किसानलाई प्रचण्डको आश्वासन, ‘मणिपालको खाली ३६ बिघामा ठूलै परियोजना बनाउँछु’

नेपालभ्युज

किसानलाई प्रचण्डको आश्वासन, ‘मणिपालको खाली ३६ बिघामा ठूलै परियोजना बनाउँछु’

जनकपुरधाम। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महोत्तरीको सदरमुकाम जलेश्वरमा वर्षौंदेखि खाली रहेको मणिपाल कलेजले पर्ती (खाली) छोडेको जग्गामा चाँडै ठूलो परियोजनाको बन्दोबस्त मिलाउने बताएका छन्।

आज रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा जाने क्रममा जलेश्वर-बर्दिबास सडकखण्डमा पर्ने जलेश्वर नगरपालिका-१ स्थित मणिपाल कलेजको जग्गा नजिकै स्थानीयले प्रचण्डलाई केहीबेर रोकेर वर्षौंदेखि किसानको उब्जाउ जग्गा ओगटेर मणिपाल कलेजले त्यसै उब्जाउ जमिनलाई बञ्जर बनाइरहेकामा दुःखेसो पोखेका थिए।

३० वर्षअघि जलेश्वरभित्र पर्ने बजराही, रतवारा, बखरीसहित स्थानीयको राम्रो अन्न उत्पादन हुने करोडौं मूल्यको ३६ बिघा बढी जग्गा किसानले मणिपाललाई इन्जिनियरिङ कलेज निर्माणका लागि दिएका थिए। सोबापत प्रत्येक किसानको घरका एक जनालाई निःशुल्क इन्जिनियरिङ शिक्षा पढाउने शर्तमा मणिपालले किसानहरूको जग्गा मात्र १० हजार रुपैयाँ प्रतिकट्ठाका दरले खरिद गरेका थिए।

किसानको दुःखेसो सुनेर प्रचण्डले भने, “तपाईंहरूको गुनासो सही हो, नआत्तिनोस्, चाँडै यस जग्गाभित्र नेपाल सरकारको ठूलो परियोजना स्थापना हुनेछ।”

प्रचण्डले किसानहरूलाई दिएको यस आश्वासनपछि पनि रामगोपालपुरको सभालाई सम्बोधन गर्ने क्रममा कुनै ठूलो स्वास्थ्य प्रतिष्ठान, इन्जिनियरिंग कलेज वा कुनै ठूलो आयोजना निर्माणको लागि पहल गर्ने बताएका थिए।

गठबन्धन सरकारमा आफ्नो पनि ठूलो हैसियत रहेकोले यताबाट फर्किनेबित्तिकै यसबारे तयारी थाल्नेसमेत उनले प्रतिबद्धता व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved