एमाले अध्यक्ष ओली र अमेरिकी सहायक विदेशमन्त्री भेट, एमसीसीमा चासो

नेपालभ्युज

एमाले अध्यक्ष ओली र अमेरिकी सहायक विदेशमन्त्री भेट, एमसीसीमा चासो

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ। ओलीको निजी निवास बालकोटमा भएको भेटवार्ता एमसीसीका विषयमा केन्द्रीत रहेको थियो।

अध्यक्ष ओली र सहायक विदेशमन्त्री लूबीचको भेटमा दुईपक्षीय हितका विषयमा छलफल भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। एमसीसीको कार्यान्वयनमा भएको ढिलाइका विषयमा चासो राख्न नेपाल भ्रमणमा आएका सहायक मन्त्री लूले एमसीसी कार्यान्वयन हुन नसक्नुका कारणका विषयमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीसँग जानकारी लिएका हुन्।

पूर्व प्रधानमन्त्री ओलीले लूसँग एमसीसीका विषयमा सत्तापक्षले लिने निर्णयपछि मात्रै आफ्नो पार्टीले निर्णय गर्ने बताएको बुझिएको छ।

यस्तै शुक्रबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र सहायकममन्त्री लूबीच भेटवार्ता भएको छ। उक्त भेटवार्तामा पनि लूले एमसीसीकै विषयमा जिज्ञासा राखेका थिए।

बिहीबार प्रधानमन्त्री शेर बहादुर देउवासँग सहायक विदेशमन्त्री लूले भेटवार्ता गरेका थिए। प्रधानमन्त्री देउवासँगको भेटवार्तामा सहायक विदेशमन्त्री लूले एमसीसी कहिले कार्यान्वयन हुन्छ भन्ने प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्री देउवाले नेपालका सबै दलसँगको सहमतिमा सम्झौता कार्यान्वयन गर्ने बताए।

अमेरिकी सहायकमन्त्री लूसँगको भेटवार्ता अघि नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका थिए। सत्तारुढ दलबीच एमसीसीका विषयमा विवाद रहेको छ। सत्ताघटक कांग्रेस एमसीसीका पक्षमा रहँदा नेकपा माओवादी र एकीकृत समाजवादी यसको विपक्षमा रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved