वडाधिवेशनमा एकलौटी गर्न खोजेपछि कुटिए मन्त्री ! भागेर पुलिसचौकी पुगे

नेपालभ्युज

वडाधिवेशनमा एकलौटी गर्न खोजेपछि कुटिए मन्त्री ! भागेर पुलिसचौकी पुगे

जनकपुरधाम। धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा प्रदेश २ भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवमाथि हातपात भएको छ।

नेपाली कांग्रेसको वडाअधिवेशनमा मन्त्री यादवले हस्तक्षेप गरेपछि कार्यकर्ताहरूले हातपात गरेका हुन्।

नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका मन्त्री यादवले मुखियापट्टी मुसहरनियाँ ५ र ६ मा सुरक्षाकर्मीको सहयोगमा एकलौटी माइन्युट गरेर वडा अधिवेशन गर्न खोजेपछि त्यहाँ विवाद उत्पन्न भएको थियो। विवादले उग्र रुप लिएपछि स्थानीय केही कार्यकर्ताहरूले मन्त्री यादवमाथि हातपात गरेको बताइएको छ।

वडा सभापतिका उम्मेदवार ज्ञानेन्द्र यादवले भने, “मन्त्री यादवले आफ्नो शक्तिको दुरुपयोग गर्दै अलोकतान्त्रिक र तानाशाही पाराले अधिवेशन गराउन खोजेपछि हामीले अधिवेशन रोकेका हौं ।हाम्रा केही कार्यकर्तालाई पार्टीबाट हटाइएपछि हामीले तीन दिनदेखि अधिवेशन रोकेर राखेका छौं। तर मन्त्री यादवले आफ्नो गाउँ हो भन्दै जबरजस्ती गर्न खोजेका र उनले आफ्नो पोकेटको मान्छेलाई सभापति बनाउन खोजेपछि हामीसँग हातापाई धक्कामुक्की भएको हो।”

मन्त्रीमाथि हातपात भएपछि उनी बचाउका लागि नजिकैको प्रहरी चौकी बहेडाबेला पुगेका थिए। यद्यपि मन्त्री यादवमाथि कुटपिट नभएको प्रहरी चौकी बहेडाबेलाले जनाएको छ।

यता स्थानीय कांग्रेसका कार्यकर्ताहरूले मन्त्री यादवविरुद्ध चर्का नाराबाजी गर्दैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved