कमला नदी, जहाँ लाग्छ अनौठो ‘भूत मेला’

मूलधामीले मन्त्रसिद्धी गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ। तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धीका लागि यस दिन पूर्णाहुती दिने चलन छ। मिथिलाञ्चलमा सदियौँदेखि तन्त्र विद्यामा सर्वसाधारणको विश्वास रहेको छ।

कमला नदी, जहाँ लाग्छ अनौठो ‘भूत मेला’

जनकपुरधाम। ‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी…’। यस्तै यस्तै आ–आफ्ना इष्ट देवताको नाम फलाक्दै आज शुक्रबार धामीझाँक्री मिर्दङ (मादल), झ्याली, ढोल पिपही जस्ता बाजाको तालमा कमला नदीमा शपथ ग्रहण गर्न पुगेका छन्।

धनुषा र सिरहा जिल्लाको सिमाना छुुट्याउने कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ आज गाउँगाउँबाट भूतमेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लागेको छ।

कमला नदीको किनारमा प्रत्येक वर्ष कात्तिक पूर्णिमामा अनौठो भूतमेला लाग्ने गर्छ। धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर, जयनगर लगायतका स्थानबाट ठूलो संख्यामा सर्वसाधारण कमला नदीमा स्नानका लागि आउँछन्।

कमला नदीमा स्नान गरेपछि धामीझाँक्री बन्ने विश्वासका साथ देउता खेल्दै स्नान गर्नको लागि गाउँघरबाट ठूलो संख्यामा मानिसहरु आज बिहानैदेखि कमला नदीको तटमा पुगेका छन्। कतिपयले कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा बिहीबार कमला नदीको तटमा पुगेर राति बास बसेका र आज बिहानै कमला नदीमा स्नान गरेका श्रद्धालुहरु बताउँछन्।

कमला नदीमा स्नान गरिए कमलेश्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी कमलामा स्नान गर्नेको संख्या बढ्दै गएको गणेशमान चारनाथ नगरपालिका, गोदार बस्ने भोला साह बताउँछन्। भूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन्।

मूलधामीले मन्त्रसिद्धी गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ। तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धीका लागि यस दिन पूर्णाहुती दिने चलन छ। मिथिलाञ्चलमा सदियौँदेखि तन्त्र विद्यामा सर्वसाधारणको विश्वास रहेको छ।

आजको दिन पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरु हातमा बलेको आगो सहितको माटोको ढकना (भाँडा) र बेतको लाठी घुमाउँदै चर्को स्वरमा चिच्याइरहन्छन्। उनीहरु आफूमा आएको देउतालाई सिद्ध गर्न गंगास्नान गर्न आएका बताउँछन्।

आजको मेलामा मादल, करताल, झाइल र ढोल पिपहीको सुर र तालबीच धामीझाँक्री हरुको कर्कश स्वरले भय उत्पन्न हुने खालको वातावरण हेर्न सकिन्छ। स्नानको समयमा मूलधामीले लोक भाकामा गीतसमेत गाउने गर्छन्। जसलाई स्थानीय भाषामा ‘महराइ’ भन्ने गरिएको छ।

आफ्नो गाउँमा धामीलाई डो¥याएर कमला र गङ्गासागर स्नान गर्न ल्याएका धनुषाका धामी राम सागर ठाकुर शरीरमा देउता चढ्नेलाई यहाँ ल्याउने गरिएको बताउँछन्। तराई मधेसमा मन्त्र सिकाउने धामीलाई ‘भगता’ भन्ने गरिन्छ। पवित्र नदीमा प्रथम स्नान गर्ने धामीझाँक्रीसँग आशिष थाप्ने श्रद्धालुको संख्या पनि उल्लेखनीय रहने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved