एमाले कार्यालयमा खासखुस- ‘बालकोटमा आवेदन दिँदा कस्तो होला?’

पार्टीको कार्यालयमा महाधिवेशनको माहोल नदेखिएको गुनासो कार्यकर्ताले गर्दैगर्दा पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, “पार्टीमा नेतृत्वले रुचाएको अथवा कार्यकताले रुचाएको व्यक्ति मात्रै नेता बन्न सक्छ।”

नेपालभ्युज

एमाले कार्यालयमा खासखुस- ‘बालकोटमा आवेदन दिँदा कस्तो होला?’

काठमाडौँ । “कस्तो महाधिवेशन आएको जस्तो पनि नदेखिएको हो पार्टीको प्रधान कार्यालय पनि,” आज दिउँसो नेकपा (एमाले) को पार्टी कार्यालयमा भेट भएका एक व्यक्ति भन्दै थिए।

हुन पनि महाधिवेशनको संघारमा रहेको पार्टीको कार्यालयमा त भीडभाड हुनुपर्ने हो। तर १० देखि १२ मंसीरमा चितवनमा आयोजना हुने पार्टीको १० औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीको केन्द्रीय कार्यालयमा भने महाधिवेशनको खास छनक पाइँदैन। पार्टीकै नेता कार्यकर्ता नै महाधिवेशनको दिन नजिकिँदै गर्दा पनि महाधिवेशनको ‘फिलिङ्स’ नआएको बताउँछन्।

पार्टीको कार्यालय परिसरमा भेटिएकी एक पूर्वमन्त्रीलाई महाधिवेशनको तयारीका विषयमा नेपालभ्यूजले सोध्दा भनिन्, “चितवन त महाधिवेशनलाई वैधानिकता प्रदान गर्न मात्रै जाने हो, सम्पूर्ण तयारी त यहीँ नै हुन्छ।”

यसै पनि पार्टीको १० औँ महाधिवेशन यसअघिका भन्दा फरक हुँदैछ। यसअघिको महाधिवेशनमा महाधिवेशनस्थलमा नै पार्टीको नीतिका विषयमा छलफल  हुने गर्थ्यो। यसपटक असोजमा नै पार्टीले विधान महाधिवेशनको आयोजना गरेर पार्टीले आगामी दिनमा लिने नीतिको विषयमा निर्णय गरिसकेको छ। चितवनमा विधान र कार्यक्रमबारे छलफल हुनेछैन।

यसपटक नेताहरू प्यानल बनाएर महाधिवेशनमा होमिने सम्भावना कम रहेका कारण पनि पहिलेको तुलनामा यसपटकको महाधिवेशन फरक हुँदैछ। पार्टी अध्यक्ष ओलीको विरुद्धमा अर्को नेता खडा हुने सम्भावना नदेख्ने पार्टीका नेता कार्यकतालाई महाधिवेशनको माहोल फरक लाग्नु स्वाभाविक हो।

पार्टीको कार्यालयमा महाधिवेशनको माहोल नदेखिएको गुनासो कार्यकर्ताले गर्दैगर्दा पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, “पार्टीमा नेतृत्वले रुचाएको अथवा कार्यकताले रुचाएको व्यक्ति मात्रै नेता बन्न सक्छ।”

बास्कोटाको संकेत थियो- महाधिवेशनको फोरमबाट होइन नेतृत्वको रुचिले मात्रै कोही नेता बन्नसक्छ।

बास्कोटाको उक्त संकेतलाई विद्यार्थी राजनीतिबाट उदाएका पार्टीका एक केन्द्रीय स्तरका नेताको भनाइले पुष्टि गर्छ।

कार्यालयमै बसिरहेका उनले आफू केन्द्रीय समिति सदस्यमा उठ्न चाहेको बताए। अनि सँगै रहेका अर्का बुद्धिजीवी लेखक मित्रलाई बालकोट नगइकन पार्टीको केन्द्रीय सदस्य बन्न सकिन्छ कि सकिँदैन? सोधे।

ती युवा नेताको भनाइ यस्तो थियो, “मलाई केन्द्रीय सदस्य पदमा उठ्नुछ, तर बालकोट नगई त्यो पदमा उठ्दा जित्ने सम्भावना कत्तिको हुन्छ?”

उनले २०७१ सालमा भएको पार्टीको महाधिवेशनपछि अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो भेटघाट नभएको बताए। बालकोट अध्यक्ष ओलीको निजी निवास हो।

युवा नेताको यो प्रश्न सामान्य सुनिए पनि यसभित्र गम्भीर आशय लुकेको छ। उनको संकेत हो- बालकोटको चाहनाबेगर एमालेको यो महाधिवेशनमा अरू कसैको केही चल्नेवाला छैन।

महाधिवेशनबाट पार्टीले १५ पदाधिकारी छान्दै छ भने दुई सय २५ केन्द्रीय सदस्यको चयन हुँदैछ। यी सम्पूर्ण पदमा ओलीकै चाहनाबमोजिम व्यक्ति आउने ती युवा नेताले संकेत गरेका छन्। त्यसमा अध्यक्ष ओलीइतरका केही व्यक्ति परे पनि ओलीको चाहनाविपरीत हुने सम्भावना भने निकै न्यून छ।

विधानमा पार्टी पदाधिकारी संख्या १५ हुने उल्लेख भए पनि पदाधिकारीको आकांक्षी बढ्दा महाधिवेशनमा विधान संशोधन गर्दै पदाधिकारीको संख्या थपिन सक्ने पनि चर्चा भएको छ।

पार्टी पदाधिकारीमा १ अध्यक्ष र १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिव हुनेछन्। पार्टीको केन्द्रीय कार्यालयमा नेता कार्यकताबीच भएको छलफलमा अध्यक्ष बाहेक वरिष्ठ उपाध्यक्षको पदमा को हुने भन्ने निश्चित भइसकेको छ।

हाल केन्द्रीय सदस्य रहेका एक नेता भन्छन्, “अध्यक्षमा ओली, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल लगभग निश्चितजस्तै छ, अन्य पदाधिकारीको पदमा को चयन हुने निश्चित नभए पनि ओलीको इच्छाबेगरका मान्छे त्यहाँ आउने सम्भावना कम छ।”

केन्द्रीय सदस्यको पदमा भने निर्वाचन हुन सक्ने ती नेता आकलन गर्छन्।

महासचिव पदमा अन्य नेताले दाबी गरे पनि विष्णु पौडेल र शंकर पोखरेलबीच तीव्र प्रतिस्पर्धा हुने पार्टी कार्यालयमा भेटिएका नेता कार्यकर्ता चर्चा गर्दैछन्। अन्य नेता पनि महासचिव पदको आकांक्षी भए पनि दाबी नपुग्ने उनीहरूको विश्वास छ। पौडेल र पोखरेल ओलीनिकट रहेकै कारण महासचिव पदका प्रबल दाबेदार हुन्।

एमाले सग्लो हुँदा ओली पक्षमा सैद्धान्तिक नेताको छवि बनाएका नेता पोखरेललाई पार्टीको आन्तरिक जीवनमा अझै भूमिका खेल्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन रहने धेरैको विश्वास छ। पोखरेल मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’को कट्टर समर्थक हुन्। राष्टपति भण्डारी र ओली दुवैको निकट रहेका कारण पनि पोखरेलले महासचिव पदमा बाजी मार्ने धेरैको अनुमान छ।

यता ३ जेठ २०७५ मा नेकपा (माओवादी केन्द्र)सँग भएको पार्टी एकीकरणमा महासचिव पद पाएका पौडेलले एमाले महासचिव पद हत्याउने सम्भावनालाई पनि उनीहरू नकार्दैनन्। पौडेल महासचिव हुने आधारमा उनीहरू आफ्नो नेतृत्वको दुवै मन्त्रिपरिषद्‍‌मा ओलीले पौडेललाई महत्त्वपूर्ण मन्त्रालय दिएको उदाहरण पेश गर्छन्। पौडेल ओली नेतृत्वको दुवै मन्त्रिपरिषद्‍‌मा अर्थमन्त्रीको जिम्मेवारी पाएका नेता हुन्।

त्यसो त अर्का नेता सुरेन्द्र पाण्डे पनि महासचिव पदको दाबेदार हुन्। तर उनी हालै मात्रै ओली क्याम्पमा आएका छन्। त्यसैले उनलाई ओलीले सहजै पार्टीको मुख्य पद नसुम्पिने पार्टीका एक केन्द्रीय नेताले बताए।

अध्यक्ष र वरिष्ठ उपाध्यक्षपछि पार्टीको अर्को पद उपाध्यक्षमा महिला कोटाबाट अष्टलक्ष्मी शाक्यको सम्भावनाको चर्चा छ। यसअघि ओलीको विरोधी खेमामा रहे पनि केही समयअघि ओलीले बागमती प्रदेशको मुख्यमन्त्री बनाएपछि उनी केही शान्त छिन्। भने, पार्टीको पदाधिकारी पदमा एक महिला आवश्यक हुने कारण पनि सो पदको पूर्ति शाक्यमार्फत हुन सक्ने बताइन्छ।

उक्त पदमा नेतृ विन्दा पाण्डे, सीता पौडेल, थममाया थापा लगायतको नाम पनि चर्चामा छ। यद्यपि, यी सबै पदमा को चुनिनेछन् भन्ने ओलीकै चाहनामा निर्भर रहने एमालेसम्बद्धहरू बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved