राप्रपा महाधिवेशनमा नेतृत्वकै हानथाप, छैन वैचारिक बहस

सर्वसम्मत अध्यक्ष चयन गरे पनि ६ महीनामै पार्टी फुट्यो। २२ भदौ २०७४ मा पशुपति शमसेर राणाले अलग्गै पार्टी बनाए। लगत्तै भएको चुनावमा ३७ सिटको राप्रपा एक सिटमा झर्‍यो। २०७६ मा फेरि पार्टी एकता भयो। जसमा तीन अध्यक्ष छन्।

नेपालभ्युज

राप्रपा महाधिवेशनमा नेतृत्वकै हानथाप, छैन वैचारिक बहस

काठमाडौं। कांग्रेस, एमाले र माओवादीको जस्तै पूर्वपञ्च नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशन पनि नेता छान्ने रन्कोमै सीमित भएको छ। पार्टीलाई ‘कस्तो बनाउने’ भनेर वैचारिक छलफल र बहसको साटो नेता/कार्यकर्ता नेतृत्व हडप्ने रस्साकस्सीमै लीन छन्। जित हात पार्न नेतृत्व आकांक्षीहरू मत तान्ने होडबाजीमा छन्।

“हाम्रो पार्टीमा नीति, विचारमा समस्या छैन। पार्टीमा फरक धार पनि छैन,” राप्रपा केन्द्रीय सदस्य मोहन श्रेष्ठले भने, “अहिले त वैचारिक छलफल, बहसभन्दा पनि ठूलो विषय त नेतृत्वको हो।”

राप्रपाको मुख्य सिद्धान्त नै हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हो। त्यसैले उसले आफूलाई वैचारिक प्रतिपक्षी भनेर दाबी गर्दै आएको छ। राप्रपाले दाबी गर्नुको कारण हो, नेपालको संविधानले गणतन्त्र र धर्म निरपेक्षताको प्रावधान राखेको छ। त्यसो त कुनैबेला पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी समूहहरूले गणतन्त्र स्वीकारेका पनि थिए। फलस्वरुप राजा र हिन्दुवादी धार समाउँदै कमल थापाले राप्रपा नेपाल बनाएका थिए। पछि राणा र लोहनी समूह पनि थापा धारमा फर्के।

“पशुपति राजा र लोहनीले पनि संवैधानिक राजतन्त्र मानेर आए। विचारमा सबै एक छौँ,” राप्रपा केन्द्रीय सदस्य गिरबहादुर महराले भने, “विचार समान भएपछि केको बहस र छलफल हुनु !”

थापा, राणा, लोहनीजस्ता पुरानै अनुहारले फेरि पनि नेतृत्वको च्याँखेदाउ थापेको बेला  नयाँ पुस्ताका राजेन्द्र लिङ्देनले पनि नेतृत्व दाबी गरेका छन्। लिंगदेन थापाका समूहका त हुन् नै, राप्रपाबाट प्रत्यक्ष चुनाव जितेका संघीय संसद्का सांसद पनि हुन्। उनले झापाबाट एमाले, माओवादी गठबन्धनको सहयोगमा चुनाव जितेका थिए। थापाका अर्का खम्बाको रुपमा चिनिएका नेपालगञ्ज उपमहानगर प्रमुख धवलशमशेर राणा पनि लिङ्देनको पक्षमा उभिएपछि राप्रपा महाधिवेशनको नेतृत्व होड थप रोचक देखिएको छ।

संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र विरोधी जनमतलाई थापाले संगठित गर्न नसकेको लिंगदेनको आरोप छ। २०७० को दोस्रो संविधानसभामा प्राप्त जनमतसमेत थापाले जोगाउन नसकेको उनीहरूको जिकीर छ। लिंगदेनविरोधीहरूले भने ‘सक्रिय राजतन्त्र’को पक्षधर शक्तिले लिङ्देनलाई अघि सारेको आरोप लगाएका छन्।

“राप्रपा हिन्दु राष्ट्र र राजाको कुरा गर्दा हिजो कांग्रेस, एमाले, माओवादीहरूले छिछि दुरदुर गरे। अहिले त हाम्रा मुद्दामा तिनैले बोक्दै हिँडेका छन्। अब त हामीले वैचारिक छलफल र बहस गर्नुपर्ने जरुरी नै देख्दिनँ,” केन्द्रीय सदस्य महराले भने। महराको भनाइमा श्रेष्ठले थपे, “एमाले, कांग्रेस नेतृत्वले हिन्दू र राजाको कुरा कसले भन्दियोस् भन्नेमात्र हो। जो हामीले भन्दिएका छौँ। ठोरीको रामको कुरा मन्दिरको कुरा त्यसै आएको हो र ?  राजनीति नै यसैको सेरोफेरोमा भएपछि हामीले बहस गर्नै परेन नि !”

उनले एमाले अध्यक्ष केपी ओलीले पशुपतिमा सुन चढाएको सन्दर्भदेखि ठोरीको राम मन्दिरको प्रसंगसमेत उठाए। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सपत्नी नै मन्दिर धाएको र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भैंसी पूजा गरेको प्रसंग पनि सुनाए। यतिमात्र होइन, राप्रपा नेताहरूले त मूलधारे राजनीतिक दलले नै आफ्नो वैचारिकी पछ्याएको दाबीसमेत गरे।

राप्रपाको वैचारिकी संवैधानिक राजतन्त्र हो भने नेपालमा फेरि कसरी राजतन्त्र फर्काउने ? कसरी नेपाललाई फेरि हिन्दु राज्य बनाउने ? यसबारेमा भने छलफल भएको छैन।

“कसले नेतृत्व हात पार्ने भनेर पो अहिले पार्टीमा मारामार छ त। कहाँ यस्तो छलफल हुनु ?,” नेता महराले भने।

राप्रपाले ११ देखि १३ मंसीरमा महाधिवेशन गर्दैछ।

२०७३ मा राप्रपाले महाधिवेशन गरेको थियो। जसबाट सर्वसम्मत अध्यक्ष चयन गरे पनि ६ महीनामै पार्टी फुट्यो। २२ भदौ २०७४ मा पशुपति शमसेर राणाले अलग्गै पार्टी बनाए। लगत्तै भएको चुनावमा ३७ सिटको राप्रपा एक सिटमा झर्‍यो। २०७६ मा फेरि पार्टी एकता भयो। जसमा तीन अध्यक्ष छन्। करीब पाँच हजार जनाको प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व छनोट गर्ने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved