुद्रमा एक्लै छ। यही क्रममा ऊ पुराना दिनहरू सम्झिरहेको छ। ऊ जवान हुँदाका दिनहरू सम्झिएर ऊ पुलकित भइरहेको छ। ऊ बलियो थियो, उसका पुष्ट पाखुरा थिए। ऊ सम्झिरहेको छ जीवन कति सुन्दर थियो। एकदमै अमूर्त रूपमा कथाको बीच बीचमा यो प्रसंग आइरहन्छ। उसलाई जवान हुँदा बेसबल खेल्ने रहर हुन्छ। ऊ अमेरिकी बेसबलर जियो म्याजियोलाई सम्झिरहन्छ। वास्तवमा ऊ आफ्ना असफल रहरहरूको स्मरण गरिरहेको छ। बूढो भएर सबैबाट एक्लिएपछिको त्यो मनोविज्ञान एकदमै मन पर्छ मलाई।

सर्वप्रथम मैले यो कथा एसएलसीपछि पढेको थिएँ। त्यही बेला किशोर मस्तिष्कमा गहिरो छाप छाडेको थियो यसले। त्यसपछि कैयौँ पाात्र पढियो होला। जुन किताब म पुनः पढ्न सक्छु र त्यसमा नयाँ अर्थ भेटाउँछु त्यो मलाई मन पर्छ। त्यसरी पटकपटक पढेको पुस्तक यही हो। जीवनको विभिन्न कालखण्डमा अर्नेस्ट हेमिंग्वेको यो उपन्यास थुप्रै पटक पढेँ।

एसएलसीपछि एक किसिमले अर्थ भेटेको थिएँ, मैले उक्त कथामा। जवान हुँदा अर्को किसिमले र अहिले अर्कै किसिमले त्यो पात्रका अर्थ भेट्छु। अहिले त्यो पात्रसँग गहिरो सामिप्यता छ जस्तो लाग्छ। त्यो पात्र मभित्रको एउटा पात्र हो जस्तो लाग्छ। उमेर बित्दै जाँदै छ। अचेल आफैँलाई सुनसान समुद्रबीच उभिएको एक्लो सान्टियागो जस्तो ठान्छु।

संसारमा सबैभन्दा बढी युवायुवतीबारे र त्यसपछि केही बच्चाबच्चीबारे प्रशस्त लेखिएको छ। तर तुलनात्मक रुपमा वृद्धहरूबारे एकदमै कम लेखिएको छ। वृद्धावस्थाको डार्क कन्टेन्ट तुलनात्मक रुपमा कम भएको बेला यो कथा भारी लाग्छ मलाई। कथाको सिलसिला र आत्मा कहिल्यै नास हुँदैन, तिमी जतिसुकै प्रयास गर व्यक्तिलाई नास गर्ने मिमांशाका रुपमा ऊ बाँकी रहन्छ भन्ने यसको सन्देश एकदमै मिठो लाग्छ। अन्तिममा किनारमा ल्याइपुर्‍याउँदासम्म माछाको कंकाल मात्र बाँकी रहेको बिम्ब निकै भयानक लाग्छ।

वर्तमानका घटना वर्णन गर्दैगर्दा विगतलाई जसरी काव्यिक रूपमा प्रस्तुत गरिएको छ त्यसले पनि तानेको हो मलाई। संरचना, बुढो मान्छेको मनोविज्ञान र सन्देश सबै हिसाबले सशक्त लागेको कथा हो त्यो।

करीब ७० वर्ष पुरानो ‘वल्ड म्यान एण्ड सी’ कथाको बूढो पात्रलाई अचेल म विभिन्न आन्दोलनहरू जोडेर हेर्छु।

केही समयअघि मात्रै नकुन्नी धोबी र निर्मला कुर्मी सहित केही महिला न्यायका लागि नेपालगञ्जदेखि काठमाडौंँसम्म पाँच सय २० किलोमिटर यात्रा गरेर आए। त्यो क्रममा उनीहरूको ज्यान पनि जान सक्थ्यो। तर जुन आत्मबलका साथ उनीहरू काठमाडौं आएर अनसन बसेर न्यायका लागि आन्दोलन गरे, यो कथाको यथार्थ त्यही हो भन्ने लाग्छ। मान्छेको भौतिक शरीरलाई नास गर्न सकिएला तर ऊभित्रको आत्माको नास हुँदैन।

म यो कथाको आत्मविवेचना गरिरहेको हुन्छु। यो आधुनिक संस्कृतिको विकासको समयमै लेखिएको हो। म गाउँमा हुर्किएँ। काकाभतिजा, बाबुबराजुको संयुक्त परिवार हुन्थ्यो। समूहमा बसिन्थ्यो। मान्छे जति आधुनिक बन्दै गयो उति एक्लिदै गएको छ। पश्चिमी आधुनिक साहित्यमा देखाइने  व्यक्तिको एक्लोपन र संयुक्त परिवार प्रणाली टुटेपछि मान्छे कतिसम्म एक्लिएको छ भन्ने उदाहरण हो यो कथा।

प्रस्तुति : काशीराम बजगाई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved