जिल्लासँग समन्वय नगरी कांग्रेस कुनै दलसँग तालमेल गर्दैन : प्रवक्ता शर्मा

चितवन। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले निर्वाचनमा गठबन्धन गर्दा सम्बन्धित जिल्लाको राय अनुसार गर्ने बताएका छन्। नेपाली कांग्रेस भरतपुर महानगरपालिका-७ ले बुधबार आयोजना गरेको ‘दलमा रूपान्तरण, देश रुपान्तरणका लागि एवं ज्येष्ठ नागरिक सम्मान’ कार्यक्रमर्मा उनले गठबन्धनका लागि जिल्ला र त्यहाँका महाधिवेशन प्रतिनिधिको राय लिएर मात्रै गर्ने बताए।

उनले भने, “आम निर्वाचनमा एक्लै लड्ने कि गठबन्धन बनाएर निर्वाचन लड्ने भन्ने विषयमा जिल्लाको, महाधिवेशन प्रतिनिधिको रायअनुसार हुन्छ। काठमाडाैंमा बसेकाले निर्णय गरेर लाद्ने काम हुँदैन।” केन्द्रको निर्णयले तल्लो तहका नेता कार्यकर्ताको भावनामा ठेस पुग्न नहुने उgले बताए।

कार्यक्रममा उनले कांग्रेसले १, २, ३, ४ को नीति अपनाएर पार्टीभित्र रूपान्तरणको शुरुआत गर्नुपर्ने बताएका थिए। “एकपटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद भएपछि एग्जिट (बाहिरिनु) हुनुपर्छ,” उनले भने। चार पटकसम्मको संसदीय कार्यकालभित्र सबै भए वा नभए पनि पछि लोभ गर्न नहुने उनको भनाइ थियो।

देशमा रूपान्तरण गर्न समाज रूपान्तरण हुन जरुरी रहेको भन्दै उनले जनतालाई बुझाउन सक्ने कांग्रेस बनाउन आवश्यक रहेको बताए। कांग्रेसले सरकारमा हुँदा गरेका कामलाई बुझाउनुपर्ने उनको भनाइ थियो। प्रवक्ता शर्माले भने, “कांग्रेस महाधिवेशनपछि १५ वर्षे नीति अधिवेशन बनाएर अघि बढ्नु पर्छ।” पन्ध्र वर्ष कांग्रेसले देश चलाउँदा कस्तो बनाउने भन्ने स्पष्ट नीतिका साथ जनतामाझ जानु आजको आवश्यकता रहेको उनको भनाइ थियो।

हरेक वर्गका जनताको भावनाअनुसार कांग्रेसलाई चलाउनका लागि दलमा रूपान्तरण र देश रूपान्तरणका लागि आफूले ४२ बुँदे अवधारणा पत्र अघि सारेको भन्दै उनले अब देश बनाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको जिकिर गरे। कांग्रेसलाई बलियो बनाउन गाउँ तहबाटै बलियो बन्नुपर्ने उनको तर्क थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved