यस्तो छ शहीद स्मारक ‘ए’ डिभिजन लिगको इतिहास

नेपाल पुलिस क्लब (पहिला पुलिस फोर्स र महेन्द्र पुलिस क्लबको नाममा पनि खेलेको)ले पाँच पटक, न्यू रोड टिम (एनआरटी) र थ्री-स्टार क्लबले चार/चार पटक तथा महावीर क्लब र संकटा ब्वाइज क्लबले तीन तीनपटक ‘ए’ डिभिजन लिग उपाधि जितेका छन्।

यस्तो छ शहीद स्मारक ‘ए’ डिभिजन लिगको इतिहास

काठमाडौं। वि.सं १९८० को दशकदेखि नेपालमा बिस्तारै फुटबलको लोकप्रियता बढ्दै गएको मनिन्छ, जति बेला नेपालमा राणा शासन थियो। नेपाली जनतामा फुटबलको रुचि बढ्दै गएको पाएपछि वि.सं १९९१ सालमा तत्कालीन राणा प्रधानमन्त्री पद्म शमशेरले राम जानकी फुटबल प्रतियोगिता आयोजनाको शुरुआत गरेका थिए।

यसलाई नै नेपाली फुटबल इतिहासको पहिलो आधिकारिक प्रतियोगिता र ‘ए’ डिभिजन लिगको जननी मानिएको छ।

देशमा राणाको राज भएजस्तै त्यतिबेला फुटबलमा नेपाल प्रहरीको टिमको राज थियो। नेपाल पुलिस फोर्सले लगातार तीन पटक यो राम जानकी फुटबल प्रतियोगिताको उपाधि जित्दै ट्रफी पचाएको थियो। त्यतिबेलादेखि नै तीन पटक कुनैपनि प्रतियोगिताको उपाधि जितेमा मुख्य ट्रफी पचाउने (सधैंको लागि आफ्नो हुने) चलन थियो। जुन धेरै पछिसम्म चल्यो।

२००७ सालमा नेपालमा प्रजातन्त्र आयो। जसलगत्तै नेपाली फुटबलको नियमनकारी निकायको रुपमा नेपाल फुटबल संघको स्थापना भयो, जुन पछि अखिल नेपाल फुटबल संघको रुपमा परिवर्तन भएको थियो। नेपाल पुलिस फोर्सले त्यसपछि राम जानकी फुटबल प्रतियोगिताको ट्रफी नेपाल फुटबल संघलाई हस्तान्तरण गर्‍यो।

२००७ सालमा ज्यान गुमाएका शहीदहरुको नाममा फुटबल संघले विसं २०११ सालदेखि ‘ए’ डिभिजन लिगको शुरुआत गर्‍यो। जसकारण नाम पनि शहीद स्मारक ‘ए’ डिभिजन लिग रहन गयो।

पहिलो ‘ए’ डिभिजन लिगको उपाधि विजेता टिम माहावीर क्लब हो। जसले तीन पटक यो लिग जित्यो। हाल योे क्लबको अस्तित्व त छ तर शीर्ष डिभिजनमा छैन। यसपछि लगातार दुई वर्ष नेपाल पुलिस फोर्सले लिग उपाधि उचालेको थियो।

२०११ सालदेखि २०४२ सालसम्म आइपुग्दा विभिन्न क्लबहरुले लिग उपाधि जिते। जसमध्ये सबैभन्दा सफल क्लब मानिन्छ रानी पोखरी कर्नर टिम (आरसीटी), जसले ६ पटक लिग जितेको थियो। २०२८, २९ र ३० सालमा लगातार तीन लिग उपाधि जितेको आरसीटी ‘ए’ डिभिजन लिग उपाधिमा ह्याट्रिक गर्ने पहिलो क्लब हो।

२०४३ सालपछिको ‘ए’ डिभिजन लिगसँगै नेपाली फुटबल आधुनिककालमा प्रवेश गरेको मानिन्छ। यसअघिको सर्वाधिक सफल टिम आरसीटीले यसपछि भने एउटा पनि लिग जित्न सकेन। २०७० सालमा आरसीटी ‘ए’ डिभिजन लिगबाट रेलिगेसनमा समेत पर्‍यो।

लिगको आधुनिककालको शुरुआतसँगै घरेलु फुटबलको नयाँ पावर हाउस मनाङ मर्स्याङ्दी क्लबको उदय भयो। २०४० सालमा ‘डी’ डिभिजनबाट क्लब फुटबल यात्रा थालेको मनाङ चार वर्षमा लगातार ‘सी’ डिभिजन, ‘बी’ डिभिजन हुँदै ‘ए’ डिभिजन च्याम्पियन बन्न सफल भएको थियो। मनाङले पनि आरसीटीले जस्तै २०४३, ४४ र ४६ सालमा लगातार तीन पटक लिग उपाधि जित्यो।

यसबीचमा राजनीतिक कारण, नेपाली फुटबलभित्रकै आन्तरिक कारण, एन्फा र क्लबबीचका बिबाद र अन्य विभिन्न कारणले लिगको नियमिततामा बाधा पुग्दै आएको थियो। जसकारण २०११ सालदेखि शुरु भएको लिगले करिब आठ दशक पूरा गरिसक्दा जम्मा ४२ पटक मात्र लिग आयोजना हुन सक्यो। बीचबीचमा धेरै पटक आयोजना हुन नसकेको लिगको यो नियती अहिले पनि कायमै छ।

२०५४ र ५५ सालमा लगातार दुई पटक लिग जित्दै थ्री-स्टार क्लब नेपाली फुटबलको अर्को बिग क्लबको रुपमा उदायो। र मनाङ मर्स्याङ्दीको चिरप्रतिद्वन्द्वीको रुपमा आफूलाई प्रस्तुत गर्न सफल भयो। २०५४ सालदेखि २०६२ सालसम्म भएका पाँच लिगमा थ्री-स्टार र मनाङले मात्र उपाधि बाँडेका थिए।

तर यी दुईको दबदबा तोड्न २०६३ सालदेखी विभागीय टोली पुलिस क्लब दृश्यमा आयो। २०६३ को लिग महेन्द्र पुलिस क्लबको नाममा र २०६६/६७ को लिग तथा २०६८ को लिग नेपाल पुलिस क्लबको नाममा जित्दै पुलिस लगातार तीनपटक लिग उपाधि उचाल्न सफल भयो।

नेपालको ‘ए’ डिभिजन लिग इतिहासमा आरसीटी र मनाङसँगै पुलिस मात्र लगातार तीन पटक लिग उपाधि जित्ने नेपालको तीन सफल क्लबमध्ये एक हो। यीमध्ये पनि हालसम्म सम्पन्न भएको ४२ संस्करणको लिगमा सर्वाधिक सफल क्लब हो मनाङ मर्स्याङ्दी। जसले २०७० र २०७५ सालमा समेत गरी आठ पटक ‘ए’ डिभिजन लिगको ट्रफी उचालिसकेको छ।

यसपछि नेपाल पुलिस क्लब (पहिला पुलिस फोर्स र महेन्द्र पुलिस क्लबको नाममा पनि खेलेको)ले पाँच पटक, न्यू रोड टिम (एनआरटी) र थ्री-स्टार क्लबले चार-चार पटक तथा महावीर क्लब र संकटा ब्वाइज क्लबले तीन तीनपटक ‘ए’ डिभिजन लिग उपाधि जितेका छन्।

मछिन्द्र क्लब हाल ‘ए’ डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन टिम हो। पछिल्लो पटक भएको २०७६ को निकै प्रतिस्पर्धात्मक लिगमा अन्तिम खेलमा नेपाल आर्मी क्लबलाई १-० गोल अन्तरले हराउँदै मछिन्द्रले आफ्नो क्लब इतिहासमा नै पहिलो ‘ए’ डिभिजन लिग उपाधि हात पारेको थियो।

४३ औँ संस्करणको लिग आजदेखि

लामो इतिहास बोकेको ए डिभिजन लिगको ४३ औँ संस्करण आजदेखि शुरु हुँदैछ। यसपटकको लिगमा एउटा क्लबले आफ्नो इतिहासमा नै पहिलो ‘ए’ डिभिजन लिग फुटबल खेल्दैछ, सातदोवाटो युथ क्लब। जसले यस संस्करणको उद्घाटन खेलमै प्रतिस्पर्धा गर्दैछ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल नेपाली घरेलु फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो। जसको ४३ औँ संस्करणको पहिलो खेलमा पहिलो पटक ‘ए’ डिभिजन लिगमा उक्लिएको क्लब सातदोबाटोले फ्रेण्डस् क्लबको सामाना गर्दैछ।

ललितपुरको क्लब सातदोबाटोले पहिलो पटक शीर्ष लिगमा डेब्यू गर्दा क्लबका प्रशिक्षक मेघराज केसीको प्रतिक्रिया यस्तो छ, “हाम्रो टिमले पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको हो। त्यसैले खेलाडीहरुमा उच्चस्तरको यो लिग खेलको अनुभवको कमी छ। तर चार महिनादेखिको प्री-सिजन तयारीमा हाम्रा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य छ।”

सातदोबाटो गतवर्षको ‘बी’ डिभिजन लिग च्याम्पियन बन्दै ‘ए’ डिभिजन लिगमा उक्लिएको हो। ‘बी’ डिभिजनमा उत्कृष्ट प्रदर्शन गरेको उसले खेलेका ११ खेलमा मात्र २ खेल हारेको थियो।

‘ए’ डिभिजनमा डेब्यू गरिरहेको सातदोबाटोविरुद्ध पहिलो खेलमा उत्रने फ्रेण्डस् क्लबका प्रशिक्षक मृगेन्द्र मिश्र बताउँछन्, “यो लिगमा हाम्रो लक्ष्य कुनै पोजिसनमा रहनेभन्दा पनि पहिलो प्राथमिकता जोगिएर मात्र बस्ने हो। मतलब हाम्रो पहिलो लक्ष्य भनेको रेलिगेशनबाट बच्ने हो। हामीले छैटौँ-सातौँभन्दा माथिको स्थान पाउने लक्ष्य राखेका छैनौँ।”

लिगको उद्घाटन खेल पौने चार बजे दशरथ रंगशालामा हुनेछ। यो पटक १४ ‘ए’ डिभिजन क्लबले लिगमा उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। ‘ए’ डिभिजन लिगको पूर्वसन्ध्यामा बिहीबार भएको पत्रकार सम्मेलनमा प्राय क्लबका प्रशिक्षक र कप्तानहरुले डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबलाई नै यो पटक पनि लिग उपाधिको प्रबल दाबेदार मानेका छन्।

मछिन्द्रसँगै सर्वाधिक आठ पटकको लिग विजेता मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब र दुई विभागीय टिम नेपाल पुलिस क्लब तथा नेपाल आर्मी क्लबलाई यो पटक उपाधिको दाबेदारको रुपमा हेरिएको छ।

यो लिग विजेताले अर्को वर्ष हुने एएफसी कपमा सहभागिता जनाउन पाउनेछ। लिग तालिकाको पुछारमा रहने दुई टिम रेलिगेसनमा पर्नेछन्। योपटक लिग उपाधिसँगै रेलिगेसनबाट जोगिन पनि क्लबहर बीच राम्रै प्रतिस्पर्धा हुने देखिन्छ।

गतवर्ष भने कोभिडका कारण लिग आयोजना भएको थिएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved