काठमाडौं उपत्यकाका विद्यालय

सञ्चालनमा त आए तर स्वास्थ्य मापदण्ड पालनामा चुके

भौतिक रूपमा पठनपाठन शुरु गरेका यी विद्यालयको अवस्था हेर्दा सरकारले विद्यालय सञ्चालन गर्न तोकेको स्वास्थ्य मापदण्ड विद्यालयहरूले आंशिक रूपमा मात्र पालना गरेका भेटिए।

सञ्चालनमा त आए तर स्वास्थ्य मापदण्ड पालनामा चुके

काठमाडौं। पिँजडामा थुनिएझैं बन्द कोठाका बालबालिका विद्यालय सञ्चालनमा आएपछि रमाउन थालेका छन्। विद्यालय जान थालेपछि उनीहरू कोही रबरको चुंगी खेलिरहेका थिए त कोही चिप्लेटीमा रमाइरहेका। कोही भने झोला बिसाएर घाम ताप्दै पढिरहेका थिए। अनि कोही आपसमा गफिँदै पनि थिए।

विद्यार्थी आउने क्रम जारी थियो। तर विद्यालय प्रवेश गर्दा अधिकांश विद्यालयले न उनीहरूको ज्वरो नाप्यो न साबुनपानीले हात धुन लगायो। मास्क भने उनीहरू सबैले लगाएका थिए।

विद्यालयमा विद्यार्थी बाक्लिँदै छन्। उनीहरूमा कोरोनाको त्रास थिएन। सावधानीको नाममा मात्र उनीहरूको अनुहारमा मास्क थियो। प्रदशर्नीमार्गस्थित पद्मोदय माध्यमिक विद्यालयको २९ कात्तिकको अवस्था हो यो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक ‘कोरोना महामारी घटेको हो/हटेको छैन’ यही सूचना दिइरहेको छ।

कोरोना संक्रमण घट्न थालेपछि र वैकल्पिक माध्यमबाट सिकाइ प्रभावकारी नभएकाले काठमाडौं उपत्यकाका स्थानीय तहले मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने अनुमति दिएको थियो।

१० असोजमा काठमाडौंका विद्यालयमा भौतिक दूरी कायम गरी मास्क अनिवार्य गरेर, हात धुन लगाएर, ज्वरो नापेर भौतिक रूपमा कक्षा सञ्चालन गर्न भनेको थियो।

जहाँ विद्यालयले सामूहिक क्रियाकलाप नगर्न पनि भनेको थियो भने खाजा घरबाटै लैजान पनि मापदण्डमा तोकेको थियो। यसरी तिहारअघि काठमाडौंका ७० प्रतिशत विद्यालय सञ्चालनमा आएका थिए।

तर तिहारपछि उपत्यकाका सञ्चानलमा आएका अधिकांश विद्यालयले यस्ता कुनै मापदण्ड पालना नगरेको पाइयो। विद्यालय परिसरमा हात धुने पानीको व्यवस्था भए पनि विद्यार्थीको ध्यान त्यसमा थिएन। जसले गर्दा पनि कोरोनाको त्रास बढाएको देखिन्थ्यो।

एक हजार विद्याथीलाई दुई सिफ्टमा पढाइरहेको पद्मोदय माविका सहप्रध्यानाध्यापक निर्मल खतिवडाले भने, “विद्यालयमा भवनको कुनै समस्या छैन, एउटा बेन्चमा सकेसम्म दुई जना राख्ने नअटे तीन जनासम्म राखेका छौं।

डिल्लीबजारको विजय स्मारक माविको हालत पनि यो भन्दा फरक थिएन। विद्यालय प्रवेश गर्दा ज्वरो नापिएको थिएन। हात धुने धारामा चुरोटको खाली बट्टा थियो। एउटा बेन्चमा तीन जनासम्म राखिएका थिए।

विद्यालयमा २१ ओटा कक्षामा पाँच सय जना विद्यार्थी पढाइएको सहप्रधानाध्यापक डिल्लीप्रसाद शर्माले भने, “विद्यार्थी थपिने क्रम जारी छ, अहिले पनि भर्ना गर्न आइरहेका छन्।”

डिल्लीबजारकै पद्मकन्या विद्याश्रम माविमा पनि एउटा बेन्चमा तीना जना राखिएको थियो। विद्यार्थीलाई समय समयमा स्यानिटाइजर लगाउन र साबुनपानीले हात धुन भने लगाइएको प्रध्यानाध्यापक रीता तिवारीले बताइन्। “अहिले विद्यालयको भवनमा रिट्रोफिटिङ भइरहेको छ, भवन बनेपछि अझै व्यवस्थित हुन्छ,” उनले खुलाइन्।

ललितपुरको पाटन माविमा भने कुनै बेन्चमा एक जना कुनै बेन्चमा दुई जना विद्यार्थी राखिएको थियो। विद्यार्थीले कक्षामा बस्दा अनिर्वाय मास्क लगाएका थिए। तीन सय विद्यार्थीका लागि २८ ओटा कक्षाकोठा भएकाले भौतिक दूरी पालना गर्न सकिएको प्रध्यानाध्यापक ईश्वरमान ब्रजाचार्यले बताए।

मेधा मावि भक्तपुरको गेटमै स्यानिटाइजरको व्यवस्था गरिएको थियो। छेउमै हात धुने पानीको व्यवस्था थियो। बेन्चमा तीन जनासम्म राखिए पनि विद्याथीलाई कोरोनाबारे सजक गराइएको प्रध्यानाध्यापक गंगाधर हाडाले बताए।

यी हुन् काठमाडौं उपत्यकाभित्र लामो समयपछि खुलेका विद्यालयको अवस्था। भौतिक रूपमा पठनपाठन शुरु गरेका यी विद्यालयको अवस्था हेर्दा सरकारले विद्यालय सञ्चालन गर्न तोकेको स्वास्थ्य मापदण्ड विद्यालयहरूले आंशिक रूपमा मात्र पालना गरेका भेटिए।

अधिकांश स्कूल खुले, तर लागू भएन तोकिएको मापदण्ड

काठमाडौं महानगरपालिकाभित्र अधिकांश विद्यालय सञ्चालनमा आएका महानगर शिक्षा शाखाका प्रमुख राम प्रसाद सुवेदी बताउँछन्। “विद्यालयमा विद्यार्थीले मास्क, स्नानिटाइजरको अनिवार्य प्रयोग गरेका छन्,” उनले दाबी गरे।

ललितपुर महानगरपालिकाका भने केही आधारभूत विद्यालय सञ्चालनमा आएका छैनन्। महानगर शिक्षा शाखा अधिकृत महेन्द्र केसीका अनुसार साना बालबालिकालाई अभिभावकले नै विद्यालय पठाउँदैनन्, त्यसैले विद्यालय सञ्चालन हुन नसकेको हो।

केसी भन्छन्,”माध्यमिक तहका सबै विद्यालय भने सञ्चालनमा आएका छन्, विद्यालयमा मास्क र स्यानिटाइजर प्रयोग अनिवार्य गरे पनि बेन्चमा भौतिक दूरी पालना गर्न कठिन भएको छ।”

भक्तपुर नगरपालिकाकाले आफ्ना क्षेत्रभित्रका शतप्रतिशत विद्यालय सञ्चालनमा आएको दाबी गरेको छ। नगरपालिकाका सूचना अधिकारी भूपाल मुल भन्छन्, “विद्यालयमा भौतिक दूरी तथा जनस्वास्थ्य मापदण्ड पालना गरेका छन्।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved