बेलायतले फ्याँक्यो ६ लाखभन्दा बढी एस्ट्राजेनेका खोप

नेपालभ्युज

बेलायतले फ्याँक्यो ६ लाखभन्दा बढी एस्ट्राजेनेका खोप

बेलायतले मिति गुज्रेको भन्दै कोभिडविरुद्ध एस्ट्राजेनेकाको ६ लाख बढी डोज खोप फ्याँकेको खुलासा भएको छ। गत अगष्टमा मिति सकिने खोपलाई बेलायतले सोही महिना नष्ट गरेको तथ्यांक बेलायती अनलाइन पत्रिका दी इन्डिपेन्डेन्टले जनाएको छ।

कम उमेर समूहमा एस्ट्राजेनेका खोपले समस्या देखिएपछि गत मेमा बेलायती सरकारले युवाहरूलाई यो खोप नदिने निर्णय गरेको थियो। जसकारण ६ लाख ४४ सय डोज बढी भएको थियो।

इन्डिपेन्डेन्टले यो घटनालाई ठूलो काण्डको रूपमा प्रस्तुत गरेको छ। बेलायती सरकारले खोपसम्म पहुँच नभएका गरिब राष्ट्रहरूलाई सहयोगस्वरुप उपलब्ध नगराएर जानी–जानी यत्रो परिमाणको खोपको मिति गुज्रिन दिएको आरोप उसले लगाएको छ।

गत जुनमा भएको जी सेभेन शिखर सम्मेलनमा बेलायती सरकारले गरिब मुलुकलाई सन् २०२२ को मध्यसम्ममा १० करोड डोज खोप दिने घोषणा गरेको थियो। जसमध्ये हालसम्म दुई करोड डोज मात्र दिएको छ।

बेलायती सामाजिक संस्था अक्सफामले गरिब मुलुकमा खोप नपाएर अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीसमेत कोभिडका कारण जोखिममा रहेको अवस्थामा यसरी खोपलाई नष्ट गर्नु अपमानजनक काम भएको जनाएको छ।

विश्वका कम आय भएका राष्ट्रहरूमा करिब दुई प्रतिशत जनताले मात्र पूरा मात्रामा कोभिडको खोप पाएका छन् भने करिब ९६ प्रतिशतले पहिलो डोज पनि नपाएको हालको तथ्यांक छ।

यो वर्षको अन्त्यसम्ममा जी सेभेन राष्ट्रहरूमा मात्रै कम्तीमा १० करोड डोज खोप मिति सकिएका कारण खेर जाने अनुमान अक्सफामको छ। सन् २०२२ को मध्यसम्म यो तथ्यांक बढेर ८० करोड डोज खोप खेर जान सक्ने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved